क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना
काठमाडौं । कामना सेवा विकास बैंकले क्रेडिट कार्ड सेवा सुरुवात गरेको छ । बैंकले आजदेखि क्रेडिट कार्ड सेवा सुरु गरी नेपालकै पहिलो विकास बैंक हुन सफल बैंकले जनाएको छ । बैंकका अध्यक्ष सुदीप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा क्रेडिट कार्ड सेवाको उद्घाटन गरी सेवा सुरु गरेका हुन् । ग्राहकहरूको चाहना र आवश्यकताहरू पूरा गर्ने क्रममा कामना सेवा विकास बैंकले क्रेडिट कार्ड सुरु गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलगायत बैंकका अन्य कर्मचारीहरू तथा संचारकर्मीहरूको उपस्थिति थियो । पोइन्ट अफ सेलमार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम् नेपाली रूपैयाँ १००० अथवा जम्मा डेबिट रकमको १० प्रतिशत सम्म झिक्न सकिने, कार्डबाट बस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम् १५ देखि ४५ दिन सम्म ब्याज नलाग्नेजस्ता विशेषताहरू यस कामना सेवा विकास बैंकको क्रेडिट कार्डमा उपलब्ध छ ।
राष्ट्र बैंकले किन बोलायो २७ बैंकका सीईओलाई ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले समसामयिक विषयमा छलफल गर्नका लागि २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएको छ । दिनप्रतिदिन अर्थतन्त्रका सूचकहरू बिग्रन थालेपछि राष्ट्र बैंकले २७ वटै बैंकका सीईओलाई बोलाएको हो । राष्ट्र बैंकले सीईओलाई गरेको सूचनामा आकस्मिक बैठक भनिएको छ । एक बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार पौने ४ बजेका लागि बैठक बोलाइएको छ । राष्ट्र बैंकले आकस्मिक बैठक भनेपछि सीईओहरु अहिले राष्ट्र बैंक गइरहेका छन् । ‘पौने ४ बजेका लागि बोलाइएको छ, म अहिले बाटोमा नै छु, विषय भने खुलाइएको छैन, समसामयिक विषय भनेको छ,’ एक बैंकका सीईओले विकासन्युजसँग भने ।
लुम्बिनी विकास बैंकको रक्तदान र सीसीटिभी सहयोग कार्यक्रम सम्पन्न
काठमाडौं । लुम्बिनी विकास बैंकले टोखाकाे मिलनटोल क्षेत्रको सुरक्षाको लागि सीसीटिभी सहयोग गरेको छ । बैंकको टोखा शाखा कार्यालयका प्रमुख निरोज खागीले संस्थाका अध्यक्ष टेकबहादुर थापालाई उक्त सामान हस्तान्तरण गरेका हुन् । साथै लुम्बिनी विकास बैंक र लामाटारस्थित सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्थाले ६५औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा सहयोग गरेका छन् । हाल यस बैंकले ७९ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ ।