काठमाडौं । राइड–हेलिङ प्लेटफर्म इनड्राइभ नेपालले चालक साझेदारको सीप, आत्मविश्वास र सडक सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सञ्चालनमा ल्याएको छ ।
कम्पनीका अनुसार मोबाइलबाटै सहज रूपमा अध्ययन गर्न मिल्ने गरी तयार गरिएको यो तालिमले चालक साझेदारलाई सुरक्षित यात्रा, सडक सुरक्षा तथा आपत्कालीन अवस्थाको व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नेछ । हाल कोर्स सञ्चालनमा आइसकेको र धेरै चालकले पूरा गरिसकेको कम्पनीले जनाएको छ । अब यो कार्यक्रम नेपालभर रहेका एक लाखभन्दा बढी इनड्राइभ चालक साझेदारसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ ।
करिब २० मिनेटमा पूरा गर्न सकिने यो कोर्स चालकहरूको व्यस्ततालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ ।
कोर्समा तीन मुख्य विषय समेटिएका छन् । पहिलोमा प्लेटफर्म सुरक्षा र व्यावसायिक आचरण, दोस्रोमा राइड–हेलिङ सेवासम्बन्धी सडक सुरक्षा र सुरक्षित ड्राइभिङ तथा तेस्रोमा आपत्कालीन अवस्था, रिपोर्टिङ र एसओएस सुविधाको प्रयोगबारे प्रशिक्षण दिइन्छ । प्रत्येक मोड्युलमा छोटो शैक्षिक भिडियो र मूल्यांकनका लागि प्रश्नहरू समावेश गरिएको छ ।
कम्पनीका अनुसार सबै मोड्युल सफलतापूर्वक पूरा गर्ने चालकले प्रमाणपत्र प्राप्त गर्नेछन्। पहिलो प्रयासमा उत्तीर्ण हुन नसके पनि पुनः परीक्षा दिन सकिने व्यवस्था गरिएको छ ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसालिस्ट सुनिता जिमी राईले चालकले एप प्रयोगमा मात्रै नभई सडकमा आउने हरेक परिस्थितिलाई सुरक्षित रूपमा सामना गर्न सकून् भन्ने उद्देश्यले कोर्स तयार गरिएको बताइन् । उनका अनुसार यो तालिम नियम पालना मात्र नभई चालक र यात्रु दुवैको सुरक्षाका लागि व्यावहारिक सीप विकासमा केन्द्रित छ ।
कम्पनीले यो पहलले चालकमा सुरक्षा सचेतना, जोखिम व्यवस्थापन क्षमता र कठिन परिस्थितिमा सही निर्णय गर्ने आत्मविश्वास बढाउने विश्वास व्यक्त गरेको छ ।