डिजिटल प्रडक्टमा सिटिजन्सको 'माइलस्टोन' कदम, एकपछि अर्को स्कीम ल्याउँदै

काठमाडौं । नेपालमा बैंकिङ अभ्यासको थालनी भएको करिब ९ दशक पुग्दैछ । तर, जब निजी क्षेत्रले बैंकिङ क्षेत्रमा प्रवेश पायो, त्यसपछि नेपाली बैंकिङ क्षेत्रमा नयाँ-नयाँ अभ्यास हुन थाले । नेपाली बैंकहरूबीच नयाँ अभ्यासको थालनी गर्ने ट्रेण्ड निरन्तर जारी छ । पछिल्लो समय बैंकमा नगद कारोबार घटिरहेको र डिजिटलमार्फत कारोबार बढिरहेको बैंकरहरू बताउँछन् । हालै बैंकहरूको नियामक नेपाल राष्ट्र बैंकले समेत एटीएम (डेबिट कार्ड) मार्फत हुने कारोबारको सीमा घटाएसँगै डिजिटलमार्फत हुने कारोबार बढिरहेको पुष्टि गर्छ ।  भविष्यमा अधिकांश बैंकिङ कारोबार डिजिटल माध्यमबाट हुने निश्चित प्राय: छ । त्यसैले बैंकहरू पनि आफ्ना हरेक सेवालाई डिजिटल बनाउनमा जोड दिइरहेका हुन् । पछिल्लो समय डिजिटलमार्फत हुने कारोबार बढेसँगै ग्राहकलाई आकर्षित गर्न बैंकहरू नयाँ-नयाँ डिजिटल बैंकिङ प्रडक्ट ल्याइरहेका देखिन्छन् । बैंकहरूबीच विगतमा जस्तै अहिले पनि कसले सबैभन्दा पहिला पृथक र नयाँ डिजिटल बैंकिङ प्रडक्ट ल्याउने भन्ने प्रतिस्पर्धा जारी छ । यहीबीचमा सिटिजन्स बैंकले पछिल्लो समय तीनवटा नयाँ प्रडक्ट लञ्च गरेको छ, जुन नेपाली बैंकिङ क्षेत्रमा पहिलो र पृथक छन् । ग्राहकहरूलाई सकेसम्म धेरैभन्दा धेरै डिजिटल सेवा प्रवाह गर्न प्रतिस्पर्धा चलिरहेका बेला सिटिजन्स बैंकले नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड, फ्रिलान्सर खाता र क्रस बैंक टेलर क्युआरको सुरुवात गरेको हाे ।  बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल पनि बैंकिङ क्षेत्रमा ‘इनोभेटिभ’ तथा ‘क्रेटिभ’ काम गर्न रुचाउने गरेका छन् । सोही बमोजिम ग्राहकहरूलाई नयाँ स्वाद, नयाँ अनुभव दिने गरी सिटिजन्सले बैंकिङ क्षेत्रमै पहिलोपटक नयाँ नयाँ प्रडक्ट लञ्च गरिरहेको छ । डिजिटल बैंकिङमा नयाँ आयाम थपिरहेको सिटिजन्सले यी प्रडक्टमार्फत ग्राहकहरूलाई नवीनतम् सेवाको स्वाद पनि चखाउन सफल भएको छ ।  भर्चुअल क्रेडिट कार्ड नयाँ र पृथक किसिमको अभ्यासको सुरुवात गर्न रुचाउने सिटिजन्स बैंकले नेपाली बैंकिङ क्षेत्रमा पहिलो पटक भर्चुअल क्रेडिट कार्ड ल्यायो । ग्राहकको अपेक्षा र आवश्यकता पूरा गर्ने उद्देश्यले भौतिक रुपमा सञ्चालनमा रहेका कार्डहरूलाई स्वाइप नगरिकनै क्यूआरबाट चलाउन मिल्ने गरी भर्चुअल क्रेडिट कार्डको सुरुवात गर्‍यो । बैंकका क्रेडिट कार्ड इकाई प्रमुख समीर अधिकारीले भने, ‘भर्चुअल क्रेडिट कार्डको प्रयोगपछि क्रेडिट कार्डको अवधारणा नै बदलिएको छ । काठमाडौं लगायत मुख्य सहरमा मात्रै केन्द्रित भौतिक क्रेडिट कार्ड अब हुम्ला, जुम्ला, बैतडी लगायत विकट तथा दुर्गम ठाउँमा पनि ग्राहकहरूले सहज रूपमा भर्चुअल क्रेडिट कार्ड चलाउन थालेको छ ।’ उनका अनुसार बैंकले ग्राहकलाई क्रेडिट कार्ड बिक्री मात्रै नभई दुर्गममा क्रेडिट कार्डको अवधारणा समेत दिइरहेको छ । भर्चुअल क्रेडिट कार्डको माध्यमबाट ग्राहकहरूलाई वित्तीय साक्षरतासँगै वित्तीय आवश्यकता पनि परिपूर्ति गरिरहेको उनले दाबी गरे । अधिकारीले दुर्गम क्षेत्रका ग्राहकहरूले उत्साहित भएर कार्ड चलाइरहेको जानकारी दिए । भर्चुअल क्रेडिट कार्डमा ग्राहकहरूको आकर्षण बढ्दो रहेको उनको दाबी छ । ‘भर्चुअल कार्डले सिटिजन्स बैंकको लागि मात्रै नभई समग्र बैंकिङ क्षेत्रका लागि ‘माइलस्टोन’ हो । र बैंकिङ क्षेत्रमा थप ऊर्जासँगै ग्राहकको दैनिकी सहज बनेको छ,’ उनले भने । भर्चुअल क्रेडिट कार्ड कसरी लिने ? मोबाइल बैंकिङमा भर्चुअल क्रेडिट कार्ड डिस्प्ले गरिएको हुन्छ । बैंकको भर्चुअल क्रेडिट कार्ड ग्राहक बन्न २ दिन मात्रै समय लाग्छ । सुरुमा बैंकमा खाता भएका ग्राहकहरूले ‘रिक्वेस्ट’ पठाउनु पर्छ । यदि खाता छैन भने बैंकमा खाता खोल्नुपर्ने हुन्छ । ग्राहकको डकुमेन्टका आधारमा बैंकले अधिकतम लिमिट (सीमा) तोक्छ । जसका लागि ग्राहकले आम्दानीका स्रोतहरू तलब सर्टिफिकेट, व्यवसायको प्रमाण, भाडा संकलनको प्रमाणपत्र पेस गर्न गर्नुपर्ने हुन्छ । यदि कुनै प्रमाण छैन भने पनि बैंकको मुद्दती निक्षेपमा जम्मा गरिएको रकमका आधारमा बैंकले कर्जाको अधिकतम सीमा निर्धारण गर्नेछ । ‘ग्राहकहरूको तलब, व्यवसाय, घर भाडा, बैंकिङ कारोबार, मुद्दती निक्षेपमा राखिएको रकमका आधारमा क्रेडिट कार्डको अधिकतम लिमिट (सीमा) तोक्छौं । उक्त लिमिट सिधैं ग्राहकको मोबाइल बैंकिङमा जान्छ । त्यसपछि मोबाइल बैंकिङ लग इन गरेपछि लिमिट कति हो ? ड्यू डेट कहिलेसम्म हो ? स्टेटमेन्ट डेट कहिले हो ? कर्जा चुक्ता भुक्तानी १ सय प्रतिशत गर्ने कि १० प्रतिशत मात्रै गर्ने, टर्म्स एण्ड कण्डिसन के-के हुन् ? सेवा शुल्क कति लाग्छ ? सबै सूचना मोबाइल बैंकिङमा नै उपलब्ध हुन्छन्,’ अधिकारीले भने ‘त्यसपछि फोन पेमा आवद्ध मर्चेन्टमा क्यूआर स्क्यान गरेर जुनसुकै ठाउँबाट पनि भर्चुअल क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्न सक्नुहुन्छ ।’ क्रेडिट कार्ड इकाई प्रमुख अधिकारीका अनुसार कुनै सामान किन्दा मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी भुक्तानी गरे जस्तै भर्चुअल क्रेडिट कार्डमा पनि सोही तरिका नै अपनाउने हो । तर, भुक्तानी गर्दा बैंक खाताबाट रकम तिर्ने कि भर्चुअल क्रेडिट कार्डबाट तिर्ने भनेर अप्सन हुन्छ । यस प्रडक्टमा कर्जाको लागि न्यूनतम् २० हजार रुपैयाँदेखि अधिकतम साढे २ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।  ग्राहकले जति रकम कर्जाबापत चलाएको छ सो रकम सतप्रतिशत भुक्तानी गर्ने कि १० प्रतिशत वा चाहेको रकम चुक्ता गर्ने भनेर भुक्तानीको समयमा अप्सन आउँछ । जस्तो १ लाखको सीमामा १० हजार रुपैयाँ कर्जा प्रयोग गरेर १० प्रतिशत मात्रै भुक्तानी गर्दा बाँकी रकममा मासिक २ प्रतिशत ब्याजदर लाग्ने क्रेडिट कार्ड इकाई प्रमुख अधिकारीको भनाइ छ । समयमा कर्जा तिर्‍यो भने ब्याज नलाग्ने उनले बताए । उनका अनुसार भर्चुअल क्रेडिट कार्डको वार्षिक शुल्क ५ सय रुपैयाँ तोकेको छ । ‘एक लाखको लिमिट मासिक हो । उक्त लिमिटभित्र रहेर जति रकम पनि चलाउन मिल्छ । १ लाखको लिमिटमा १० हजार रुपैयाँ चलाएको छ भने १० हजार रुपैयाँमा मात्रै ब्याज तिर्नुपर्ने हुन्छ । बाँकी ९० हजार रुपैयाँको ब्याज तिर्नु पर्दैन । किनभने बाँकी रकम चलाएको हुँदैन,’ उनले भने ।  फ्रिलान्सर खाता विभिन्न तथ्याङ्क अनुसार नेपालमा हजारौं मान्छे फ्रिलान्सर रूपमा काम गरिरहेका छन् । तर, उनीहरूले तलब बचत खाता खोल्न पाउँदैनन् । त्यसैले रेगुलर कर्मचारीले पाउने सरहको सुविधा दिने र आकर्षित गर्ने गरी बैंकले पहिलोपटक ‘फ्रिलान्सर सेभिङ एकाउन्ट’ खाता सञ्चालनमा ल्यायो । आईटी कम्पनी, टिकटक, यूट्यूब लगायत सामाजिक सञ्जाल, पठाओ, इनड्राइभ, टूटल, ट्याक्सीमाण्डु, ई-ड्राइभलगायत राइड कम्पनीमा फ्रिलान्सरको रूपमा काम गरिरहेको जमातलाई समेट्ने गरी फ्रिलान्सर सेभिङ एकाउन्ट सञ्चालनमा ल्याएको डिपोजिट मार्केटिङ हेड पारस विक्रम थापाले बताए । ‘बैंक तथा वित्तीय संस्थाहरूसँग दर्जनौं बचत तथा मुद्दती खाता छन् । जसमध्ये तलब बचत खाता पनि बैंकहरूले सञ्चालन गरिरहेका छन् । तर, टिकटक, यूट्यूब लगायत सामाजिक सञ्जाल, पठाओ, इनड्राइभ, टूटल, ट्याक्सीमाण्डु, ईड्राइभ र विभिन्न आईटी कम्पनीमा फ्रिल्यान्सर भएर काम गरी आम्दानी गर्नेहरूका लागि नेपाली बैंकमा बैंक खाता नै छैनन्,’ अधिकारीले भने, ‘कुनै संस्थासँग आबद्ध छैन तर निरन्तर आम्दानी भइरहेको छ ।स्थायी रूपमा नभई कन्ट्र्याक्टमा काम गरिरहेका छन् । उहाँहरूलाई लक्षित गरी नेपाली रुपैयाँ र डलर दुइटा मुद्रामा खाता खोल्न मिल्ने गरी यो खाता सञ्चालनमा ल्याएको हो । यदि नेपाली रुपैयाँमा आम्दानी गर्छ भने नेपाली र डलरमा आम्दानी गर्छ भने डलरमै खाता खोल्न पाइन्छ ।’ उनका अनुसार फ्रिलान्सर सेभिङ एकाउन्टमा अन्य खाताभन्दा बढी ब्याजदर तोकिएको छ । खाता खोल्दा नेपालीमा रुपैयाँमा आम्दानी आउने हो भने न्यूनतम् रकम ५ सय रुपैयाँ र डलरमा आम्दानी आउने हो भने १० डलर राख्नुपर्ने प्रावधान छ । साथै, उक्त खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ निःशुल्क छ । साथै, २५ हजार रुपैयाँसम्मको मेडिकल इन्स्योरेन्स र ३ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा रहेको उनले थापाले बताए ।  डलर आम्दानी गर्नेहरूका लागि डलर एक्सचेन्ज रेटमा १० पैसा बढी ग्राहकले पाउनेछन् । यात्रा गरिराख्नु पर्ने भएकाले ट्राभल कार्डमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको उनले बताए । फ्रिलान्सरहरूले पनि फोर्स सेभिङ गर्न चाहनु हुन्छ भने रिकरिङ डिपोजिटको सुविधा रहेको उनको भनाइ छ ।  ‘जस्तो ग्राहकको आवश्यकताका आधारमा आफूले चाहेको रकम रिकरिङ डिपोजिटमा राख्न सकिन्छ । त्यसमा मुद्दती निक्षेप सरह ब्याज पाइन्छ,’ उनले भने, ‘ग्राहकले तोकेको समयसम्मका लागि उक्त रकम फिक्स्ड रहन्छ । त्यसैले २ वर्षसम्म कन्ट्र्याक्ट छ भने २ वर्षसम्म फोर्स सेभिङ गर्न सकिन्छ ।’  यो बचत खातामा क्रेडिट कार्ड पनि पाइनेछ । खाता खोल्नका लागि राष्ट्रिय परिचय पत्र र फ्रिलान्सर हो भनेर घोषणापत्र ल्याउनुपर्ने हुन्छ । डलर आम्दानीका लागि राष्ट्र बैंकले स्रोत खोज्ने भएकाले सम्बन्धित कम्पनीसँगको सम्झौता ल्याउनुपर्ने हुन्छ ।  क्रस बैंक टेलर क्युआर  डिजिटल कारोबारमा अभ्यस्त भएसँगै मान्छेहरुले नगद बोक्न छोडिसकेका छन् । तर, कहिलेकाहीँ यस्तो समय आउँछ की नगदको अत्यन्तै खाँचो पर्छ । सिटिजन्स बैंकले त्यसैलाई मध्यनजर गरी नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्युआर प्रणालीको सुरुवात गरेको छ ।  यस सेवामार्फत अन्य बैंकका ग्राहकहरूले पनि नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाइल बैंकिङ प्रयोग गरेर क्रस बैंक टेलर क्युआर स्क्यान गरी तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार यो प्रविधिले भुक्तानी प्रक्रिया अझ छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने लक्ष्य लिएको छ ।  नयाँ प्रणालीले डिजिटल भुक्तानीको दायरा विस्तार गर्दै ग्राहकलाई बैंकिङ सेवामा सहज पहुँच र समयको बचत गराउने विश्वास बैंकले व्यक्त गरेको छ । 

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।  असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि कार्यान्वयन गरिने बैंकले जनाएको छ ।   

कात्तिक ११ गतेदेखि साविक सिभिल बैंकका चेकबाट भुक्तानी नहुने

काठमाडौं । कात्तिक ११ गतेदेखि साविक सिभिल बैंकले जारी गरेका चेकबाट भुक्तानी नहुने भएको छ । हिमालयन बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सफ्टवेयर टी२४ रिलिज आर२३मा स्तरोन्नति हुने भएकाले साविक सिभिल बैंक र सो बैंकसँग मर्ज तथा प्राप्ति गरेका बैंकले जारी गरेको चेकबाट भुक्तानी नहुने जनाएको हो ।  बैंकका अनुसार कोर बैंकिङ सफ्टवेयर कात्तिक ११ गतेदेखि टी२४ रिलिज आर२३मा स्तरोन्नति हुने भएको हुँदा उक्त मिति पश्चात् हिलमायन बैंकले प्राप्ति गरेको साविक सिभिल बैंक लगायत साविक सिभिल बैंकमा मर्ज भएका र प्राप्ति गरेका साविक वित्तीय संस्थाहरूले जारी गरेको कुनै पनि चेकहरूबाट भुक्तानी हुनेछैन,’ हिमालयन बैंकले भनेको छ ।  साविक सिभिल बैंक तथा बैंकले प्राप्ति गरेको र मर्ज भएको वित्तीय संस्थाका ग्राहकहरुले आफ्नो खाता रहेको शाखामा सम्पर्क गरी नयाँ चेक बुक लिन बैंकले आग्रह गरेको छ ।  साथै, कोर बैंकिङ सफ्टवेयर टी२४ रिलिज आर२३मा स्तरोन्नति गर्ने प्रकृयामा बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाहरु कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्म उपलब्ध नहुने बैंकले जनाएको छ । यद्यपि सो अवधिमा एटीएम तथा डेबिट तथा क्रेडिट कार्ड सेवा भने सुचारु रहनेछ ।