सुरक्षित यात्राका लागि इनड्राइभले ल्यायो निःशुल्क अनलाइन ड्राइभिङ कोर्स

काठमाडौं । राइड–हेलिङ प्लेटफर्म इनड्राइभ नेपालले चालक साझेदारको सीप, आत्मविश्वास र सडक सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार मोबाइलबाटै सहज रूपमा अध्ययन गर्न मिल्ने गरी तयार गरिएको यो तालिमले चालक साझेदारलाई सुरक्षित यात्रा, सडक सुरक्षा तथा आपत्कालीन अवस्थाको व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नेछ । हाल कोर्स सञ्चालनमा आइसकेको र धेरै चालकले पूरा गरिसकेको कम्पनीले जनाएको छ । अब यो कार्यक्रम नेपालभर रहेका एक लाखभन्दा बढी इनड्राइभ चालक साझेदारसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । करिब २० मिनेटमा पूरा गर्न सकिने यो कोर्स चालकहरूको व्यस्ततालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ । कोर्समा तीन मुख्य विषय समेटिएका छन् । पहिलोमा प्लेटफर्म सुरक्षा र व्यावसायिक आचरण, दोस्रोमा राइड–हेलिङ सेवासम्बन्धी सडक सुरक्षा र सुरक्षित ड्राइभिङ तथा तेस्रोमा आपत्कालीन अवस्था, रिपोर्टिङ र एसओएस सुविधाको प्रयोगबारे प्रशिक्षण दिइन्छ । प्रत्येक मोड्युलमा छोटो शैक्षिक भिडियो र मूल्यांकनका लागि प्रश्नहरू समावेश गरिएको छ । कम्पनीका अनुसार सबै मोड्युल सफलतापूर्वक पूरा गर्ने चालकले प्रमाणपत्र प्राप्त गर्नेछन्। पहिलो प्रयासमा उत्तीर्ण हुन नसके पनि पुनः परीक्षा दिन सकिने व्यवस्था गरिएको छ । इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसालिस्ट सुनिता जिमी राईले चालकले एप प्रयोगमा मात्रै नभई सडकमा आउने हरेक परिस्थितिलाई सुरक्षित रूपमा सामना गर्न सकून् भन्ने उद्देश्यले कोर्स तयार गरिएको बताइन् । उनका अनुसार यो तालिम नियम पालना मात्र नभई चालक र यात्रु दुवैको सुरक्षाका लागि व्यावहारिक सीप विकासमा केन्द्रित छ । कम्पनीले यो पहलले चालकमा सुरक्षा सचेतना, जोखिम व्यवस्थापन क्षमता र कठिन परिस्थितिमा सही निर्णय गर्ने आत्मविश्वास बढाउने विश्वास व्यक्त गरेको छ ।

कालो सिसा हटाउने अभियानबारे नाडा र ट्राफिक प्रहरीबीच छलफल

काठमाडौं । सवारी साधनमा प्रयोग भइरहेको कालो सिसा (ब्ल्याक फिल्म) हटाउने विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल भएको छ । साेमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने अभियान र त्यसको कार्यान्वयनका विषयमा छलफल गरेको हो ।  छलफलका क्रममा एसएसपी काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार कालो सिसा प्रयोग नगर्ने व्यवस्था रहेको र नेपालमा यस्ता सवारी विभिन्न आपराधिक गतिविधिमा समेत प्रयोग हुने गरेको देखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कालो सिसा हटाउने अभियान अघि बढाइएको जानकारी दिए । उनले सवारी साधनको अगाडिको सिसामा कालो फिल्म वा कुनै पनि प्रकारका स्टिकर टाँस्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै आयातकर्ता कम्पनीहरूले पनि ग्राहकलाई यसबारे स्पष्ट जानकारी गराउनुपर्ने बताए । काफ्लेले विशेष अनुमति प्राप्त सवारीबाहेक कालो सिसा प्रयोग गर्न नपाइने स्पष्ट पार्दै उत्पादन कम्पनीबाटै कालो सिसा जडान भएका सवारी आयात नगर्न समेत आयातकर्तालाई आग्रह गरे ।  नाडाका अध्यक्ष उप्रेतीले अधिकांश सवारीमा प्रयोग भएको कालो फिल्म हटाउन प्राविधिक रूपमा कुनै जटिलता नरहेको उल्लेख गर्दै पहिलो चरणमा फिल्म हटाउने अभियान सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिएका थिए । त्यसैगरी नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादन कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीको संख्या धेरै नभएकाले त्यसको यकिन विवरण संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउन सकिने धारणा राखे । कालो सिसा हटाउने विषयमा समन्वयका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई औपचारिक रूपमा छलफलका लागि अनुरोध गरेको थियो । छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति लगायतको पनि सहभागिता रहेको थियो ।    

नाइमा एक्स्पोमा प्रदर्शन हुँदैछन् ५४ ब्रान्डका सवारी

काठमाडौं । सवारीसाधनका सौखिन र खरिदकर्ताहरूका लागि प्रतिक्षित ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ ।  नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स  एसोसिएसन (नाइमा) ले आयोजना गर्ने यस मेलाले नेपाली अटोमोबाइल बजारलाई नयाँ गति दिने जनाएको छ ।  यस पटकको एक्स्पो गत वर्षको तुलनामा अझ बृहत् र व्यवस्थित हुने नाइमाले जानकारी दिएको छ ।  नाइमाका अनुसार एक्स्पोका लागि ५१ वटा स्टलहरू छुट्याइएकामा पूर्ण रूपमा बुक भइसकेका छन् ।  माग अत्यधिक भएका कारण केही ब्रान्डहरूलाई स्थान अभावका कारण पाइपलाइनमा राख्नुपरेको छ ।  मेलामा कुल ५४ वटा विभिन्न ब्रान्डका सवारीसाधनहरू प्रदर्शनीमा रहने नाइमाको भनाइ छ । यस वर्षको मेलामा पनि विद्युती सवारीसाधन (ईभी) को विशेष आकर्षण रहने बताइएको छ ।  नाइमाका अनुसार एक्स्पोमा प्रख्यात फोर-ह्विलर ब्रान्डहरू जस्तै टाटा, बीवाइडी, किया, टोयोटा, हुण्डाई, एमजी, निसान र हाभलका साथै ओमोडा, जेइकु, आयन, र भीजीभीजस्ता नयाँ ब्रान्डका पछिल्ला मोडलहरू प्रदर्शन गरिनेछ । दुई पाङ्ग्रेतर्फ पनि इलेक्ट्रिक स्कुटर र बाइकहरूको ठूलो उपस्थिति रहनेछ । प्युजो, एनआईयु, याडिया, एसर र ग्यारो जस्ता इलेक्ट्रिक ब्रान्डका साथै बजाज, टीभीएस, केटीएम र ट्रायम्फ जस्ता स्थापित ब्रान्डहरूले पनि आफ्ना नयाँ उत्पादनहरू मेलामा राख्ने नाइमाले जनाएको छ ।  व्यावसायिक सवारीसाधनतर्फ स्काईवेल र जितानजस्ता ब्रान्डका ईभी भ्यानहरूको सहभागिता रहने आयोजक नाइमाले जनाएको छ ।  एक्स्पोको अर्को मुख्य आकर्षण भनेको नयाँ सवारीसाधनहरूको सार्वजनिक कार्यक्रम हो । धेरै कम्पनीहरूले आफ्ना नयाँ ब्रान्ड र मोडलहरू मेलाकै अवसर पारेर पहिलो पटक नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।   विशेष गरी लक्ष्मी ग्रुप, एडभान्स अटोमोबाइल, सिप्रदी ट्रेडिङ र जगदम्बाजस्ता ठूला घरानाहरूले नयाँ ब्रान्डहरू एक्स्पोमार्फत भित्र्याउँदैछन् । अवलोकनकर्ताहरूको सुविधा र अनुभवलाई मध्यनजर गर्दै यस पटक भिजिटर अनुभव एक्स्पोलाई अझ उत्कृष्ट बनाउने लक्ष्य नाइमाले लिएको छ ।  मेलामा सवारीसाधनका अतिरिक्त बैंक तथा वित्तीय संस्थाहरू, लुब्रिकेन्ट्स, टायर, ब्याट्री र पार्टपुर्जाहरूका स्टलहरू पनि रहनेछन्, जसले गर्दा खरिदकर्ताले एकै स्थानबाट कर्जा सुविधा र अन्य प्राविधिक जानकारी प्राप्त गर्न सक्नेछन् ।  बजारमा आएको आर्थिक शिथिलताका बीच आयोजना हुन लागेको यो एक्स्पोले सवारीसाधनको खरिद-बिक्रीमा सकारात्मक प्रभाव पार्ने र अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । मेला ६ दिनसम्म चल्नेछ भने यो मेला नाइमाको दोस्रो संस्करण हो ।