साउन २६ देखि ’नाइमा मोबिलिटी एक्स्पो’ : ५४ ब्रान्डका सवारीसाधन भृकुटीमण्डपमा उत्रिँदै

सबै स्टल बुक

काठमाडौं । सवारीसाधनका सौखिन र खरिदकर्ताहरूका लागि प्रतिक्षित ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ । 

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स  एसोसिएसन (नाइमा) ले आयोजना गर्ने यस मेलाले नेपाली अटोमोबाइल बजारलाई नयाँ गति दिने जनाएको छ । 

यस पटकको एक्स्पो गत वर्षको तुलनामा अझ बृहत् र व्यवस्थित हुने नाइमाले जानकारी दिएको छ । 

नाइमाका अनुसार एक्स्पोका लागि ५१ वटा स्टलहरू छुट्याइएकामा पूर्ण रूपमा बुक भइसकेका छन् । 

माग अत्यधिक भएका कारण केही ब्रान्डहरूलाई स्थान अभावका कारण पाइपलाइनमा राख्नुपरेको छ । 

मेलामा कुल ५४ वटा विभिन्न ब्रान्डका सवारीसाधनहरू प्रदर्शनीमा रहने नाइमाको भनाइ छ । यस वर्षको मेलामा पनि विद्युती सवारीसाधन (ईभी) को विशेष आकर्षण रहने बताइएको छ । 

नाइमाका अनुसार एक्स्पोमा प्रख्यात फोर-ह्विलर ब्रान्डहरू जस्तै टाटा, बीवाइडी, किया, टोयोटा, हुण्डाई, एमजी, निसान र हाभलका साथै ओमोडा, जेइकु, आयन, र भीजीभीजस्ता नयाँ ब्रान्डका पछिल्ला मोडलहरू प्रदर्शन गरिनेछ ।

दुईपाङ्ग्रेतर्फ पनि इलेक्ट्रिक स्कुटर र बाइकहरूको ठूलो उपस्थिति रहनेछ । प्युजो, एनआईयु, याडिया, एसर र ग्यारो जस्ता इलेक्ट्रिक ब्रान्डका साथै बजाज, टीभीएस, केटीएम र ट्रायम्फ जस्ता स्थापित ब्रान्डहरूले पनि आफ्ना नयाँ उत्पादनहरू मेलामा राख्ने नाइमाले जनाएको छ । 

व्यावसायिक सवारीसाधनतर्फ स्काईवेल र जितानजस्ता ब्रान्डका ईभी भ्यानहरूको सहभागिता रहने आयोजक नाइमाले जनाएको छ । 

एक्स्पोको अर्को मुख्य आकर्षण भनेको नयाँ सवारीसाधनहरूको सार्वजनिक कार्यक्रम हो । धेरै कम्पनीहरूले आफ्ना नयाँ ब्रान्ड र मोडलहरू मेलाकै अवसर पारेर पहिलो पटक नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।  

विशेष गरी लक्ष्मी ग्रुप, एडभान्स अटोमोबाइल, सिप्रदी ट्रेडिङ र जगदम्बाजस्ता ठूला घरानाहरूले नयाँ ब्रान्डहरू एक्स्पोमार्फत भित्र्याउँदैछन् ।

अवलोकनकर्ताहरूको सुविधा र अनुभवलाई मध्यनजर गर्दै यस पटक भिजिटर अनुभव एक्स्पोलाई अझ उत्कृष्ट बनाउने लक्ष्य नाइमाले लिएको छ । 

मेलामा सवारीसाधनका अतिरिक्त बैंक तथा वित्तीय संस्थाहरू, लुब्रिकेन्ट्स, टायर, ब्याट्री र पार्टपुर्जाहरूका स्टलहरू पनि रहनेछन्, जसले गर्दा खरिदकर्ताले एकै स्थानबाट कर्जा सुविधा र अन्य प्राविधिक जानकारी प्राप्त गर्न सक्नेछन् । 

बजारमा आएको आर्थिक शिथिलताका बीच आयोजना हुन लागेको यो एक्स्पोले सवारीसाधनको खरिद-बिक्रीमा सकारात्मक प्रभाव पार्ने र अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । मेला ६ दिनसम्म चल्नेछ भने यो मेला नाइमाको दोस्रो संस्करण हो । 

Share News