डिजिटल सहजताका लागि आइएमई पे र सेन्चुरीबीच सम्झौता

काठमाडौं । आइएमई पे र सेन्चुरी कमर्सियल बैंकबाीच ‘पार्टनर बैंक’ सम्झौता भएको छ। हालै काठमाडौंमा दुवै संस्थाबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा आइएमई पेका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सिइओ) आमोद भट्टराई र सेन्चुरी बैंकका तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार डिजिटल सहजताका लागि आइएमई पे मोबाइल वालेट एपमा सेन्चुरी बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधा आइएमई पे एपमा प्रयोग गर्न मिल्ने छ। हालसम्म नेपालका २३ बैंक तथा वित्तीय संस्थासँग यस्तो सम्झौता गरेको आइएमई पेले यस लिंक–अपका विभिन्न फाइदा भएको जनाएका छ। आइएमई पेमा बैंक लिंक गरेपछि उपभोक्ताले आफ्नो सुविधाअनुसार सेन्चुरी बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न सक्छन्। उपभोक्ताले सिधै आइएमई पेको पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) तथा आफ्नो सेन्चुरी बैंकको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न मिल्ने गरी सिस्टम अद्यावधिक गरिएको छ।

शतप्रतिशत बिक्री भएको सेञ्चुरी बैंकको ऋणपत्र सोमबार बाँडफाँड हुने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र शतप्रतिशत नै बिक्री भएको छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक उक्त ऋणपत्र शतप्रतिशत नै बिक्री भएको हो । क्यापिटलका अनुसार उक्त ऋणपत्रको प्रिअलोटमेन्ट पनि जेठ ६ गते नै भएको छ । यससँगै अब अन्तिम बाँडफाँड (अलोटमेन्ट) भने आगामी सोमबार जेठ ९ गते हुने बिक्री प्रबन्धक तथा बैंक श्रोतले बताएको छ । बजारमा उच्त तरलता अभावका बावजुद पनि बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । जसमध्ये ४० प्रतिशतले हुन आउने ८८ करोड रुपैयाँ सर्वसाधारण (सामूहिक लगानी कोषसमेत) का लागि र ६० प्रतिशतले हुन आउने १ अर्ब ३२ करोड रुपैयाँ (संस्थागत) प्राइभेट प्लेसमेन्टका लागि छुट्याइएको थियो । जसमा सर्वसाधारणबाट २ हजार २६२ वटा आवेदन र कम्पनीहरुबाट ३३ वटा आवेदन परेको थियो । यससँगै, १० वर्षे अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले १०.५० प्रतिशत ब्याज पाउने छन् । बैंकले गत बैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म सेञ्चुरी डिबेन्चर बिक्री खुला गरेको थियो ।

माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकारमा १० प्रतिशत छुट पाउने

काठमाडौं । माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने उद्देश्यले अन्नपुर्ण केबुलकार प्रा.लिसँग उक्त व्यवसायिक सम्झौता गरेको हो । सो सम्झौतापत्रमा अन्नपुर्ण केबुलकारको तर्फबाट महा प्रबन्धक दिनेश पौडेल तथा बैंकको तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त केबुलकार सुविधा पोखराको सेदीबगरदेखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । अन्नपुर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो जसले सो क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउर्दै आएको छ ।