काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । मौद्रिक व्यवस्थापन विभागले सोमबार ८६ दिन अवधिको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो ।
राष्ट्र बैंकका अनुसार बोलकबोल भदौ १५ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत मात्र हुनेछ। सोही दिन निक्षेप संकलन उपकरण निष्कासन गरिनेछ भने यसको अवधि ८६ दिन रहनेछ । संकलित रकमको साँवा र ब्याज मंसिर ९ गते भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ ।
बोलकबोलबाट नै ब्याजदर निर्धारण हुनेछ । सहभागी संस्थाले आफूले निक्षेप गर्न चाहेको रकम र ब्याजदर उल्लेख गरी बोलपत्र पेश गर्नुपर्नेछ । एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोलपत्र पनि पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।
यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोडकै गुणकमा अधिकतम आह्वान गरिएको रकमसम्म बोल गर्न सकिने व्यवस्था छ ।
राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरबाट सुरु गर्दै आह्वान गरिएको रकमसम्म क्रमशः बोलपत्र बाँडफाँड गर्ने जनाएको छ। समान ब्याजदरमा माग बढी भएमा प्रो–राटा आधारमा रकम बाँडफाँड गरिनेछ ।
केन्द्रीय बैंकले आवश्यकताअनुसार सम्पूर्ण वा आंशिक बोलपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार मौद्रिक व्यवस्थापन विभाग तथा खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ ।