लाइसेन्स लिएर मात्रै क्यासिनो लगायतका संस्थाले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौं । क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र (लाइसेन्स) लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले क्यासिनो लगायतका संस्थाहरूलाई लाइसेन्स लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न निर्देशन दिएको हो ।  विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम राष्ट्र बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था विद्यमान रहेको छ । सोही व्यवस्था बमोजिम विदेशी विनिमयको लाइसेन्स प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृति अनुसार राष्ट्र बैंकले विभिन्न विनियमावलीहरू समेत जारी गरेको छ । क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद-४ मा व्यवस्था गरिएको छ ।  त्यसैले ऐनको उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायतका संस्थाहरूले लाइसेन्स लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्न तथा गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।  विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ । 

अबदेखि दैनिक २५ केजी सुन आयात गर्न मिल्ने, रेमिट्यान्स २५ लाख रुपैयाँ

काठमाडौं । अबदेखि दैनिक २५ केजी सुन आयात गर्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ केजी कायम गरेको जनाएको हो । यसअघि दैनिक २० केजीसम्म मात्रै सुन आयात गर्न सकिने व्यवस्था थियो ।  साथै राष्ट्र बैंकले दैनिक २५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन सकिने व्यवस्था गरेको छ । नेपालमा दर्ता भएका फर्म तथा कम्पनीले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशबाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाख रुपैयाँसम्म (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने राष्ट्र बैंकले जनाएको छ । यसअघि २० लाख रुपैयाँसम्म मात्रै रेमिट्यान्स ल्याउन मिल्ने व्यवस्था थियो ।  यसरी इजाजतपत्र प्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनु पर्ने छ ।

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैंकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  त्यस्ता अनाधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना बैंकमा प्राप्त भएको उल्लेख गरेको छ ।   बैंकद्वारा बिहीबार प्रेस विज्ञप्तिमा भनिएको छ,  'बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै कुनैपनि प्रयोजनका लागि फोन, इमेल, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटिएम् पिन, मोबाइल बैंकिङ तथा ई– बैंकिङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण मागिएको छैन ।'     बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीद्वारा जारी सो विज्ञप्तिमा अनाधिकृत रुपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न समेत अनुरोध गरिएको छ ।