बुढानिलकण्ठमा २०० विरुवा रोपी गरिमा विकास बैंकले मनायो विश्व वातवरण दिवस
काठमाडौं । गरिमा विकास बैंकले विश्व वातावरण दिवसकाे अवसरमा बुढानिलकण्ठस्थित कालिका पार्कमा वृक्षाराेपण गरेकाे छ । बैंकले जलवायु परिवर्तनको न्यूनीकरण गर्न वृक्षाराेपण गरेकाे जनाएकाे छ । बुढानिलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले संयुक्त रुपमा रुख रोपी कार्यक्रमको उद्घाटन गरेका थिए । यस कार्यक्रम अन्तर्गत उक्त पार्कमा करिब २०० विभिन्न प्रजातिका विरुवा रोपिएको छ । हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सेवा दिँदै आईरहेको छ ।
ग्लाेबल आईएमई बैंकले ३० करोड लगानीमा अत्याधुनिक भवन निर्माण गर्दै
काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेडले रु ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गरे । बैंक भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने उद्देश्यले भरतपुरमा बैंकको आफ्नै भवन निर्माण सुरु गरिएको ढकालले बताए। देशकै केन्द्रभागमा रहेको चितवनमा आर्थिक क्रियाकलाप वृद्धि हुँदै गएको सन्दर्भमा यस क्षेत्रको विकासका लागि आफूले सक्दो काम गर्ने ढकालको भनाइ छ । तीन कठ्ठा १० धुर क्षेत्रफलमा बन्ने भवन ३० हजार ६०० वर्गफुटमा फैलिने छ । दुई तला अण्डरग्राउण्ड र पाँच तला माथि रहनेगरी भवनको संरचना निर्माण हुने छ भने भवनको अण्डरग्राउण्डमा पार्किङ हुनेछ । भवन शिलान्यास अघि बैंकले आफ्नो सयौँ कर्मचारीको सहभागितामा ‘वाकाथन’को आयोजना गरेको थियो ।
सिटिजन्स बैंक र फोकसवानबीच कार्ड भुक्तानी सेवा संचालन गर्ने सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इनेटरनेशनलले भुक्तानी सेवा प्रदायक फोकसवानसँग सम्झाैता गरेकाे छ । बैंकले फोकसवानसँग कार्डमा आधारित स्क्यान टू पे र क्यूआर माध्यमवाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको हाे । उक्त सेवा संचालनमा आएसँगै बैंकका कार्ड वाहकहरुले फोकसवानद्धारा संचालित मोको डिजिटल वालेटमा बैंकका डेबिट/क्रेडिट कार्डहरु लिंक गरी सोही कार्डहरुबाट खर्च हुने गरि बिभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन । यसैगरि बैंकका ग्राहकहरुले मोको वालेट मार्फत एनसीएचएलको नेपाल पे अन्तर्गतका क्यू आर माध्यमवाट भुक्तानी समेत गर्न सक्नेछन । सिटिजन्स बैंक लगायतका विभिन्न बैंकहरुद्वारा प्रवर्धित नेपाल पेमेन्ट सोलुसन (नेप्स) तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट बैंकको डिजिटल बैंकिङ्ग सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास बैंकले लिएको जनाएकाे छ ।