कसले किन्यो बिओकेको ३२ सय कित्ता सेयर ?
काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) को ३२ सय कित्ता संस्थापक सेयर बिक्री भएको छ । बैंकका संस्थापक सेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको उक्त सेयर बुधबार बिक्री भएको हो । बैंक सञ्चालक समितिका अनुसार बिक्रीमा रहेको उक्त सेयर सञ्चित कृष्ण श्रेष्ठले किनेका हुन् । सेयरका खरिदको लागि निवेदन दिएका उनले प्रतिकित्ता १८५ रुपैयाँको दरको कूल ३ हजार २ सय कित्ता सेयर कूल ५ लाख ९२ हजार रुपैयाँमा किनेका हुन् । बैंकले २०७८ चैत ७ गते सार्वजनिक सूचना जारी गर्दै उक्त सेयर बिक्रीमा रहेको जानकारी गराएको थियो । संस्थापक सेयर किनबेच गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने कानुनी प्रावधान छ । तर कुनै पनि वहालवाला संस्थापक सेयरधनीहरु उक्त सेयर किन्न निवेदन नदिएकाले बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही सञ्चित कृष्ण श्रेष्ठलाई बिक्री नामसारी गर्ने निर्णय गरेको हो । साथै, उक्त सेयरहरु खरिद बिक्री नामसारी पश्चात नेपाल राष्ट्र बैंकलाई जानकारी समेत दिएको बैंकले जानकारी गराएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ओपन नलेज नेपालको किशोरी प्रोजेक्टलाई दियो ३० लाख रुपैयाँ
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ओपन नलेज नेपालको किशोरी प्रोजेक्टलाई ३० लाख ३६ हजार रुपैयाँ सहयोग गरेको छ । सहायता रकम बैंकका कर्पोरेट अफेयर्स ब्राण्ड एण्ड मार्केटिङ्ग प्रमुख प्रनु सिंहले ओपन नलेज नेपालका सीइओ निकेश बलामीलाई हस्तान्तरण गरेकी थिइन् । रकम हस्तान्तरण गर्दै सिंहले विभिन्न सीपहरु सिकाउने र समाजमा आवश्यक प्रगति एवं परिवर्तन ल्याउन सहयोग गर्ने लक्ष्य लिएको ओकेएनसँग सहकार्य गर्न पाउँदा बैंक हर्षित भएको बताइन् । यस किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ । परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहनेछ भने यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको बैंकले जनाएको छ ।
एनएमबि बैंकले बाँड्यो ५७ सय बढी सुधारिएको चुल्हो
काठमाडौं । एनएमबि बैंकले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन (एसएनभि)को रिजल्ट बेस्ट फाइनान्सिङ्ग परियोजना अन्तर्गत ५ हजार ७२८ सुधारिएको चुल्हो वितरण गरेको छ । परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामिण भेगका जनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एसएनभिसँग बैंकले सहकार्य गरेर सुदुरपश्चिम र कर्णालीका विभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु वितरण गरेको हो । बैंकले परियोजनासँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो । यस परियोजनाबाट दाउराको खपत घटाएर बनको संरक्षणमा मद्धत पुग्ने, विशेषगरि, धुवाँ धुलोमा कमिको कारणले वायु प्रदुषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धुँवा तथा धुलोको कारणले स्वास्थ्यमा आउने रोग तथा विकारहरुमा समेत कमि हुने विश्वास लिईएको बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।