चितवनमा कामना सेवा विकास बैंकको शाखा विस्तार
चितवन । कामना सेवा विकास बैंकले चितवनमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका-२६ ज्योतिनगरमा १३५औं शाखा कार्यालय स्थापना गरी आजदेखि कारोबार आरम्भ गरेको हो । यो सँगै चितवनमा कामना सेवा विकास बैंकको शाखा संख्या १० पुगेको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरूमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । बैंकले १३४ शाखा, १ वटा विस्तारित काउन्टर, ७ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्यूआर कारोबारमा नबिल, एनआईसी र ग्लोबलबीच प्रतिस्पर्धा, कुन बैंकको हिस्सा कति ?
काठमाडौं । माघ महिनामा २४ वटा वाणिज्य बैंकहरूको क्यूआर कोडमार्फत् करिब पौने ६ अर्ब रुपैयाँ भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २४ वटा वाणिज्य बैंकहरूको क्यूआर कोडमार्फत् माघ महिनामा १२ लाख ४४ हजार ५११ पटक भएको कारोबार भएको छ । सो कारोबारमार्फत् कुल ५ अर्ब ८५ करोड २६ लाख ११ हजार रुपैयाँ भुक्तानी भएको देखिएको हो । २७ वटा वाणिज्य बैंकहरूमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको तथ्यांक राष्ट्र बैंकसमक्ष आएको देखिँदैन । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कारोबार भुक्तानी नबिल बैंकको क्यूआर कोडमार्फत् भएको छ । नबिल बैंकको क्यूआर कोडमार्फत् माघ महिनामा एक लाख ४३ हजार ५०६ पटक भएको कारोबारमार्फत् कुल ९८ करोड ८५ लाख ६७ हजार रुपैयाँ भुक्तानी भएको छ । क्यूआर कोडमार्फत् बढी रकम भुक्तानी हुने दोस्रो बैंकका रुपमा एनआईसी एसिया बैंक देखिएको छ । एनआईसी एसिया बैंकको क्यूआर कोडमार्फत् माघ महिनामा एक लाख ७८ हजार ७६७ पटक भएको भुक्तानी संख्यामार्फत् कुल ७८ करोड ८८ लाख १० हजार रुपैयाँ भुक्तानी भएको छ । यस्तै, रकम भुक्तानी बढी हुने बैंकको तेस्रो नम्बरमा ग्लोबल आईएमई बैंक देखिएको छ । ग्लोबल आईएमई बैंकको क्यूआर कोडमार्फत् माघ महिनामा एक लाख ४ हजार २६० कारोबार संख्यामार्फत् कुल ५१ करोड २५ लाख ८६ हजार रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । क्यूआर कोडमार्फत बढी कारोबार हुने बैंकको चौथो नम्बरमा भने सिद्धार्थ बैंक छ । सिद्धार्थ बैंकको क्यूआर कोडमार्फत् माघ महिनामा ७८ हजार ८८० कारोकार संख्यामार्फत् कुल ३६ करोड ७७ लाख ५ हजार रुपैयाँ भुक्तानी भएको देखिएको छ । क्यूआर कोडमार्फत् भुक्तानी गर्ने बैंकहरूमध्ये प्रभु बैंक, लक्ष्मी बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सानिमा र सनराइज बैंक पनि अगाडि देखिएका छन् । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङलाई प्राथमिकता दिएसँगै वाणिज्य तथा विकास बैंकहरूले पनि क्यूआर कोडको कारोबारलाई पनि महत्त्वका साथ काम गरिरहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वयम् पनि विभिन्न ठाउँहरूमा गएर बैंकहरूका क्यूआर कोड सेवाको उद्घाटन गरिहरेका छन् । माघ महिनामा विभिन्न कम्पनीहरूमार्फत् हुने क्यूआर कोडको कारोबार बढेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार माघ महिनामा विभिन्न कम्पनीहरूको क्यूआर कोडमा १७ लाख ८२ हजार ३६३ कारोबार संख्यामार्फत् कुल ६ अर्ब ८९ करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ ।
बिर्तामोडमा सेन्ट्रल फाईनान्सको शाखा विस्तार
झापा । सेन्ट्रल फाईनान्स लिमिटेडले झापाको बिर्तामोड-४, भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीबाट उद्घाटन भएको उक्त शाखा यस वित्तीय संस्थाको १६औं शाखा हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा सेन्ट्रल फाईनान्सले विगत २५ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै आएको छ । संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । संस्थाको चुक्ता पुँजी ९४ करोड ८८ लाख ७५ हजार रहेको छ । हाल निक्षेप ५ अर्ब ८४ करोड र कर्जा५ अर्ब १४ करोड रहेको छ ।