काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता लिपमोटरको नयाँ विद्युतीय गाडी बी०३एक्स चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बनेको छ ।
कम्पनीका अनुसार बी०३एक्सले अगस्ट महिनामा मात्रै ३० हजार ६५२ युनिट बिक्री गरेको छ । चीनमा ए१० नामबाट बिक्री हुँदै आएको यो मोडल लिपमोटरको इतिहासमा सबैभन्दा छिटो १ लाख युनिट बिक्रीको आँकडा पार गर्ने गाडीसमेत बनेको छ ।
कम्पनीले बी०३एक्सले बजारमा आएको १३५ दिनमै १ लाख युनिट बिक्रीको आँकडा पार गरेको जनाएको छ । यो मोडल सन् २०२६ मार्च २६ मा चिनियाँ बजारमा सार्वजनिक भएको थियो । अगस्ट ७ मा यसले १ लाख युनिट बिक्रीको माइलस्टोन पूरा गरेको हो ।
बी०३एक्समा १४५ किलोवाट क्षमताको मोटर र ५५ किलोवाट–घण्टाको ब्याट्री दिइएको छ । यसले एकपटकको चार्जमा सीएलटीसी मापदण्डअनुसार ५०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।
गाडीमा ३० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न १६ मिनेट लाग्ने फास्ट चार्जिङ सुविधा छ । त्यस्तै, यसमा क्वालकम स्न्यापड्रागन ८२९५ ककपिट चिपसहित दुईवटा उच्च क्षमताका चिप प्रयोग गरिएको छ ।
बी०३एक्समा ५१० लिटर क्षमताको बुट स्पेस रहेको छ । पछाडिका सिट फोल्ड गर्दा यसको क्षमता १ हजार ६०५ लिटरसम्म पुग्ने कम्पनीले जनाएको छ ।
लेपमोटरलाई स्टेलान्टिसको विश्वव्यापी साझेदारीसमेत रहेको छ । स्टेलान्टिसअन्तर्गत मासेराती, अल्फा रोमियो र प्युजो लगायतका ब्रान्ड रहेका छन् ।
कम्पनीका अनुसार लिपमोटरले विश्वभर १७ लाखभन्दा बढी विद्युतीय सवारी बिक्री गरिसकेको छ । जुलाई र अगस्ट गरी लगातार दुई महिनामा कम्पनीले १ लाखभन्दा बढी सवारी बिक्री गरेको जनाएको छ ।
लिपमोटरका ४५ भन्दा बढी देशमा २ हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्र रहेको कम्पनीले जनाएको छ ।