काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटरक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई-टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ । बुकिङ भएका सवारीमध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सन रहेका छन् ।
कम्पनीले तीन साताअघि मात्रै नेपाली बजारमा सार्वजनिक गरेको ई-टेरेन कम्फर्ट भर्सनको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो । नाइमा मोबिलिटी एक्सपोमा कम्पनीले उक्त मोडलमा २ लाख रुपैयाँ छुट उपलब्ध गराएको थियो । त्यस्तै, १ करोड २८ लाख रुपैयाँ मूल्य रहेको प्रिमियम भर्सनमा ५ लाख रुपैयाँ छुटको व्यवस्था गरिएको थियो ।
उक्त छुट सुविधा एक्सपो अवधिका लागि मात्र तय गरिएको भए पनि एक्सपोपछि पनि केही दिन अफर कायम राख्न ग्राहकबाट अनुरोध आएपछि कम्पनीले भदौ १५ गतेसम्म छुट सुविधा निरन्तरता दिने निर्णय गरेको कम्पनीले जनाएको छ । अफरअन्तर्गत म्याक्सस ई-टेरेन पिकअप बुकिङ गर्न इच्छुक ग्राहकले काठमाडौंको हात्तीसारस्थित म्याक्ससको सोरुममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।
‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारासहित बिक्री सुरु गरिएको म्याक्सस ई-टेरेन पिकअप छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । विशेषगरी युवा पुस्ता, कच्ची सडकमा नियमित यात्रा गर्ने तथा क्याम्पिङमा रुचि राख्ने ग्राहकले यो पिकअपलाई रुचाएको कम्पनीले जनाएको छ ।
आकर्षक तथा आक्रामक डिजाइन, सुविधासम्पन्न कारमा उपलब्ध हुने फिचर र व्यावसायिक तथा निजी दुवै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले ई-टेरेनप्रति ग्राहकको आकर्षण बढेको कम्पनीको भनाइ छ । उच्च ग्राउन्ड क्लियरेन्सका कारण निर्माण तथा जलविद्युत् आयोजनाका क्षेत्रमा काम गर्ने व्यवसायीका लागि समेत यो विद्युतीय पिकअप उपयोगी र किफायती हुने कम्पनीले जनाएको छ ।
म्याक्सस ई-टेरेन चीनको प्रसिद्ध सवारीसाधन निर्माता कम्पनी एसएआईसीअन्तर्गतको म्याक्सस ब्रान्डले उत्पादन गरेको हो । उत्पादन कम्पनीको अन्तर्राष्ट्रिय विश्वसनीयतासँगै नेपालमा हिमालय मोटरक्सले बिक्रीपछिको सेवा, स्पेयर पाट्र्स तथा सर्भिस सुविधा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले ग्राहकको विश्वास बढेको कम्पनीको दाबी छ ।