नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक
काठमाडौं । नेपाल बैंकले ुआर्थिक समृद्घिका लागि वित्तीय साक्षरताु नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्वजनिक गरेको छ । बैंकले मंगलबार प्रधान कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त पुस्तिका सार्वजनिक गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्पूर्ण नेपालीहरुमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिवृद्धि गर्न सो पुस्तिका उपयोगी हुने बताए । यस्तै सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाइएको र पुस्तिकाले वित्तीय साक्षरता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । बैंकको मार्केटिङ्ग तथा रिसर्च डिभिजनले तयार गरेको सो पुस्तिका विमोचन गरेको हो ।मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलले वित्तीय साक्षरता वित्तीय समावेशिकरणको महत्वपूर्ण आयामको रुपमा रहेको बताउँदै आगामी दिनमा सो पुस्तिकामा अझ सुधार र परिमार्जन गर्दै लैजाने बताए ।
एनएमबि बैंकले ग्रिन फिक्सड डिपोजिट खाता भएको ग्राहकको नाममा गर्यो वृक्षारोपण
काठमाडौं । एनएमबि बैंकले नागार्जूनस्थित श्यामेश्वर गणेशमान स्मृती सामुदायिक वनमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ । बैंकले सामुदायिक वनमा एनएमबिमा ग्रिन फिक्सड डिपोजिट खाता भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातीका १२५ विरुवा रोपेको हो । बैंकले ल्याएको ग्रिन फिक्सड डिपोजिट योजना ग्राहकलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन बनाएको बैंकले जनएको छ । उक्त कार्यक्रममा सामुदायीक बनका अध्यक्ष अर्जुन राज पुरी, सहायक वन अधिकृत श्रीमती सरस्वति अर्याल, बैंकका कर्मचारीहरु लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।
अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी आइतबार पनि खुल्ने, सेयर बजार शुक्रबार बन्द हुने
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरू आइतबार पनि खुल्ने भएका छन् । नेपाल सरकारले आइतबार दिने भनेको सार्वजनिक विदा फिर्ता लिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्था आइतबार पनि खुल्ने भएका हुन् । सरकारले दुई दिन बिदा दिने निर्णय गर्दा अधिकांश बैंकहरु आइतबार बन्द भएका थिए भने शुक्रबार अन्य कार्यदिन जस्तै पुरा समय खुला भएका थिए । अब भने सरकारको थप नयाँ निर्णय अनुसार बैंकहरु शुक्रबार आधा दिन मात्रै खुल्ने र आइतबार पनि पूर्ण रुपमा खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता नारायण पोखरेलले अब बैंकहरू आइतबार खुल्ने बताएका हुन् । उनले सरकारले आइतबार सार्वजनिक विदा नदिने निर्णय गरेसँगै बैंकहरू पनि स्वतः खुल्ने बताए । त्यस्तै, आइतबार पूर्ण रुपमा बन्द हुँदै आएका बीमा कम्पनीहरु पनि अबदेखि आइतबार पनि खुल्ने छन् । अब असारदेखि सेयर बजार शुक्रबार बन्द हुने भएको छ । जेठ महिनादेखि शुक्रबार बन्द हुँदै आएको सेयर बजार असारदेखि भने सो दिन खुल्ने भएको हो । नेपाल सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार सेयर कारोबार खुलाएर आइतबार बन्द गराउँदै आएको थियो । तर, सरकार आफैले सो निर्णय खारेज गरेसँगै नेप्सेले पहिलाको जस्तै शुक्रबार सेयर कारोबार बन्द गराएर आइतबार खुलाउने निर्णय गरेको हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अब सेयर बजार पहिलेकै समय अनुसार कारोबार हुने बताए । उनले हालसम्म बोर्डले निर्णय गरी नसकेको बताउँदै पहिलेकै समयानुसार कारोबार गर्ने दिन तोक्ने तयारी भइरहेको बताए । पछिल्लो समय पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएसँगै त्यसको उपयोगलाई न्यूनीकरण गर्न भन्दै सरकारले जेठ १ गतेदेखि देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, उक्त निर्णयमा चौतर्फी दबाव आएसँगै सरकारले एक महिनामै सो निर्णय खारेज गरी पहिलाको जस्तै शनिबार एकदिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय पनि बढाएर बिहान साढे ९ बजेदेखि अपरान्ह साढे ५ बजेसम्म तय गरेको थियो । अब आइतबारदेखि बिहीबारसम्म कार्यालय समय भने बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र शुक्रबार भने दिउँसो ३ बजेसम्म मात्रै खुल्ने छन् । पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।