शोधनान्तर स्थिति डेढ १ खर्ब रुपैयाँले बचतमा, चालु खाताको अवस्था के छ ?
काठमाडौं । चालु खाता १ खर्ब ३० अर्ब रुपैयाँ र शोधनान्तर स्थिति डेढ १ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को भदौसम्ममा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको भदौमा चालु खाता ५४ अर्ब ४१ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब २० करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १ अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) २ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।
पौने २९ खर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति, बैंकसँग कति छ ?
काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति पौने २९ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनाको तथ्याङ्क अनुसार गत असारको तुलनामा ७.६ प्रतिशत बढेर भदौमा २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चित रहेको छ । जबकी गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारमा १९ अर्ब ५० करोड रहेकोमा भदौमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २५ खर्ब ८२ अर्ब ३८ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरुसँग २ खर्ब ९८ अर्ब ९७ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । गत असारमा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरूसँग २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति थियो । २ महिनामा राष्ट्र बैंकमा ६.९ प्रतिशत र बैंकमा १३.७ प्रतिशत मुद्रा सञ्चिति बढेको हो । २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को २ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
२ महिनामा भित्रियो साढे ३ खर्ब रुपैयाँ रेमिट्यान्स, भदौमा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ
काठमाडौं । चालु आर्थिक वर्षको २ महिनाको अवधिमा साढे ३ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार भदौमा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार क५८३ रहेको थियो