तरलताको समस्या तत्काल समाधान हुँदैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलताको समस्या तत्काल समाधान नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा उनले तत्काल तरलताकाे समस्या समाधान नहुने बताएका हुन् । उनले अर्थतन्त्रका सूचक अहिले पनि नकारात्मक नै भएकोले तरलताको समस्या तत्काल समाधान हुने नदेखिएको बताए । उनले सोधान्तरको स्थिति तत्काल सुधार हुने अवस्था नदेखिएकोले तरलताको समस्या पनि तत्काल समाधान नहुने धारणा राखे । ‘विश्व कोरोना महामारीपछि मुद्रास्फिति बढेको छ, आयातमा आधारित अर्थतन्त्र भयो, आयातजन्य वस्तु बढ्दा महँगो भएको हो, रेटमा चाप दिएपनि उपभोग घटेन,’ उनले भने । यस्तै उनले ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने सही भएपनि कुनै वस्तुको उपभोग कम गर्नका लागि पनि रेट बनाउन आवश्यक रहेको बताए । उनले वर्तमान अर्थतन्त्र धेरै सकारात्मक नभएकोले सबै सजग बन्नु पर्ने बताए । हाल मुलुकमा भित्रिने रेमिटेन्सले आयातको ४० प्रतिशत मात्र धान्ने अवस्था रहेको र बाँकी स्रोतले आयात धान्न सक्ने अवस्था नरहेकाले सबै सचेत हुनुपर्ने बताए । ‘हाम्रो नेपाली उपभोक्ता जति मूल्य परे पनि खरिद गर्ने प्रवित्ति बढेको छ, यसले उपभोग्य वस्तुको आयात बढेको छ, पैसा बहिरिएको छ, वार्षिक तीन अर्ब डलर यसरी बाहिरिएकाले हाम्रो ९ अर्ब डलर विदेशी मुद्रा डलर सञ्चितिले धेरै धान्दैन,’ उनले भने ।

ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने प्रमाणित भयो, अब बढाउनु हुन्न : शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने प्रमाणित भएको बताएका छन् । महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘ब्याज बढाउने बित्तिकै निक्षेप बढ्छ भन्ने अनुमान थियो तर, त्यो अहिले गलत प्रमाणित भयो, म गभर्नरज्यूलाई अब ब्याज बढाउनु हुन्न भन्ने आग्रह गर्छु,’ उनले भने । यस्तै, उनले मूल्यवृद्धि कन्ट्रोलमा ध्यान दिनु पर्ने बताए । अध्यक्ष गोल्छाले अहिले अधिकांश देशमा मुद्रास्फिति बढेको बताउँदै नेपालम यसमा सजग बन्नु पर्ने बताए । उनले अब व्यापार घाटा बढ्न सक्ने, खाद्यान्न संकट निम्तिन सक्ने पनि धारणा राखे । बजेटका लागि विभिन्न सुझाव दिँदै उनले विद्युतिय उपकरण बढाउनु पर्ने, निर्माणाधीन जलविद्युत आयोजना सस्पन्न गर्नु पर्ने, विद्युतीय सवारी साधनको व्यवस्था गर्नु पर्ने र इन्धनमा लाग्ने कर घटाउनु पर्ने धारणा राखे । यस्तै उनले अब कृषिमा कार्यक्रम बढाउनु पर्ने बताउँदै प्रत्येक गाउँपालिकामा तरकारी बजार आवश्यक रहेको, व्याज अनुदानमा सहुलियत, सीप तालिमको व्यवस्था र आयकर ५ प्रतिशत मात्रै हुनु पर्ने सुझाव दिए ।

नेपाल बैंकको बाग्मती प्रदेशको बजेट गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले वाग्मती प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैशाख ४ गते देखि ७ गते सम्म धुलीखेलमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बाग्मती प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ६० जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो । प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो । बैंक व्यवस्थापनले शाखाहरुसँग अन्तक्रिया गरि शाखा प्रबन्धकहरुबाट प्राप्त सल्लाह एवं सुझावहरु समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारीता बढि हुने साथै आगामी आर्थिक बर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ्मा बढावा दिने लगायतका विषहरुमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरु तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरु प्रत्यक बर्ष आयोजना गरिँदै आएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ् क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धि बैंकको रुपमा अगाडि आएको बताएका थिए । नेपालभर २१३ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।