ग्लोबल आइएमई बैंकको ह्याकथन कार्यक्रम सम्पन्न, प्रतियोगितामा २१ टोली सहभागी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको कृत्रिम बौद्धिकता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकथन’ कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापकहरु सहित विभिन्न संस्थाको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

बैंकले प्रविधिमा रुति राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो । 

यस प्रतियोगितामा २१ टोलीलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनौट गरिएको थियो । प्रतियोगी टोलीहरू महेन्द्रनगर, पोखरा, वीरगञ्ज, काभ्रे, धरानबाट सहभागी भएका थिए ।  

सहभागी टोलीमध्ये टिम क्याल्कुलुसले उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप १ लाख जित्न सफल भएको छ । साथै, डब्लुडिके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरुले क्रमश : दोस्रो, तेस्रो, चौथो र पाँचौं पुरस्कारबाट पुरस्कृत भएका छन् । 

दोस्रो हुने टोली डब्लुडिकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौं हुने क्रमशः टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन् । साथै वेष्ट प्रिजेन्टेसन बिधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ । 

प्रतियोगिताका विजेता टोलीलाई उक्त कार्यक्रमका प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरे ।

नेपालमा पहिलो पटक एआई र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकथन सञ्चालन गरेकोमा डेपुटी गभर्नर बमबहादुर मिश्रले आयोजक ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए । 

कार्यक्रममा बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतीहरूको समाधानको लागि सहयोग पुग्नुका साथै नवीनतम सेवाहरूको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जानकारी दिए ।

यस प्रतियोगिताको उत्कृष्ट टोलीहरुलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्ने समेत जानकारी प्रदान गरे ।

प्रतियोगिता दुई चरणमा सञ्चालन भएको थियो । जसअन्तर्गत पहिलो चरणमा कोडिङ्ग र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो । 
 

Share News