गरिमा विकास बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, चुक्ता पुँजी ६ अर्ब रुपैयाँ पुग्ने
काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १९औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव अनिल रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार साधारण सभाले पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।
गभर्नरलाई कसैले पनि घर भाडामा दिन मानेनन्
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलका लागि घर भाडामा दिन कोही पनि घरबेटीहरू इच्छुक नभएकाे बुझिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनकर्ताहरूले गभर्नर पौडलको निजी घरमा आगजनी गरेपछि राष्ट्र बैंकले उनका लागि घर भाडामा खोजिरहेको थियो । तर, ललितपुरका घरबेटीहरू उनलाई भाडामा घर दिन अनिच्छुक देखिएका हुन् । गत असोज १२ गते राष्ट्र बैंकले गभर्नर पौडेलका लागि घर भाडामा दिन इच्छुकलाई आवेदन आह्वान गरेको थियो । घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीलाई राष्ट्र बैंकले आज असोज २७ गतेसम्म प्रस्ताव पेस गर्न भनिएको थियो । तर, यस अवधिमा कुनै पनि घरबेटीले घर भाडामा दिन इच्छा जाहेर नगरेपछि आवेदन दिने समय थपिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएकाे छ । ‘आज आवेदन दिने अन्तिम दिन थियो । तर, आवेदन नपरेपछि समय लम्ब्यायौं । एक/दुई जना बुझ्न आउनु भएको थियो । तर, आवेदन दिनु भएन । त्यसैले कात्तिक १६ गतेसम्म समय थप गरिएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘आजसम्म बुझ्न मात्रै आउनु भयाे । तर, आवेदन भने दिनु भएन ।’ राष्ट्र बैंकले भने दशैं-तिहार तथा छठ पर्वको बिदालाई मध्यनजर गरी घर भाडाका लागि आवेदन दिने म्याद थप गरिएको जानकारी दिएकाे छ । ‘चाडवाडको समयमा मान्छेहरू कोही विदेश, कोही कतै घुम्न जानु हुँदो रहेछ । कति मान्छेहरू विदेशमा भएका कारण पनि समय लागेको हुन सक्छ,’ स्रोतले भन्यो, ‘कतिपयले विदेशबाट पनि सम्पर्क गर्नु भएको छ । विविध कारणले आवेदन परेन ।’ साथै गभर्नर सार्वजनिक तथा प्रतिष्ठित व्यक्ति भएकाले पनि घर दिन अनिच्छा गरेको हुन सक्ने राष्ट्र बैंकका ती उच्च अधिकारी बताउँछन् । ‘एक/दुई जनाले चासो भने लिनु भयो । फाँटमा आएर फर्म लिनु भयो । तर, आवेदन भने बुझाउनु भएन,’ ती अधिकारीले भने । राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाँचौ शंसोधन समेत) को विनियम ९० को उपनियम (१) को व्यवस्था बमोजिम घर भाडामा लिन लागिएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर पौडेलले घर सुविधा लिने सोच बनाएका थिएनन् । तर, जेनजी आन्दोलनका कारण आगजनी भएपछि आवासको व्यवस्थापन गर्ने निर्णय भएको हो । राष्ट्र बैंकका अनुसार ललितपुर महानगरपालिकाको मखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको, कम्तीमा ६ वटा कार तथा जीप पार्किङ गर्न मिल्ने, आरसिसि स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको घर भाडामा लिन लागिएको हो । घरमा कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ्ग हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको, सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको हुनुपर्नेछ । साथै २.५ तलादेखि ३ तलासम्मको घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीले असोज २७ गतेभित्र प्रस्ताव पेस गर्न राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई मर्क्योर होटलमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौं, सुकेधारामा रहेको मर्क्योर होटलमा छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरूले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले यस होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।