काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ र कर्मचारीका तर्फबाट २० लाख रुपैयाँ गरी कुल ७० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण सयौं नागरिकको ज्यान गएको छ । धेरै परिवार विस्थापित भएका छन् । अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।
बाढीबाट ज्यान गुमाएकाहरूप्रति बैंकले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
बाढी प्रभावित नागरिकको खोज, उद्धार, राहत, दीर्घकालीन पुनर्स्थापना तथा भौतिक पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ७० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पनि विभिन्न विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ ।
बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा दिइरहेको जनाएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता पनि बैंकले जनाएको छ ।