बुधबार तीन शीर्षकमा इन्भेष्टमेन्ट बैंक अगाडि

काठमाडौं । सेयर बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक विभिन्न शीर्षकमा अग्रस्थानमा रहेको छ । बुधबारको बजारमा बैंक कारोबार रकम, संख्या र कारोबार कित्ताको आधारमा अग्रस्थानमा छ । बजारमा बैंकको १२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । त्यस्तै, बैंकको ३ लाख ९९ हजार ५५६ कित्ता सेयर कूल २ हजार ५३ पटकमा खरिद बिक्री भएका छन् । जुन अन्य कम्पनीको तुलनामा बढी हो । सर्वाधिक कारोबार भएको बैंकको सेयर मूल्य भने घटेर प्रतिकित्ता ३०७ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ७.२५ प्रतिशत अर्थात २४ रुपैयाँले कम हो । । समग्रमा बुधबारको बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । परिसूचक ७.१९ अंकले घटेर २१३०.७३ बिन्दुमा झरेको छ । त्यस्तै, कारोबार रकम पनि मंगलबारको तुलनामा २४ करोडले घटेर १ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबारको बजारमा कूल १ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । घटेको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । मैलुङ खोला जलविद्युत कम्पनी र बलेफी हाइड्रोपावरको सेयर मूल्य क्रमशः १० र ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता क्रमशः ५२८ र १३९.४८ रुपैयाँमा कारोबार भएको छ । बजारमा सबैभन्दा बढी सेयर मूल्य घट्नेमा शिखर इन्स्योरेन्स कम्पनी छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेसँगै त्यसको प्रभाव इन्स्योरेन्सको सेयर मूल्यमा परेको हो । अघिल्लो दिनको तुलनामा इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत अर्थात १०२.७० रुपैयाँले घटेर प्रतिकित्ता ९२४.३० रुपैयाँमा झरेको छ । बजारमा विकास बैंक, फाइनान्स र हाइड्रो पावर समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र अन्नपूर्ण केबुलकारबीच बैंकका डेबिट/क्रेडिट कार्ड होल्डरहरुलाई केबलकारको भाडा रकममा छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिट/क्रेडिट कार्ड भएका ग्राहकलाई केबलकारले भाडा रकममा १० प्रतिशत छुट दिने छ । हाल देशभर बैंकले २५८ वटा शाखा कार्यालय, २४५ वटा एटिएम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ्ग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।

‘ग्रिन फाइनान्सिङ आजको आवश्यकता हो, बैंकहरूले लगानी बढाउनु पर्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूले ‘ग्रिन फाइनानसिङ’मा जोड दिनु पर्ने बताएका छन् । बुधबार संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)ले आयोजना गरेको नेपालमा ग्रिन फाइनान्सिङकाे सम्भावना सम्बन्धि कार्यक्रममा धारणा राख्दै उनले बैंक तथा वित्तीय संस्थाहरूले ग्रिन फाइनानिसङमा जाेड दिनु पर्ने बताएका हुन् । नेपाल राष्ट्र बैंकले पनि ग्रिन फाइनान्सिङमा जोड दिएको बताउँदै उनले बैंक तथा वित्तीय संस्थाहरूले पनि नेपाल राष्ट्र बैंकको नीति अनुरूप अगाडि बढ्नु पर्ने धारणा राखे । ‘ग्रिन फाइनान्सिङले आर्थिक स्थायित्वमा सहयोग पुग्छ, बैंक तथा वित्तीय संस्थाहरूका लागि पनि एउटा स्ट्रेन्थ बन्न सक्छ, नेपाल राष्ट्र बैंकले पनि ग्रिन फाइनान्सिङमा जोड दिँदै आएको छ, औपचारिक वा अनौपचारिक रूपमा हामीले बैंकहरूलाई भन्दै पनि आएका छौं,’ गभर्नर अधिकारीले भने । यस्तै, उनले ग्रिन फाइनान्सिङलाई प्रबर्द्धन गर्नको लागि राष्ट्र बैंक प्रतिवद्ध रहेको धारणा राखे । नेपाल राष्ट्र बैंकले नवीकरणीय ऊर्जा परियोजनाहरूमा बैंक वित्तीय संस्थाको लागि ऋण दिने नीतिगत व्यवस्था गरेको पनि उनको भनाइ छ । वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन सम्बन्धि राष्ट्र बैंकले नीतिगत व्यवस्था नै गरेको बताउँदै अब बैंकहरूले वार्षिक रूपमा त्यसको प्रतिवेदन पनि सार्वजनिक गर्नु पर्ने धारणा राखे । यस्तै, कार्यक्रममा अर्थविद् डा. विश्वास गौचनले नेपालमा ग्रिन फाइनान्सिङको उच्च सम्भावना रहेको बताए । उनले पनि आजको आवश्यकता ग्रिन फाइनान्सिङ नै भएको बताउँदै अहिले विश्वमा ग्रिन फाइनान्सिङ एउटा सम्भावनाका रूपमा देखा परेको धारणा राखे । बैंक तथा वित्तीय संस्थाहरूले पनि अर्थतन्त्रको विकासका लागि दीगो तथा समतामुलक भविष्यका लागि रणनीतिक रुपमा ग्रिन फाइनान्सिङ, क्लाइमेट चेन्ज फाइनान्सिङमा थप लगानी गर्नु पर्ने उनको भनाइ छ । ‘फाइनान्सियल सर्भिसमा लिड गर्ने हो भने सम्भावनाका क्षेत्रहरू ग्रिन टेक्नोलोजी, ग्रिन फाइनान्सिङ, इलेक्ट्रिक कार, क्लिन इनर्जी, बायो टेक्नोलोजीमा लगानी बढाउनु पर्छ, ६९ प्रतिशत उर्जा बायो ग्याँसको छ, राजनीतिक अस्थितरताले पनि यसमा केही प्रभाव पार्छ, राष्ट्रको समग्र विकासको महत्वपपूर्ण तत्व ग्रिन इनर्जी पनि हो,’ उनले भने । यूनएनडीपीका नेपाल प्रतिनिधि आइसनी मेडागंगोडे लाबेले अहिले विश्वका विभिन्न देशहरूले ग्रिन फाइनान्सिङलाई प्रभावकारी रूपमा अगाडि बढाएको बताइन् । उनले कम कार्बन अर्थतन्त्रतर्फ लैजाने रणनीतिको रूपमा काम भइरहेको धारणा राखिन् । उनले वित्तीय उपकरण र प्रविधिको आविष्कार गरी विश्वव्यापी, क्षेत्रीय र स्थानीय रूपमा प्रभावकारी साझेदारी स्थापना गरी ग्रिन फाइनान्सिङमा जोड दिनु पर्ने बताइन् । इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) ले सन् २०१७ ले गरेको एक अध्ययनले सन् २०१८ देखि २०३० सम्म नेपालमा ४६ अर्ब अमेरिकी डलरको कुल जलवायु–स्मार्ट लगानी अवसर अनुमान गरेको देखाएको बताउँदै यस कार्यक्रममा सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताइन् । ‘ग्रिन फाइनान्सिङलाई प्रोत्साहन निजी क्षेत्र र यूएनडीपी जस्ता विकास साझेदारहरू लगायत विभिन्न सरोकारवालाहरूसँग सहकार्य आवश्यक छ, संघ प्रदेश र स्थानीय तह स्तरसम्म पनि ग्रिन फाइनान्सिङका परियोजनाहरू अगाडि बढाउन सकिन्छ, त्यसका लागि ग्रिन बन्ड जस्ता उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक छ,’ उनले भनिन् ।