३० दिनभित्र दर्ता गर्न सरकारको राइड सेयरिङलाई निर्देशन

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवा दर्ता गर्न निर्देशन दिएको छ । गण्डकी सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका राइड सेयरिङ सेवा प्रदायक कम्पनी, संस्था, व्यक्ति तथा प्लेटफर्मलाई ३० दिनभित्र दर्ता इजाजतपत्र लिन निर्देशन दिएको हो । 

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) (दोस्रो संशोधन) नियमावली, २०८२ अनुसार प्रदेशभित्र राइड सेयरिङ सेवा सञ्चालन गर्न इच्छुक सेवा प्रदायकले अनिवार्य रूपमा दर्ता इजाजतपत्र प्राप्त गर्नुपर्ने जनाएको हो ।

मन्त्रालयका अनुसार हालसम्म दर्ता इजाजतपत्र नलिई सेवा सञ्चालन गरिरहेका कम्पनी, संस्था, व्यक्ति तथा प्लेटफर्मले ३० दिनभित्र सम्बन्धित कार्यालयमा आवश्यक कागजातसहित दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । तोकिएको समयभित्र दर्ता नगरी सेवा सञ्चालन गरेको पाइएमा नियमावलीको नियम (३) तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही र जरिवाना गरिने मन्त्रालयले जनाएको छ ।

Share News