व्यवसाय विस्तार र कर्जाको गुणस्तर सुधारमा सिटिजन्स बैंकको जोड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा व्यवसाय विस्तार र कर्जाको गुणस्तर सुधारलाई केन्द्रमा राख्दै विशेष सेमिनार आयोजना गरेको छ ।

'एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश' शीर्षकमा आयोजित कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा बैंकका अन्य कर्मचारी सहभागी भएका थिए ।

सेमिनारमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा, चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ । केन्द्र र प्रदेशबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि अन्तरक्रिया भएको थियो ।

सिटिजन्स बैंकका कोशी प्रदेशका १० जिल्लामा २८ वटा शाखा सञ्चालनमा छन् । यसअघि बैंकले बागमती प्रदेशमा पनि यस्तै प्रकृतिको रणनीतिक सेमिनार आयोजना गरेको थियो । अब अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने बैंकले जनाएको छ । 

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशत बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । निक्षेप संकलन ९.२२ प्रतिशत बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

बैंकले हालै जेन–जी बचत खाता, फ्रिलान्सर बचत खाता, डिजी बैंक सेवा र मोबाइल बैंकिङमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ ।

हाल सिटिजन्स बैंकका देशभर ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन् । बैंकले २० लाख ६२ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Share News