नबिल बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ ऋणपत्र निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

मंगलबार आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार क्यापिटलले बैंकको ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापनको सम्पूर्ण काम सम्हाल्नेछ ।बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका १० वर्ष अवधि रहने कुल ४० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । 

वार्षिक ५.५ प्रतिशत ब्याजदर रहेको यस ऋणपत्रको कुल ४ अर्ब रुपैयाँमध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट बिक्री गरिनेछ । 

बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री खुला गरिनेछ । 

जसमा ५ प्रतिशत अर्थात् ६५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक नबिलले चार दशकदेखि २६ लाखभन्दा बढी ग्राहकलाई देशभरका २६३ शाखा र ३१५ एटीएममार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

हालैका दिनमा बैंकले समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ बैंकिङ एण्ड बियोन्ड अवधारणालाई समेत अघि बढाएको छ ।

Share News