चाडपर्वमा घर र गाडी किन्नेलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दशैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै घर तथा सवारी कर्जामा विशेष अफर सार्वजनिक गरेको छ ।

बैंकले चाडपर्व अफरअन्तर्गत ५.५१ प्रतिशत ब्याजदरमा घर कर्जा र ४.९० प्रतिशत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको हो ।

अफरअन्तर्गत घरजग्गा खरिद, घर निर्माण तथा घडेरी खरिदका लागि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ । यस्तो कर्जाको अवधि अधिकतम २० वर्षसम्म रहने बैंकले जनाएको छ ।

त्यस्तै, विद्युतीय तथा अन्य सबै प्रकारका सवारी साधन खरिदका लागि अधिकतम १ करोड रुपैयाँसम्म सवारी कर्जा उपलब्ध हुनेछ । उक्त कर्जाको अवधि अधिकतम ७ वर्षसम्म रहनेछ ।

चाडपर्व अफरअन्तर्गत प्रवाह हुने कर्जामा बैंकले सेवा शुल्कमा समेत छुटको व्यवस्था गरेको जनाएको छ ।

चाडपर्वका समयमा घर खरिद तथा निर्माण र सवारी साधन खरिद गर्नेको संख्या बढ्ने भएकाले सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले विशेष कर्जा योजना ल्याइएको बैंकले जनाएको छ ।

यो अफर २०८३ साल कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ वटै जिल्लामा सेवा विस्तार गरेको छ । बैंकका ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत ४९ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जालगायत एटीएम, मोबाइल बैंकिङ तथा अन्य डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

Share News