चैत २५ गते सीईओ सम्मेलन हुने
काठमाडौं । नेपालमा पहिलो पटक सीईओ सम्मेलन हुने भएको । नेपाल व्यवस्थापन संघको आयोजनामा आगामी चैत २५ गते सम्मेलन हुने भएको हो । शनिबार पत्रकार सम्मेलन गरी होटेल याक एन्ड यतीमा पहिलोपटक सीईओ सम्मेलन २०२२ को आयोजना गर्न लागिएको नेपाल व्यवस्थापन संघले जानकारी दिए । संघले बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलन गर्न लागिएको जनाएको छ । उक्त सम्मेलनमा विभिन्न क्षेत्रमा कार्यरत करिब ३०० सीईओको सहभागिता रहने संघले जनाएको छ ।
भारतले सुरु गरेको ‘रुपे’ नेपालमा पनि चल्ने, फाइनान्सियल कनेक्टिभिटीमा नयाँ अध्याय
काठमाडौं । अब नेपालमा पनि ‘रुपे’ डिजिटल कार्डको सञ्चालन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा ‘रुपे’ डिजिटल कार्डको नेपालमा शुभारम्भ भएसँगै अब नेपालमा पनि रुपे डिजिटल कार्डको प्रयोग गर्न पाइनेछ । शनिबार प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा सो कार्डको शुभारम्भ गरेका हुन् । सो कार्ड भारत सरकारले प्रचलनमा ल्याएको हो । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलमा यसको शुभारम्भ गरेका हुन् । अब ‘रुपे’ कार्डबाट नेपालमा पनि भुक्तानीको सुविधा पाइनेछ। संयुक्त प्रेस पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो कार्ड फाइनान्सियल कनेक्टिभिटीमा नयाँ अध्याय भएको बताए । नेपालमा आर्थिक विकासका लागि यो कार्डले महत्वपूर्ण काम गर्ने उनको भनाई छ । भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको पनि बताएका छन् । उनले दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताएका हुन् ।
गरिमा क्यापिटलले बोलायो साधारणसभा : १६ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले साधारणसभा बोलाएको छ । आज बसेको सञ्चालक समितिको ४७औँ बैठकले आगामाी वैशाख ९ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको छ । पार्क भिलेज रिसोर्टमा बस्ने साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने र चुक्ता पुँजीको १५.६५ प्रतिशतले हुन आउने एक करोड ८४ लाख ८३ हजार ८९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै कम्पनीले वैदेशिक साझेदारीका लागि पनि प्रस्ताव गरेको छ । वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धीनिर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।