बाढीपीडितका लागि राष्ट्रिय कर्मचारी संगठनद्वारा १ लाख ५५ हजार सहयोग

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।

संगठनका अध्यक्ष कृष्ण केसी र सचिव हरि प्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्दै भदौ १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै संगठनले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, सम्पर्कविहीन भएका नागरिकहरू छिट्टै आफन्तको सम्पर्कमा आऊन् भन्ने कामना गरेको छ ।

बाढीका कारण सर्वसाधारण, बैंक तथा वित्तीय संस्था, बीमा क्षेत्रमा कार्यरत कर्मचारी, सुरक्षा निकाय, विद्यार्थी तथा उनीहरूका परिवारसमेत प्रभावित भएको संगठनले जनाएको छ । विभिन्न वित्तीय संस्थाका कार्यालय, जलविद्युत् आयोजना, भौतिक संरचना तथा सम्पत्तिमा समेत क्षति पुगेको भन्दै संगठनले विपद्को यस कठिन घडीमा प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक समन्वय र सहयोगमा ऐक्यबद्धता जनाएको छ ।

बाढी प्रभावित नागरिक तथा जनधनको यथाशीघ्र लगत संकलन गरी तत्काल राहत वितरण गर्न, घाइतेको निःशुल्क उपचार तथा आवास व्यवस्थापन गर्न र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा तदारुकता देखाउन संगठनले सरकारसँग आग्रह गरेको छ । साथै, विपद्पछि उत्पन्न हुन सक्ने महँगी, खाद्य संकट तथा सम्भावित महामारीप्रति सचेत रहन नागरिक तथा तीनै तहका सरकारलाई संगठनले आग्रह गरेको छ ।

Share News