बाढीपीडितका लागि कृषि विकास बैंकको १० लाख बराबरको खाद्य सामग्री सहयोग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ ।

बैंकले करिब २०० बाढीपीडित परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, चिउरा, बिस्कुट, चाउचाउ, दालमोठ, मस्यौरा, चना, भुजा, पिउने पानीलगायत अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको जनाएको छ ।

सरकारको आधिकारिक राहत सङ्कलन केन्द्रमा आयोजित कार्यक्रममा बैंकका मार्केटिङ एन्ड सेल्स विभाग प्रमुख बीना शर्माले राहत सामग्री हस्तान्तरण गरिन् । कार्यक्रममा बैंकका वरिष्ठ शाखा प्रमुख महेश्वर मरहठ्ठा, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना र कार्यालय सहायक बबिता अर्याललगायतको उपस्थिति थियो ।

कृषि विकास बैंकले देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएको र हजारौं नागरिक प्रभावित भएको अवस्थामा राहत र उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ ।

बैंकले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गरिसकेको उल्लेख गर्दै विपद्पीडित नागरिकको राहत र पुनर्स्थापनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यसैबीच, बैंकले देश तथा विदेशमा रहेका संघसंस्था र व्यक्तिलाई पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितलाई सहयोग गर्न अपिल गरेको छ । साथै, राहत कोषमा सहयोग गर्न बैंक खाता र क्यूआर कोडसमेत सार्वजनिक गरिएको जनाएको छ ।

Share News