बीएमडब्ल्यू आईएक्स १ को मूल्य १ करोड ३ लाखले वृद्धि

नयाँ मूल्य ३ करोड ३ लाख

काठमाडौं । नेपालमा बीएमडब्ल्यू गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्स्मी प्रिमियम मोटर्सले सरकारले लागू गरेको नयाँ विद्युतीय सवारीसाधन (ईभी) कर नीतिपछि बीएमडब्ल्यूका विद्युतीय गाडीहरूको मूल्य संशोधन गरेको जनाएको छ । 

यसअन्तर्गत बीएमडब्ल्यू आईएक्स १ ईड्राइभ २० को मूल्य रु १ करोड ९९ लाख ९६ हजारबाट बढेर ३ करोड २ लाख ९६ हजार पुगेको छ । अर्थात् यस मोडेलको मूल्यमा १ करोड ३० हजारको वृद्धि भएको हो ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ईभीमा लाग्ने करको व्यवस्था परिवर्तन गरेपछि बीएमडब्ल्यूका विद्युतीय गाडीहरूको मूल्य बढेको हो । 

नयाँ व्यवस्थाअनुसार अब ईभीमा लाग्ने कर मोटरको क्षमताभन्दा पनि गाडीको आयात मूल्यका आधारमा निर्धारण गरिनेछ । यसले विशेषगरी उच्च मूल्यका विद्युतीय गाडीहरूमा बढी प्रभाव परेको छ ।

आईएक्स १ मात्र नभई बीएमडब्ल्यूका अन्य विद्युतीय मोडेलहरूको मूल्यमा पनि वृद्धि भएको लक्स्मी प्रिमियम मोटर्सले जनाएको छ । नयाँ कर संरचनाका कारण विभिन्न मोडेलमा फरक–फरक दरले मूल्य समायोजन गरिएको छ ।

अटोमोबाइल क्षेत्रका जानकारहरूका अनुसार नयाँ नीति लागू भएपछि प्रिमियम तथा लक्जरी ईभी ब्रान्डहरू सबैभन्दा बढी प्रभावित भएका छन् । यसले नेपालमा विद्युतीय सवारीसाधनको मूल्य संरचनामा ठूलो परिवर्तन ल्याएको छ ।

Share News