काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब २ लाख रिङ्गिट बराबरको ड्रोन सहयोग गरेको छ ।
रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले नेपाल सरकारलाई ड्रोन उपलब्ध गराएको हो ।
विपद्का बेला प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन ड्रोन उपयोगी हुने प्रोटोनले जनाएको छ । विशेषगरी सडकमार्गबाट तत्काल पुग्न कठिन तथा जोखिमपूर्ण स्थानको हवाई निरीक्षणमा ड्रोन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
ड्रोन सहयोगको व्यवस्थापन तथा समन्वय मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (एनएडिएमए) ले गरेको हो । सुरुमा ड्रोन मलेसियास्थित विशेष मलेसिया विपद् सहायता तथा उद्धार टोली (एसएमएआरटी) को मुख्यालयमा एनएडिएमएलाई हस्तान्तरण गरिएको थियो ।
त्यसपछि नेपालमा मानवीय सहायता तथा विपद् उद्धार अभियानमा खटिएको एसएमएआरटी टोलीमार्फत ड्रोन नेपाल ल्याइएको हो । यी ड्रोन नेपाल सरकारका लागि प्रदान गरिएको र नेपाल सरकारकै स्वामित्वमा रहने जनाइएको छ ।
ड्रोन हस्तान्तरण कार्यक्रममा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङ, एनएडिएमएका महानिर्देशक दातो’ मियर इसमाइल बिन मियर अकीमलगायतको उपस्थिति थियो । मलेसियाको विदेश मन्त्रालयका प्रतिनिधि चु ह्वाई जेङ र इन्चिक जुल इज्बान हम्जाको पनि कार्यक्रममा सहभागिता थियो ।
कार्यक्रममा प्रोटोनका प्रमुख कार्यकारी अधिकृत एडमन्डले विपद्का बेला प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न ड्रोनले महत्वपूर्ण सहयोग पुर्याउने बताए । उनले यो सहयोग तत्कालीन मानवीय सहायतासँगै नेपालको दीर्घकालीन विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा समेत उपयोगी हुने अपेक्षा व्यक्त गरे ।
नेपालमा ड्रोन प्रयोग गर्नुअघि एसएमएआरटी टोलीले सम्बन्धित नेपाली निकायका कर्मचारीलाई ड्रोन सञ्चालनसम्बन्धी आवश्यक तालिमसमेत दिने जनाएको छ ।
प्रोटोन नेपालमा प्रोटोन ई.मास ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्समार्फत बिक्री हुँदै आएको छ । कम्पनीले नेपालमा आफ्नो ब्रान्डको लोकप्रियता बढ्दै गएको जनाएको छ ।
प्रोटोनले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा नेपाली नागरिकसँग ऐक्यबद्धता जनाउँदै स्थानीय समुदायलाई सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ ।
यसैबीच, जगदम्बा मोटर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ नगद सहयोग गरेको छ । कम्पनीले विपद् प्रभावितका लागि अन्य जिन्सी सहयोगसमेत गर्दै आएको जनाएको छ ।
प्रोटोन, जगदम्बा मोटर्स र शंकर ग्रुपको सहकार्यले विपद्को समयमा नेपाललाई सहयोग पुर्याउने प्रतिबद्धता देखाएको छ । ड्रोन सहयोगले बाढी तथा अन्य प्राकृतिक विपद्का बेला उद्धार, राहत र प्रभावित क्षेत्रको निगरानीमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।