काठमाडौं । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
भदौ १० गते बिहान रसुवा जिल्लाबाट बग्ने भोटेकोशी नदीमा गेग्रानसहित आएको आकस्मिक बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती तथा अन्य प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो ।
बैंकले उक्त अप्रत्याशित विपद्मा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, उद्धार, राहत र पुनर्स्थापनाको कार्यमा जुट्न सम्बन्धित सबै निकाय र नागरिकलाई आग्रह गरेको छ ।
हिमालयन बैंकले विपद्को यस कठिन समयमा प्रभावित समुदायको साथमा रहँदै सक्दो सहयोग गर्न सदैव प्रतिबद्ध रहने जनाएको छ ।