एथर नेपालले एकै दिन २०८ स्कुटर हस्तान्तरण गर्दै बनायो कीर्तिमान

काठमाडौं । वैद्य इनर्जी प्रालिद्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नेपाली विद्युतीय सवारीसाधन क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीले आयोजना गरेको ‘मेगा डेलिभरी’ कार्यक्रममार्फत एथर स्कुटर ग्राहकलाई हस्तान्तरण गरिएको हो  । यस उपलब्धिले नेपाली बजारमा एथर ब्रान्डप्रतिको बढ्दो विश्वास, अत्याधुनिक प्रविधिप्रति आकर्षण तथा दिगो यातायातप्रतिको झुकाव स्पष्ट भएको कम्पनीले जनाएको छ । देशका विभिन्न स्थानबाट आएका ग्राहकहरूले नयाँ स्कुटर ग्रहण गर्दै विद्युतीय सवारीसाधनतर्फ भइरहेको तीव्र रूपान्तरणलाई उत्सवका रूपमा मनाएका थिए । कार्यक्रमका अवसरमा वैद्य इनर्जीका प्रतिनिधिहरूले ग्राहकप्रति आभार व्यक्त गर्दै स्वच्छ, स्मार्ट तथा दिगो यातायात प्रणाली विकासमा कम्पनी प्रतिबद्ध रहेको बताएका थिए । एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्ने यो उपलब्धिले एथर नेपाललाई प्रिमियम विद्युतीय स्कुटर सेग्मेन्टमा अझ सशक्त बनाएको कम्पनीको दाबी छ । साथै, यसले नेपाली बजारमा उच्च गुणस्तरयुक्त तथा नवप्रवर्तनमा आधारित विद्युतीय सवारीसाधनप्रतिको माग बढ्दो रहेको संकेत गरेको छ ।

किया नेपालले ल्यायो नयाँ के३ सेल्टोस, ९५ लाखसम्म पर्ने

काठमाडौं । किया नेपालले ‘अल न्यु किया के३ सेल्टोस’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा आयोजित विशेष समारोहमार्फत नयाँ एसयूभी सार्वजनिक गरेको हो । तेस्रो पुस्ताको सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमतामा व्यापक सुधार गरिएको कम्पनीले जनाएको छ । कियाको नयाँ ‘के३ प्लेटफर्म’मा आधारित यो एसयूभीमा बलियो बडी संरचना, फराकिलो क्याबिन र परिष्कृत ड्राइभिङ अनुभव उपलब्ध हुने बताइएको छ । भारतस्थित कियाको अत्याधुनिक प्लान्टमा उत्पादन हुने यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ । सुरक्षातर्फ ‘लेभल–२ एडिएएस’, २१ वटा स्ट्यान्डर्ड सेफ्टी फिचर, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता सुविधाहरू समावेश गरिएको छ । यसले ८१ मध्ये ७६.७ अंक प्राप्त गर्दै ‘फाइभ–स्टार बीएनसीएपी’ सुरक्षा रेटिङसमेत हासिल गरेको कम्पनीको दाबी छ । कार्यक्रममा बोल्दै किया नेपालकी कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले नयाँ सेल्टोसले नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र उच्च सुरक्षा दिने बताइन् । उनले यसले एसयूभी सेगमेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरिन् । कम्पनीले नयाँ सेल्टोसलाई अघिल्लो पुस्ताको मोडलसँगै बिक्री गर्ने योजना बनाएको छ । जसले ग्राहकलाई मूल्य र सुविधाका आधारमा छनोटको फराकिलो विकल्प दिनेछ । यस गाडीको मूल्य एसटीके ओ (एचटीके पेट्रोल) का लागि ६८ लाख ९० हजार रुपैयाँ, एसटीके ओ आइभीटीका लागि ७५ लाख ९० हजार रुपैयाँ, एचटीएक्स ए आइभीटीका लागि ८५ लाख ९० हजार रुपैयाँ र एक्स–लाइन ए डीसीटीका लागि ९५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । यो एसयूभी देशभर रहेका किया नेपालका आधिकारिक डिलरमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

लक्ष्मी हुन्डाईलाई अन्तर्राष्ट्रिय ‘सर्भिस पर्फर्मेन्स अवार्ड’

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित ‘इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका सर्भिस पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको छ । गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत–सम्भार (आफ्टर–सेल्स सर्भिस) र उच्च ग्राहक सन्तुष्टिका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । यसले गाडी बिक्रीभन्दा बढी ग्राहक अनुभवलाई प्राथमिकता दिने हुन्डाईको दृष्टिकोणलाई प्रस्ट पारेको छ । धेरैजसो अटोमोबाइल ब्रान्डहरू बिक्री र शोरुममा केन्द्रित भइरहेका बेला लक्ष्मी हुन्डाईले भने बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्तिका रूपमा विकास गर्दै आएको छ । ग्राहकलाई गाडी प्रयोगभर भरपर्दो सेवा उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले सेवा केन्द्रहरूको सञ्जाल विस्तार, कर्मचारीको दक्षता अभिवृद्धि र पूर्वाधार आधुनिकीकरणमा निरन्तर लगानी गरिरहेको जनाएको छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै लक्ष्मी हुन्डाईले ग्राहक सेवामा विश्वस्तरीय मापदण्ड कायम गर्दै यस्तो पुरस्कार जित्नु देशकै लागि गौरवको विषय बनेको छ । कम्पनीले आफ्टर–सेल्स सेवालाई छोटो अवधिको व्यापारभन्दा दीर्घकालीन प्रतिबद्धताका रूपमा लिँदै आएको छ । कम्पनीका अनुसार यो सफलता सम्पूर्ण टोलीको निरन्तर मेहनत, लगनशीलता र ग्राहकलाई पहिलो प्राथमिकतामा राख्ने संस्कृतिको परिणाम हो । यस अवसरमा कम्पनीले आफ्ना ग्राहकप्रति अटुट विश्वास र साथका लागि कृतज्ञता व्यक्त गर्दै कर्मचारीहरूको समर्पणको उच्च प्रशंसा गरेको छ । साथै, प्राप्त सम्मानले आगामी दिनमा नेपाली अटो बजारमा उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिका नयाँ मापदण्ड स्थापित गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ ।