समस्याग्रस्त सहकारीका विषयमा मन्त्री श्रेष्ठलाई प्रतिवेदन

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थाहरूमध्ये ओरेण्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सम्बन्धमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीको आधारभुत मुल्य, मान्यता र सिद्धान्तको पालना गराउने र निश्चित सिद्धान्त र मापदण्डका आधारमा मागदावी कर्ताहरुलाई रकम उपलब्ध गराउने व्यवस्था गर्ने गरी काम गर्न आग्रह गरिन् । मन्त्री श्रेष्ठ सहकारीहरूमा समस्या आउनै नदिने गरी काम गर्न कार्ययोजना बनाएर लागिपर्नु पर्नेमा जोड दिँदै आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताइन् । सहकारी संस्थाहरुले सहकारीको मूल्य, मान्यता र सिद्धान्तले स्व:उत्तरदायी, इमान्दारी, पारस्परिक सहयोगजस्ता अवधारणलाई आत्मसाथ गरी सहकारीमा सुशासन प्रवर्द्धन गर्ने कानुनी जिम्मेवारीविपरीत हुने गरी कार्य गरेको कारण सहकारी संस्थाहरू समस्या ग्रस्त बनेको निष्कर्ष समितिले निकालेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सिद्धान्त र मापदण्ड बनाएर समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने गरी समितिले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सबैको लघुवित्तले ग्राहकलाई दियो तरकारी खेती तालिम

काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्ना २५ जना ग्राहक सदस्यहरुलाई बेमौसमी तथा मौसमी तरकारी खेती तालिम दिएकाे छ । वैशाख २० गतेदेखि २२ गतेसम्म संचालित तालिममा हरि प्रसाद शर्मा, पवन कुमार श्रेष्ठ, सिता रानाभाट, अनिता वि.क प्रशिक्षककाे रुपमा रहेका थिए । तालिमकाे पहिलाे दिन करेसाबारीको परिचय, महत्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फलवाला तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग जस्ता विषयमा जानकारी दिइएकाे थियाे । यस्तै तालिमकाे दोश्रो दिन तालिममा सहभागीहरुलाई गढवा नगरपालिका—७, मोतिपुरका उमिसा चौधरीको २ विघाहामा फैलिएको कृषि फार्म गरेका थिए । तालिममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले कर्जाको सदुपयोगिता गरेमा मात्र फाईदा हुने भएकोले कर्जा सदुपयोगिता गर्न सुझाव दिएका थिए । सबैको लघुवित्त वित्तीय संस्थाले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्लोबल आइएमई बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

काठमाडाैं । ग्लोबल आइएमई बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता भएको छ । बुधबार उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार नेपाल सरकार तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच प्राइभेट सेक्टर एलइडी मिनी ग्रिड इनर्जी एक्सेस प्रोजेक्ट सम्बन्धमा सम्पन्न भएको सहायक ऋण सम्झौता बमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ । र उक्त रकम ग्लोबल आइएमई बैंकले १०० किलाेवाट पिक सौर्य मिनी ग्रिड परियोजना निर्माण/जडान तथा विद्युत वितरण कार्यको लागि ऋणको रूपमा उपलब्ध गराउने छ । बैंकले यस्ता किसिमका परियोजनाहरुमा लगानी गर्नुका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रवर्धन गर्न विभिन्न वित्तीय सुविधाहरु प्रदान गर्दै व्यवसाय बृद्धिको लागि सहयोग गर्ने लक्ष्य अनुसार यस सम्भौताअन्तर्गत देशको दुर दराजमा सञ्चालन हुने साना परियोजनाहरु विभिन्न बैंकिङ्ग सुविधा प्रदान गर्ने छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २५२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।