राष्ट्र बैंकले गर्यो पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन् । कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन् । सो अवसरमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्याउने बताएको उनको सचिवालयले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको स्टार्टअप र नयाँ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्टार्टअप र नयाँ उद्यमी केन्द्रित विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्देश्य उद्यमीहरूलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवाको पहुँच, व्यावसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायतका विषयवस्तुमा साक्षर गराउनु थियो । यस कार्यक्रममा २६ जना स्टार्टअप तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो । यस कार्यक्रममार्फत उद्यमीहरूलाई वित्तीय ज्ञानको प्रयोग गरेर व्यापार, व्यवसायलाई अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ । नेपाली युवाहरुलाई सशक्त बनाई बैंकले सामाजिक उत्तरदायित्व आत्मसाथ गरेको बैंकको धारणा रहेको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
गभर्नर कांग्रेसकै भागमा परेको देउवाको खुलासा, प्रक्रिया लम्बिनुको कारण खुलाए
काठमाडौं । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरको भागबण्डा मिलिसकेको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गभर्नरको भागबण्डा मिलाइसकेकाे बताउँदै उनले गभर्नर कांग्रेसको भागमा परेको खुलाएका हुन् । ‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति ढिलाइको कारण ओलीजी र म होइन, ओलीजीले कांग्रेसलाई दिने भनिसक्नु भएको छ,’ उनले भने । यस्तै, सभापति देउवाले राष्ट्र बैंककै आन्तरिक कारणले गभर्नर नियुक्ति प्रक्रिया ढिलाइ भएको धारणा राखे । उनले कार्यवाहक गभर्नर नीलम ढुङ्गानाले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्दा समस्या भएको संकेत गरेका हुन् । यस्तै, उनले अहिले गठबन्धनमा कुनै समस्या नरहेको पनि बताएका छन् ।