नबिल बैंकको १५.८० प्रतिशत लाभांश घोषणा, नगद मात्रै २.९२ अर्ब रुपैयाँ

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित बोनस सेयरको कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार रुपैयाँ र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ । उक्त रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ । त्यसैगरी, बैठकले बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार रुपैयाँ नगद लाभांश (आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँडको मितिबाट समानुपातिक रूपमा २१३ दिन) (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको अग्राधिकार सेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने साधारण सेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ । 

१० प्रतिशत लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो असोज १२ गते साधारण सभा

काठमाडौं । सानिमा बैंकले १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न २२औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले असोज १२ गते बिहान ११ बजे काठमाडौंको आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८२÷८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित १० प्रतिशतका दरले हुने १ अर्ब ५५ करोड ८१ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीहरू सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेडको गत आर्थिक वर्ष २०८२÷८३ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । यस्तै, लेखापरीक्षण समितिको सिफारिसमा चालु आर्थिक वर्ष २०८३÷८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरिनेछ। बैंकका अनुसार बहालवाला लेखापरीक्षक एसएआर एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त हुन योग्य छन् । सञ्चालक समितिको प्रस्तावअनुसार असार मसान्तमा कायम रहेको सञ्चित मुनाफाबाट अविमोच्य असञ्चिति अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) समानुपातिक रूपमा वितरण गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गर्नेछ । सभाले सर्वसाधारण समूह (समूह ‘ख’) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचनसमेत गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय बैंकले गरेको छ । त्यसैले असोज १ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिद्धार्थ बैंकको २५ लाख कित्ताको डिबेन्चर अवधि सकिँदै

काठमाडौं । सिद्धार्थ बैंकले जारी गरेको ‘१०.२५% एसबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र आगामी भदौ २५ गते परिपक्व (म्याच्योर) हुने भएको छ । बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाउँदै उक्त ऋणपत्रको अवधि सकिन लागेको जानकारी दिएको हो । बैंकले २०७६ भदौ २६ गते ७ वर्ष अवधिको यो ऋणपत्र बाँडफाँट गरेको थियो । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर कायम गरिएको थियो । उक्त ऋणपत्र २०७६ कात्तिक ५ गते नेप्सेमा सूचीकृत भएको थियो । अब भदौ २५ गतेपछि ऋणपत्र परिपक्व हुने भएकाले सूचीकरण सम्झौताअनुसार आवश्यक प्रक्रिया अघि बढाइदिन बैंकले नेप्सेलाई अनुरोध गरेको छ ।