ईयूमा नयाँ इतिहास : इलेक्ट्रिक कारको बिक्रीले पेट्रोल कारलाई पछि पार्यो
काठमाडौं । युरोपेली संघ (ईयू) मा डिसेम्बर महिनामा पूर्ण रूपमा इलेक्ट्रिक कारको बिक्रीले पेट्रोलबाट चल्ने कारको बिक्रीलाई पहिलो पटक उछिनेको छ । मंगलबार सार्वजनिक गरिएको युरोपको अटो उद्योग संगठन एसीईएको तथ्यांकले यो देखाएको हो । यद्यपि, बजारमा हाइब्रिड कारहरूले अझै पनि सबैभन्दा ठूलो हिस्सा कायम राखेका छन् । यस तथ्यांकले ईयू बिस्तारै इलेक्ट्रिक र हाइब्रिड सवारीसाधनतर्फ सर्दै गएको संकेत गर्दछ । यो परिवर्तन त्यस्तो समयमा देखिएको हो, जब नीति–निर्माताहरूले उत्सर्जनसम्बन्धी नियमहरू खुकुलो बनाउने प्रस्ताव गरेका छन्, जसले आन्तरिक दहन इन्जिन (आईसीई) भएका सवारीसाधनलाई अझ केही समय चलिरहन दिनेछ । स्वतन्त्र अटोमोबाइल विश्लेषक माथियास स्मिटका अनुसार पेट्रोल कारको बिक्री घट्नुको एक कारण केही मोडललाई ‘माइल्ड हाइब्रिड’ का रूपमा पुनःवर्गीकरण गर्नु पनि हो । यस्ता गाडीमा अझै पेट्रोल इन्जिन नै हुन्छ र तिनले उत्सर्जन घटाउन सीमित योगदान मात्रै गर्छन् । उनले भने, ‘युरोपभरि आन्तरिक दहन इन्जिन भएका सवारीसाधनलाई पूर्ण इलेक्ट्रिक कारले साँच्चिकै उछिन्न अझै करिब पाँच वर्ष लाग्न सक्छ, तर यो सुरुआत भने अवश्य हो ।’ युरोपेली ईभी बजारको दौड गत महिना ईयूमा दर्ता भएका कारमध्ये २२.६ प्रतिशत पूर्ण इलेक्ट्रिक थिए, जसले २२.५ प्रतिशत हिस्सामा सीमित पेट्रोल कारलाई झिनो अन्तरले पछि पारे । पेट्रोल–इलेक्ट्रिक हाइब्रिड कारहरू (ब्याट्रीबाट केही दूरी मात्र चल्न सक्ने प्लग–इन हाइब्रिडसहित) ४४ प्रतिशत हिस्सा लिएर सबैभन्दा ठूलो समूह बने । दर्ता संख्या नै बिक्रीको सूचक मानिन्छ । बेलायत र नर्वे समेटिएको वृहत्तर युरोपेली बजारमा भने कार बिक्रीले लगातार छैटौं महिना वार्षिक आधारमा वृद्धि दर्ज गरेको छ । चिनियाँ ब्रान्डहरू बीवाईडी, चाङआन र गिलीबाट बढ्दो प्रतिस्पर्धाले युरोपेली बजारको दौड थप चर्किएको छ । यसैबीच फक्सवागन र बीएमडब्ल्यूजस्ता घरेलु उत्पादकहरूले नयाँ इलेक्ट्रिक मोडलहरू सार्वजनिक गरिरहेका छन् । ईयूले डिसेम्बरमा २०३५ पछि दहन इन्जिन कारमाथि लाग्ने प्रतिबन्ध त्याग्ने योजना सार्वजनिक गरेको थियो । चिनियाँ प्रतिस्पर्धा, अमेरिकी आयात कर र ईभी नाफामा बेच्न कठिनाइ झेलिरहेका कार उत्पादकको दबाबपछि यस्तो निर्णय गरिएको हो । तर उद्योग विज्ञहरूका अनुसार इलेक्ट्रिक कारको बजार हिस्सा अझै बढ्दै जाने अपेक्षा गरिएको छ । ई–मोबिलिटी युरोपका महासचिव क्रिस हेरनले युरोपेली ब्रान्डहरूले सस्तो र नयाँ ईभी मोडल ल्याएर आफूलाई अनुकूल बनाइरहेको बताए । साथै विभिन्न देशहरूले नयाँ प्रोत्साहन योजना पनि ल्याइरहेका छन् । उनले भने, ‘उपभोक्ताहरूको चासो देखिन थालेको छ । हामी विश्वस्त छौं कि २०२६ मा युरोपभर ईभी बिक्री अझ बढ्नेछ ।’ डिसेम्बरमा फक्सवागन र स्टेलान्टिसका दर्ता क्रमशः १०.२ प्रतिशत र ४.५ प्रतिशतले बढे भने रेनोल्टका दर्ता २.२ प्रतिशतले घटे । त्यसैगरी, टेस्लाका दर्ता २०.२ प्रतिशतले घट्दा, चिनियाँ कम्पनी बीवाईडीका दर्ता भने २२९.७ प्रतिशतले उकालो लागे । डिसेम्बरमा ईयूको कुल कार बिक्री झन्डै ६ प्रतिशतले वृद्धि एसीईएका अनुसार ईयू, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) मा डिसेम्बर महिनामा कार बिक्री ७.६ प्रतिशतले बढेर १२ लाख पुगेको छ । सन् २०२५ भरि कुल बिक्री २.४ प्रतिशतले बढेर १ करोड ३३ लाख पुगेको छ, जुन पछिल्लो पाँच वर्षकै उच्च स्तर हो, यद्यपि महामारीअघिको स्तरभन्दा अझै कम छ । ईयूभित्र मात्रै डिसेम्बरमा कार बिक्री ५.८ प्रतिशतले बढेर करिब १० लाख पुगेको छ भने वर्षभरि १.८ प्रतिशतले बढेर १ करोड ८ लाख पुगेको छ । डिसेम्बरमा ब्याट्री इलेक्ट्रिक, प्लग–इन हाइब्रिड र हाइब्रिड इलेक्ट्रिक कारको दर्ता क्रमशः ५१ प्रतिशत, ३६.७ प्रतिशत र ५.८ प्रतिशतले बढेको छ । यी तीनै समूह मिलेर ईयूको कुल दर्ताको ६७ प्रतिशत हिस्सा ओगटेका छन्।
युरोपमा हाइब्रिड कारको बजार हिस्सा ३४.५ प्रतिशत पुग्यो
काठमाडौं । सन् २०२५ मा युरोपेली उपभोक्ताहरूका लागि हाइब्रिड–इलेक्ट्रिक सवारी साधनहरू सबैभन्दा लोकप्रिय पावर विकल्पका रूपमा उभिएका छन् । मंगलबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार हाइब्रिड कारहरूले विशुद्ध पेट्रोल–सञ्चालित कारहरूलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेका हुन् । युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिइए) का अनुसार सन् २०२५ मा युरोपेली सङ्घ (इयु) भर करिब १८ लाख नयाँ सवारी साधन दर्ता भएका थिए । यो अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतको वृद्धि हो । यद्यपि, एसिइएले जारी गरेको विज्ञप्तिमा नयाँ कार बिक्री अझै पनि कोभिड–१९ महामारीअघिको स्तरभन्दा धेरै तल रहेको उल्लेख गरिएको छ । समग्र बिक्रीमा सामान्य वृद्धि देखिए पनि उपभोक्ताहरूको रोजाइ स्पष्ट रूपमा वैकल्पिक ऊर्जा प्रविधितर्फ सरेको देखिन्छ । हाइब्रिड र ब्याट्री–इलेक्ट्रिक सवारी साधनहरूको माग निरन्तर बढिरहेको तथ्याङ्कले पुष्टि गरेको छ । गत वर्ष हाइब्रिड–इलेक्ट्रिक सवारी साधनको बिक्री १३.५ प्रतिशतले वृद्धि भई इयुको कुल नयाँ कार बिक्रीको ३४.५ प्रतिशत पुगेको छ । यसले हाइब्रिड कारलाई पेट्रोल कारभन्दा स्पष्ट रूपमा अगाडि राखेको छ । पेट्रोल कारको बजार हिस्सा २६.६ प्रतिशतमा सीमित रहेको थियो । यसैबीच, ब्याट्री–इलेक्ट्रिक सवारी साधनहरूको बिक्री ३० प्रतिशतले बढेर समग्र बिक्रीको १७.४ प्रतिशत पुगेको छ । एसिइएले भने सन् २०२४ मा कमजोर आधारबाट सुधार आएको जनाउँदै इयुले तय गरेका सङ्क्रमण तथा वातावरणीय लक्ष्यहरू हासिल गर्न अझै तीव्र वृद्धि आवश्यक रहेको बताएको छ । प्लग–इन हाइब्रिड सवारी साधनको बिक्री पनि गत वर्ष बढेको देखिएको छ । तर, परम्परागत पेट्रोल र डिजेल सवारी साधनको बिक्री भने उल्लेखनीय रूपमा घटेको छ । पेट्रोल र डिजेल कारको संयुक्त बजार हिस्सा सन् २०२४ मा ४५.२ प्रतिशत रहेकोमा सन् २०२५ मा घटेर ३५.५ प्रतिशतमा झरेको छ । कार निर्माताहरूको हिसाबले हेर्दा फक्सवागन समूहले सन् २०२५ मा आफ्नो बिक्री ५.५ प्रतिशतले बढाउँदै युरोपमा सबैभन्दा धेरै कार बिक्री गर्ने निर्माताको रूपमा आफ्नो अग्रता अझ बलियो बनाएको छ । फ्रान्सको रेनोले पनि समान स्तरको वृद्धि दर्ता गरेको छ । तर, प्युजो, फिएटलगायत थुप्रै युरोपेली ब्रान्डहरू समेटिएको स्टेलान्टिस समूहको बिक्री भने ४.७ प्रतिशतले घटेको छ । चिनियाँ कार निर्माता बिवाइडीले इयुमा आफ्नो बिक्री गत वर्ष तीन गुणासम्म बढाएको छ, यद्यपि यो वृद्धि तुलनात्मक रूपमा सानो आधारबाट भएको हो । एमजी ब्रान्डको स्वामित्वमा रहेको चीनको एसएआइसी मोटरको बिक्री पनि करिब एक तिहाइले बढेको तथ्याङ्कले देखाएको छ । यसले युरोपेली बजारमा चिनियाँ ब्रान्डहरूको उपस्थिति विस्तार हुँदै गएको सङ्केत गरेको छ । यसको विपरीत, अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको बिक्री सन् २०२५ मा करिब ३८ प्रतिशतले घटेको छ । एसिइएका अनुसार कम्पनीका प्रमुख अर्बपति एलोन मस्कसँग जोडिएका राजनीतिक विवादहरूले युरोपमा टेस्लाको ब्रान्ड छविमा नकारात्मक असर पारेको छ । मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्नुका साथै जर्मनीको अति–दक्षिणपन्थी एएफडी पार्टीप्रति समर्थन जनाएपछि टेस्लाको प्रतिष्ठामा क्षति पुगेको विश्लेषकहरूको भनाइ छ । रासस
बजाजको ‘ग्रान्ड एक्सचेन्ज मेला’ मा आकर्षक छुट, ४५ मिनेटमै फाइनान्स सुविधा
काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गरेको छ । आइतबतार (आज)बाट सुरु भएको यो मेला १७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर ल्याएर नयाँ बजाज मोटरसाइकलसँग साट्न सक्ने बजाज शोरुम टेकुका सुमन प्रसाईंले जानकारी दिए । ‘हामीले विभिन्न भ्यालुएटरहरूको माध्यमबाट पुराना बाइकको बजारकै उत्कृष्ट मूल्यांकन दिइरहेका छौं ताकि ग्राहकले आफ्नो साधनको उचित मूल्य पाउन सकून्,’ उनले भने । एक्सचेन्ज मेलामा नयाँ बाइक खरिद गर्दा ग्राहकले ७ हजार रुपैयाँदेखि ८ हजारसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै हेल्मेट र लेग गार्डजस्ता आवश्यक एक्सेसरीजहरू पनि निःशुल्क प्रदान गरिनेछ । मेलामा सहज फाइनान्सको पनि व्यवस्था गरिएको छ । ग्राहकले न्यूनतम ४० प्रतिशत डाउन पेमेन्ट गरेर नयाँ बाइक खरिद गर्न सक्नेछन् । ४० प्रतिशत डाउन पेमेन्टमा १२.९९ प्रतिशत, ५० प्रतिशतमा ११.९९ प्रतिशत र ६० प्रतिशत डाउन पेमेन्टमा ९.९९ प्रतिशतको आकर्षक ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध छ । कम्पनीका अनुसार आवश्यक कागजात पूरा भएको अवस्थामा केवल ४५ मिनेटभित्रै फाइनान्स प्रक्रिया सम्पन्न हुनेछ । नयाँ पल्सर २२० एफ मुख्य आकर्षण मेलाको मुख्य आकर्षणको रूपमा नयाँ पल्सर २२० एफ रहेको छ । नयाँ अपडेटसहित सार्वजनिक भएको यो मोडलमा फ्युल इन्जेक्सन, बीएस ६ इन्जिन, र ब्लुटुथ कनेक्टिभिटीसहितको स्मार्ट मिटर जस्ता अत्याधुनिक फिचरहरू छन् । यो विभिन्न नयाँ र आकर्षक रङहरूमा उपलब्ध छ । यसबाहेक मेलामा प्लाटिनादेखि डोमिनार ४०० सम्मका सबै मोडल, एन-सिरिजका नयाँ बाइकहरू र चेतक इलेक्ट्रिक स्कुटर पनि उपलब्ध छन् । मेला सुरु भएसँगै ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको छ ।