खाता अन्य बैंकमा, भुक्तानी सिटिजन्स बैंकमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालमै पहिलो पटक ‘क्रस बैंक टेलर क्युआर’ प्रणालीको सुरुवात गरेको छ । यस सेवामार्फत अन्य बैंकका ग्राहकहरूले पनि नजिकैको सिटिजन्स बैंक शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाइल बैंकिङ प्रयोग गरेर क्रस बैंक टेलर क्युआर स्क्यान गरी तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार यो प्रविधिले भुक्तानी प्रक्रिया अझ छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने लक्ष्य लिएको छ । नयाँ प्रणालीले डिजिटल भुक्तानीको दायरा विस्तार गर्दै ग्राहकलाई बैंकिङ सेवामा सहज पहुँच र समयको बचत गराउने विश्वास सिटिजन्स बैंकले व्यक्त गरेको छ ।  

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद लाभांश घोषणा गरेको छ । बैंककाे सञ्चालक समिति असोज २५ गते बसेकाे बैठकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।    बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ५.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  बैंकले आर्थिक वर्ष २०७९/८० मा ९ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १३.५ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा २३ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा २५ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत र आर्थिक वर्ष २०६८/६९ मा १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

एटीएमबाट पैसा निकाल्न कडाइ, १ लाख रुपैयाँसम्म घटाइयो सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम कार्ड (डेबिट कार्ड) बाट हुने कारोबारको सीमा १ लाख रुपैयाँसम्म घटाएको छ । भुक्तानी सम्बन्धी कार्य गर्ने बैंक तथा वित्तीय संस्थालाई प्रतिमहिना ३ लाख रुपैयाँसम्म मात्रै रकम झिक्न मिल्ने व्यवस्था गरेको हो ।  यसअघि एटीएमबाट प्रतिमहिना ४ लाख रुपैयाँसम्म रकम झिक्न मिल्ने व्यवस्था थियो । तर, पछिल्लो समय डिजिटल कारोबार बढ्दै गएपछि सीमा घटाएको हो ।  यस्तै, डेबिट कार्डबाट हुने कारोबारको सीमा प्रतिदिन ५० हजार रुपैयाँमा झारेको छ । यसअघि डेबिट कार्डबाट प्रतिदिन १ लाख रुपैयाँसम्म झिक्न पाइने थियो । तर, भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै ५० हजार रुपैयाँले कटौती गरेको हो । यस्तै, प्रतिकारोबार २० हजार रुपैयाँ कारोबार गर्न मिल्ने व्यवस्था गरेको छ । यसअघि प्रतिकारोबार २५ हजार रुपैयाँसम्म कारोबार गर्न मिल्ने व्यवस्था थियो । डिजिटल कारोबार बढाउनका लागि डेबिट कार्डबाट हुने कारोबारको सीमा घटाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता किरण पण्डित बताउँछन् ।  ‘डिजिटललाई प्रमोट गर्नका लागि सीमा घटाइएको हो । नगदलाई कम गरौं भन्ने हो । एटीएमको कारोबार पनि घटिरहेको छ । त्यसको नगद व्यवस्थापनको लागत पनि घटाउँदै जानुपर्ने हुन्छ । एटीएमले भुक्तानी गर्दैन, नगद प्रवाह गर्ने हो,’ उनले भने ।  राष्ट्र बैंकको उक्त व्यवस्थाले डिजिटल कारोबारलाई प्रोत्साहित गरेर नगद कारोबारलाई निरुत्साहित गर्न खोजिएको एक बैंकरले बताए । उनका अनुसार पछिल्लो समय क्यूआर कारोबार निरन्तर बढिरहेको सन्दर्भमा नगद कारोबार घटाउन खोजिएको हो । ‘पछिल्लो समय नगदको आवश्यकता कम रहेको महशुस भइरहेको छ । सानो सानो भुक्तानी पनि क्यूआर मार्फत भइरहेको देखिन्छ । यसले नगद कारोबार घटेको भन्ने बुझिन्छ । यो शीलशीलामा एटीएमबाट नगद झिक्ने सीमा घटाएको हो,’ ती बैंकरले भने ।  उनका अनुसार राष्ट्र बैंकले एटीएमबाट झिक्ने नगदको सुविधा घटाउँदा बैंकको लागत पनि घट्ने भएकाले फाइदा हुनेछ ।  ‘एटीएममा नगद व्यवस्थापन गर्नुपर्ने हुन्छ । एटीएममा जुन पायो त्यही नोट हाल्न मिल्दैन, राम्रो नोट हाल्नुपर्ने हुन्छ । त्यो नोटलाई सर्टिङ गर्नु पर्ने मान्छे राख्नु पर्ने हुन्छ । एउटा सर्टिङ गर्नुपर्ने मान्छेले टन्न पैसा लिएको हुन्छ । अब एटीएममा नोट व्यवस्थापन गर्ने मान्छेको खर्च घट्छ,’ ती बैंकरले भने, ‘कहिलेकाहीँ विदाको दिन एटीएममा पैसा राख्नुपर्ने हुन्छ । त्यो दिनको भत्ता दिनुपर्ने हुन्छ । एउटा एटीएममा पैसा राख्न ४ जना मान्छे चाहिन्छ । ४ जना मान्छेलाई भत्ता दिनुपर्ने हुन्छ । गाडीको ड्राइभर, सेक्युरिटिको पनि भत्ता दिनुपर्ने हुन्छ । अब ठूलो लागत घट्छ ।’  डिजिटल कारोबार बढेको हुँदा ग्राहकहरुलाई त्यति असहज नहुने उनको भनाइ छ ।  नेपाल राष्ट्र बैंकको २०८२ साउनसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाका ५ हजार २६४ वटा एटीएम मेसिन सञ्चालनमा रहेका छन् । साथै, बैंकहरुले साउनसम्म १ करोड ३६ लाख ६१ हजार ८२१ वटा एटीएम (डेबिट कार्ड) जारी गरेका छन् ।  राष्ट्र बैंकका अनुसार २०८२ साउनमा एटीएम कार्डबाट ८५ अर्ब ८३ करोड ४० लाख रुपैयाँ मात्रै कारोबार भएको देखिन्छ । २०८१ साउनमा ९१ अर्ब ९३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।