राष्ट्रव्यापी सामुदायिक उत्सवसँगै यामाहाले मनायो ७१औं वार्षिकोत्सव

काठमाडौं । यामाहा नेपालले विभिन्न सामाजिक तथा ग्राहकमुखी कार्यक्रम आयोजना गर्दै आफ्नो ७१औं  वार्षिकोत्सव मनाएको छ । हरेक वर्ष जुलाई १ मा मनाइने ‘यामाहा डे’ का अवसरमा कम्पनीले सातै प्रदेशमा ग्राहक, कर्मचारी, डिलर र समुदायलाई जोड्ने विविध कार्यक्रम सञ्चालन गरेको हो ।

वार्षिकोत्सवको सुरुवात देशभरका यामाहा शोरुम, डिलरशिप र कम्पनीका आउटलेटमा एकैसाथ केक काटेर गरिएको थियो । यस अवसरमा कम्पनीमा २० वर्षदेखि निरन्तर सेवा गर्दै आएका कर्मचारीलाई सम्मान गरिएको थियो भने १०० भन्दा बढी डिलर डिजिटल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए ।

ग्राहकका लागि विशेष अफरअन्तर्गत देशभरका सेवा केन्द्रमा लेबर चार्जमा २५ प्रतिशत छुट प्रदान गरिएको थियो । साथै ‘७ प्रदेश, ७ ग्राहक’ अभियानमार्फत प्रत्येक प्रदेशका एक/एक जना भाग्यशाली ग्राहकलाई सर्भिस चार्जमा शतप्रतिशत क्यासब्याक दिइएको कम्पनीले जनाएको छ । 

जुलाई १ मा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई विशेष वार्षिकोत्सव उपहारस्वरूप चकलेट पनि वितरण गरिएको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी, पोखरा, काठमाडौं, भरतपुर, बर्दिबास र इटहरीलगायत सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । 

अभियानबाट करिब ३५० युनिट रगत संकलन भएको कम्पनीले जनाएको छ । विराटनगरस्थित प्लान्टमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको थियो । यामाहा पर्साले खैरहनीस्थित श्री धर्मेश्वर आधारभूत विद्यालयका नर्सरीदेखि कक्षा ७ सम्म अध्ययनरत सात जना विपन्न विद्यार्थीको कक्षा १२ सम्मको अध्ययन खर्च व्यहोर्ने घोषणा गरेको छ । 

साथै, १६ देखि ४० वर्षसम्म यामाहा सवारी प्रयोग गरेका पुराना ग्राहक, १ लाखदेखि २ लाख किलोमिटरसम्म यात्रा गरेका राइडर, पूर्वी चितवनमा प्रि-ओन्ड सवारी व्यवसाय सुरु गर्ने उद्यमी तथा ३२ वर्षदेखि कार्यरत मेकानिकलाई पनि सम्मान गरिएको थियो ।

एमएडब्लू राइड्स प्रालिका प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले यामाहा नेपाल प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ४०० परिवारको रोजगारीसँग जोडिएको बताउँदै डिलर, कर्मचारी र ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे । 

समुदायसँगै अघि बढ्ने प्रतिबद्धताअनुसार ट्राफिक सचेतना, रक्तदान, वृक्षारोपण र परोपकारी अभियानलाई निरन्तरता दिइने उनले बताए ।

यस अवसरमा काठमाडौंमा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो भने ब्लू स्ट्रिक्स राइडिङ कम्युनिटीले बूढानीलकण्ठस्थित माउन्टेन चिल्ड्रेन्स होममा परोपकारी राइड आयोजना गरेको थियो ।

यामाहाका नेपालस्थित ब्रान्ड एम्बेसडर अनुप विक्रम शाही तथा कम्पनीका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले पनि ७१औं  वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

एमएडब्लू ग्रुपअन्तर्गत सञ्चालन हुँदै आएको यामाहा नेपालले जापानी प्रविधि, विश्वसनीयता र उत्कृष्ट बिक्रीपछिको सेवामार्फत नेपाली दुईपांग्रे सवारी बजारमा अग्रणी स्थान कायम राख्दै आएको जनाएको छ ।

Share News