काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि यामाहा नेपाल परिवार राहत अभियानमा जुटेको छ ।
रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । कैयौँ परिवारले घर, सम्पत्ति र आफ्ना प्रियजन गुमाएका छन् ।
यस्तो विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्न यामाहा २ पांग्रे विभाग, देशभरका यामाहा डिलर र यामाहा राइडरहरू एकजुट भएका हुन् ।
यामाहा विभाग र देशभरका डिलरहरूले संयुक्त रूपमा सोलिडारिटी फन्डबाट १५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, यामाहा विभागको जेनजी टोलीले आफ्नै व्यक्तिगत बचतबाट १५ हजार रुपैयाँ सहयोग गरेको छ ।
यससँगै यामाहा नेपाल परिवारबाट बाढीपीडितका लागि कुल १५ लाख १५ हजार रुपैयाँ सहयोग भएको छ ।
यामाहा नेपालले विपद्को समयमा राष्ट्र र समुदायप्रति जिम्मेवारी पूरा गर्नु महत्वपूर्ण भएको जनाएको छ । प्रभावित परिवारलाई राहत र भरोसा प्रदान गर्ने उद्देश्यले आफूहरूले सहयोग अभियान अघि बढाएको कम्पनीले जनाएको छ ।
यामाहा नेपालले राहतसँगै पुनःस्थापना र पुनर्निर्माणको यात्रामा प्रभावित समुदायलाई आवश्यक समयसम्म सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
कम्पनीले आफ्नो सामूहिक प्रयासबाट सहयोगको सबैभन्दा बढी आवश्यकता भएका परिवारसम्म राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।