सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपको होटलहरुमा छुट
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । बैंक र हस्पिटालिटीबीच बैंकका ग्राहकलाई २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका तर्फबाट बजार प्रबन्धक र्निपेश श्रेष्ठले हस्ताक्षर गरे । योसँगैं बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको देशभरि संचालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरुमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट पाउनेछन् । सेञ्चुरी कमर्सियल बैंकले १४३ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच नवीकरणीय उर्जाको प्रवद्र्धन गर्न सम्झौता
काठमाडौं । एनएमबि बैंक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषकोबीच त्रिपक्षिय सम्झौता भएको छ । तीन संस्थाबीच मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो । यो सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशहरुमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यसले एनएमबि बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नको लागि सहयोग मिल्ने छ । एनएमबिले दिगो बैंकिङ्ग मार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवद्र्धनको लागी साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखि कार्य गर्दै आएको छ । बैंकले स्वच्छ ऊर्जाको प्रवद्र्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दीगो तरीकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई साथ दिईरहेको छ । बैंकले अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा लगानी सिद्धान्तहरुको आधारमा आफ्नो हरित लगानी कार्यविधी र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणाली को विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरु र अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत समेटेर तयार पारेको छ । बैंकले जनवरी २०१८ देखि नै केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिंग बैंकको भूमिकामा समेत कार्य गर्दै आईरहेको छ । बैंकले देशैभरी रहेका २०१ शाखाहरु, १३८ एटिएमहरु, ११ एक्सटेन्सन काउन्टरहरु मार्फत बैंकिङ्ग सेवाहरु प्रदान गदै आइरहेको छ ।
राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सुविधालाई ध्यान दिनेछौं-गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताएका छन् । बिहीवार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले बनाउने विनियमावलीमा कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताएका हुन् । उनले विगतमा भएको व्यवस्थामा घट्नुभन्दा अझ राम्रो भएर आउने बताए । ‘म यत्ति कुरो यहाँहरुलाई राख्न चाहान्छु, हामीले पास गरिराख्ने संशोधन रिग्रेसिभ हुनेछैन, पहिलेको जुन विनियमावली छ, त्यो भन्दा कुनै सेवा, सुविधा अथवा कुनै किसिमका वृत्ति विकासका व्यवस्थाहरु घटेर त्यसबाट आउने छैन, आशा गरौँ त्यो राम्रो हुनेछ, सकारात्मक हुनेछ,’ उनले भने । उहनले राष्ट्र बैंकमा सुशासन कायम गर्न वर्तमान व्यवस्थापन दत्तचित्त भएर लागेको बताए । बैंकका कर्मचारीहरुले गलत काम नगरेको भन्दै उनले कसैले गलत काम गरेको पाएमा प्रमाणसहित जानकारी दिन आग्रह पनि गरे ।