इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सडक सुरक्षा तालिम सम्पन्न

काठमाडौं । इनड्राइभले 'इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा' अभियान अन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि सडक सुरक्षा तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । यस पहलमार्फत इनड्राइभले चालक सशक्तिकरण, सडक सुरक्षा प्रवर्द्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनाएको छ । तालिम सत्रमा ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमको पालना, जिम्मेवार ड्राइभिङ र पेशागत आचरणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । इनड्राइभका अनुसार यस्ता तालिमले सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिकालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । नियमित र गुणस्तरीय सुरक्षा तालिमलाई प्राथमिकतामा राख्दै कम्पनीले आफ्ना ड्राइभरहरूलाई आर्थिक रूपमा मात्र होइन, आत्मविश्वासी, सचेत र वास्तविक सडक चुनौती सामना गर्न सक्षम बनाउने लक्ष्य लिएको छ । यस पहलको एक प्रमुख विशेषता इनड्राइभको ‘स्वतन्त्र छनोट’ मोडेल हो, जसले ड्राइभरहरूलाई यात्रासम्बन्धी निर्णयहरू स्वतन्त्र रूपमा लिन सक्ने अधिकार प्रदान गर्दछ । सुरक्षा शिक्षालाई स्वायत्ततासँग जोड्दै, इनड्राइभले सुरक्षा र सेवाको गुणस्तरमा सम्झौता नगरी दिगो र न्यायपूर्ण मोबिलिटी प्रणाली प्रवर्द्धन गर्दै आएको छ । तालिमका सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सत्र नेपाल ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए । सो अवसरमा उनीहरूले सुरक्षित सडक सुनिश्चित गर्न प्लेटफर्म, चालक र सम्बन्धित निकायबीचको सहकार्य तथा साझा जिम्मेवारीको महत्व औंल्याएका थिए । इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले चालक साझेदारहरूको सशक्तिकरण प्रविधि वा आम्दानीमा मात्र सीमित नभई जिम्मेवार, सुरक्षित र दिगो मोबिलिटी संस्कृतिको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको बताइन् । यस्ता सुरक्षा तालिमले चालकहरूलाई यात्रु तथा आफ्नै सुरक्षाप्रति सचेत रहँदै जिम्मेवार निर्णय लिन सक्षम बनाउने उनको भनाइ छ । इनड्राइभले ड्राइभर पार्टनर्सलाई सेवाको मेरुदण्डका रूपमा लिँदै उनीहरूको सुरक्षा, सीप विकास र सशक्तीकरणलाई सदैव प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस पहलमार्फत नेपालमा समावेशी, सुरक्षित र विश्वासयोग्य राइड–हेलिङ समुदाय निर्माण गर्ने आफ्नो दृष्टिकोणलाई कम्पनीले पुनः पुष्टि गरेको जनाएको छ ।  

२०२५ मा ल्याम्बोर्गिनीको कीर्तिमानी बिक्री

काठमाडौं । इटालीयन लक्जरियस स्पोर्ट्स कार निर्माता ल्याम्बोर्गिनीले मंगलबार सन् २०२५ मा विश्वभर १० हजार ७४७ सवारीसाधन डेलिभरी गरेको जनाएको छ । यो अघिल्लो वर्षको प्रदर्शनभन्दा केही सुधारसहित अहिलेसम्मकै उच्च कीर्तिमान हो । जर्मनीको फक्सवागन समूह अन्तर्गतको ल्याम्बोर्गिनीले उक्त सशक्त प्रदर्शनको श्रेय आफ्नो हाइब्रिड रणनीति तथा सबै क्षेत्रबाट आएको मजबुत नतिजालाई दिएको छ ।  क्षेत्रगत रूपमा युरोप, मध्यपूर्व र अफ्रिका (ईएमईए) अग्रस्थानमा रहँदै ४ हजार ६५० गाडी डेलिभरी भएका छन् । त्यसपछि अमेरिकामा ३ हजार ३४७ र एसिया–प्रशान्त क्षेत्रमा २ हजार ७५० गाडी डेलिभरी भएका छन् । जटिल विश्वव्यापी वातावरणबीच पनि ब्रान्डलाई अलग पहिचान दिलाउन सक्षम भएको प्रमाण यी कीर्तिमानी डेलिभरीहरूले पुष्टि गरेको ल्याम्बोर्गिनीका प्रमुख कार्यकारी अधिकृत स्टेफान विन्केलमानले विज्ञप्तिमा बताएका छन् ।

निर्वाचनका लागि भारत सरकारले पहिलो चरणमा दियो ६१ वटा गाडी उपहार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ ।  मंगलबार सिंहदरबारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको हो । गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।  उक्त प्रस्तावअन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरूप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो । यसपटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ । गाडीहरू नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न पाउने छ । भारत सरकारले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ ।  सन् २००८ यता मात्र भारत सरकारले नेपाल सरकारलाई २ हजार ४ सय बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ ।