विद्यालयको सिकाइ वातावरण सुधार गर्न महालक्ष्मी विकास बैंक र रोटरीबीच साझेदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

असोज ९ गते भएको सम्झौताअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा सञ्चालन हुने विभिन्न शैक्षिक र पूर्वाधार विकास परियोजनामा आर्थिक सहयोग गर्नेछ ।

बैंकका अनुसार रोटरी क्लबमार्फत विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन, कम्प्युटर ल्याब स्थापना तथा विद्यालयको शैक्षिक वातावरण सुधारका परियोजनामा सहकार्य गरिनेछ ।

महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, वातावरण र सामाजिक विकासका क्षेत्रमा नियमित रूपमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यो सहकार्यले सामुदायिक तथा सार्वजनिक विद्यालयका विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता र डिजिटल पहुँच सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पनि आर्थिक सहयोग गरेको जनाएको छ ।

Share News