बैंकहरूको सीडी रेसियो झन् बढ्दै, एक महिनामा १३ वटाले घटाउँदा १४ बैंकको बढ्यो
काठमाडौं । बैंकहरूको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) झन् बढेको छ । गत चैतको तुलनामा बैशाखमा अधिकांश बैंकहरूको सीडी रेसियो बढेको हो । चैत महिनामा औसत ९०.६ प्रतिशत रहेको बैंकको सीडी रेसियो बैशाख महिनामा बढेर ९०.८८ प्रतिशत पुगेको हो । गत चैत महिनाको तुलनामा बैशाख महिनामा १४ वटा वाणिज्य बैंकको सीडी रेसियो बढेको छ भने १३ वटा बैंकले घटाउने प्रयास गरेका छन् । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्म सबै बैंकहरूले सीडी रेसियो ९० प्रतिशत कायम गर्न निर्देशन दिइसकेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ८५ प्रतिशतको सीसीडी खारेज गरेर ९० प्रतिशतको सीडी रेसियो लागू गरेको थियो । राष्ट्र बैंकले बैंकहरूलाई असार मसान्तसम्म ९० प्रतिशत कायम गर्न समय दिएको छ । तर, बैंकहरू भने विस्तारै घटाउने प्रयासमा लाग्नु पर्ने अवस्थामा झन बढाइरहेका छन् । एक महिनाको अवधिमा एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाण्डू, प्रभु, कुमारी,एनएमबी, सिटिजन्स सेञ्चुरी, लक्ष्मी, एनआईसी एसिया, सानिमा, सिद्धार्थ, कृषि विकास र सिभिल बैंकले सीडी रेसियो बढाएका छन् । यस्तै, १३ वाणिजय बैंकहरूले भने सीडी रेसियो घटाएका छन् । मेगा, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट, सनराइज, नेपाल बैंक, ग्लोबल आईएमई, हिमालयन, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकले सीडी रेसियो घटाएका छन् । हालसम्म सबैभन्दा बढी सीडी रेसियो प्राइम कमर्सियल बैंकको छ भने सबैभन्दा कम स्ट्याण्डर्ड चाटर्ड बैंकको छ । प्राइमको ९८.५८ प्रतिशत सीडी रेसियो छ भने स्ट्याण्डर्ड चाटर्ड बैंकको ८०.४४ प्रतिशत छ । नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिृकत (सीईओ) अनिल शर्मा अहिलेको अवस्था हेर्दा बैंकहरुलाई सीडी रेसियो ९० प्रतिशतको सीमा कायम गर्न चुनौति नै भएको बताउँछन् । ‘असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशत कायम गर्न चुनौतिपूर्ण नै छ, भएको निक्षेप पनि बाहिरिरहेको छ, धेरै बैंकहरू ९० प्रतिशत माथि नै छन्, असारमा सरकारी खर्च बढ्यो भने केही सहज हुन्छ कि भन्ने अपेक्षा छ खर्च पनि भएन भने समस्या नै हुन्छ,’ उनले भने । उनका अनुसार बैंकहरुको औसत सीडी रेसियो ८९ प्रतिशत भयो भने केही सहज हुन्छ । कुनको कति ?
कामना सेवा विकास बैंककाे डिजिटल बैकिङ्ग बारे अनलाइन वेबिनार कार्यक्रम सम्पन्न
काठमाडाें । कामना सेवा विकास बैंकले डिजिटल बैकिङ्ग बारे अनलाइन वेबिनार कार्यक्रम सम्पन्न गरेकाे छ । बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुममार्फत शनिबार अनलाइन वेबिनार कार्यक्रम सम्पन्न गरेको हाे । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चाल गर्दै आइरहेको छ । उक्त कार्यक्रममा बैंकका कर्मचारीले बिल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने जस्ता महत्वपुर्ण जानकारीहरु प्रदान गरेका थिए । बैंकले आफ्नाे वित्तीय साक्षरता अन्तर्गत सो कार्यक्रम संचालन गरेको र आगामी दिनहरूमा पानी थप प्रभावकारी रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएकाे छ ।
एभरेष्ट बैंकले दुई अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । एभरेष्ट बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९’ जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ५.५० प्रतिशतको दरले ब्याज त्रैमासिक रुपमा भुक्तानी हुने बैंकले जानकारी दिएको छ । बैंकले ऋणपत्र निष्काशन तथा बिक्रीप्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केटसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा एभरेष्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।