४८औँ सार्क वित्त गभर्नर समूहको बैठक सम्पन्न, वित्तीय सहकार्य सुदृढीकरणमा जोड
काठमाडौं । सार्क वित्त गभर्नरहरूको समूहको ४८औँ बैठक हालै श्रीलङ्काको कोलम्बोमा सम्पन्न भएको छ । बैठकमा सदस्य मुलुकहरूका केन्द्रीय बैंकका गभर्नरहरू तथा उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सहभागिता रहेको थियो । गभर्नर अधिकारीले सार्क क्षेत्रका मुलुकहरूबीचको आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल निरन्तर प्रतिबद्ध रहेको बताए । बैठकमा क्षेत्रीय वित्तीय स्थिरता, मौद्रिक नीति समन्वय, वित्तीय समावेशन, र सरोकारवाला संस्थाबीचको ज्ञान–अदला–बदली लगायतका विषयमा छलफल भएको थियो । सहभागीहरूले सार्क वित्त समूहमार्फत आर्थिक नीति र वित्तीय प्रणालीमा पारदर्शिता र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए । बैठकको अध्यक्षता श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले गरेका थिए भने, नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरूले नेपालमा भैरहेको डिजिटल वित्तीय प्रणालीको प्रगति, मुद्रास्फीति नियन्त्रणका उपाय, र वित्तीय समावेशीकरणका कार्यक्रमहरूबारे प्रस्तुति दिएका थिए । बैठकमा सहभागी गभर्नरहरूले सार्क वित्त समूहको आगामी कार्यसूची, अनुसन्धान, क्षमता विकास र प्राविधिक सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।
एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरू अब सिद्धार्थनगर, रुपन्देहीस्थित एशियन बुद्ध होटलमा सेवा लिँदा छुट प्राप्त गर्न सक्ने भएका छन् । यस सम्बन्धमा बैंक र होटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार, ग्राहकहरूले होटलमा कुनै पनि सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १५ प्रतिशत छुट पाउनेछन् । ग्राहकहरूले यो छुट सुविधा प्राप्त गर्नका लागि एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । यस सहकार्यले ग्राहकलाई आकर्षक छुट सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य बैंकले लिएको छ । नगदरहित कारोबारको विस्तार र डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन पनि यस कदमले सहयोग गर्ने बैंकको विश्वास छ ।
नैतिकता दिवसमा एसबिआई बैंकका कर्मचारीले कार्यस्थलमा पारदर्शिता कायम राख्ने प्रतिबद्धता
काठमाडौं । 'विश्व नैतिकता दिवस' को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले दैनिक कामकाजमा इमानदारी, पारदर्शिता र नैतिक मापदण्ड पालना गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । बैंकका सम्पूर्ण कर्मचारीहरूले कार्यस्थलमा नैतिक व्यवहार र जवाफदेहितालाई प्रवर्द्धन गर्ने प्रतिज्ञा गरेका छन् । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले काठमाडौंस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कर्मचारीहरूलाई प्रतिज्ञा गराएका थिए । उक्त कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल र अन्य वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो । सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले पनि आ–आफ्ना कार्यालयमा प्रतिज्ञा लिएका थिए ।