आईसीई गाडीलाई ईभीमा रूपान्तरण : निजीलाई महँगो, साझालाई ‘वरदान’
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने (आईसीई) सवारी साधनलाई विद्युतीय सवारी (ईभी) मा रूपान्तरण गर्ने निर्णय गरेसँगै अटो बजारमा नयाँ बहस सुरु भएको छ । सरकारको यो कदमलाई वातावरणमैत्री र नीतिगत रूपमा सकारात्मक भने पनि निजी क्षेत्रले भने यसको कार्यान्वयन पक्ष खर्चिलो र चुनौतीपूर्ण रहेको बताएको छ । अहिले सरकार यसको मापदण्ड बनाउनमा जुटिरहँदा निजी क्षेत्र भने यो प्रक्रिया लामो र महँगो भएको बताइरहेको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यका अनुसार सरकारको यो निर्णय व्यवसायीका लागि सकारात्मक नै भए पनि महँगो र बढी झन्झटिलो छ । ‘थाइल्याण्डको अनुभव हेर्दा व्यक्तिगत रूपमा गाडीलाई ईभीमा बदल्नु अत्यन्तै महँगो देखिन्छ,’ अध्यक्ष वैद्यले भनिन्, ‘सामान्य उपभोक्ताले आफ्नै खर्चमा रूपान्तरण गर्ने सम्भावना कम छ । तर, सरकारले सार्वजनिक बस जस्ता ‘फ्लिट’ हरूमा सतप्रतिशत अनुदान दिएर रूपान्तरण गर्ने हो भने यो सफल हुनसक्छ ।’ उनका अनुसार सरकारले नीतिगत उपकरण प्रयोग गरेर छोटो समयमै ईभीमा आकर्षण बढाउन सक्छ । तर, त्यसका लागि सहुलियत र अनुदान आवश्यक पर्छ । टोयोटाको सेल्स विभागमा कार्यरत प्रवेश पौडेल पनि आइसीई गाडीलाई ईभीमा लैजाने विषय प्राविधिक र आर्थिक दुवै हिसाबले कठिन रहेको तर्क गर्छन् । रूपान्तरणका लागि आवश्यक सामग्रीको लागत उच्च हुनुका साथै यसमा समय पनि धेरै खर्च हुने उनको बुझाइ छ । ‘पुरानो गाडीलाई ईभीमा लैजाँदा त्यसका मेकानिकल पार्टपुर्जाहरू कमजोर हुँदै जान्छन्,’ पौडेलले भने, ‘गाडी जति पुरानो हुन्छ, त्यसको संरचनाले ईभीको भार र प्रविधिलाई थाम्न सक्ने क्षमता त्यति नै कम हुँदै जान्छ ।’ यस्तै, फोर्ड गाडीको आधिकारिक वितरक गोल्छा अर्गनाईजेसन अन्तर्गतको जीओ–फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाले पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरूलाई ईभीमा रूपान्तरण गर्ने प्रक्रिया निकै चुनौतीपूर्ण र प्राविधिक रूपमा जटिल रहेको बताए । गोल्छाले ईभी कन्भर्सन अर्थात् रूपान्तरण केवल इन्जिन झिकेर ब्याट्री र मोटर राख्नु मात्र नभएको स्पष्ट पारे । गोल्छाका अनुसार अहिलेका आधुनिक ईभी गाडीहरू केवल विद्युतीय मात्र नभई हाई–टेक पनि हुन्छन् । उनले पुराना गाडीलाई ईभीमा बदल्दा सुरक्षा र प्रविधिका पाटाहरूमा समस्या आउन सक्ने औंल्याए । ‘अहिलेका नयाँ गाडीहरूमा एबीएस। एयरब्याग र इलेक्ट्रोनिक पावर स्टेयरिङ जस्ता सुविधाहरू हुन्छन्, जसलाई गाडीको ईसीयूले नियन्त्रण गरेको हुन्छ,’ उनले भने, ‘पुराना गाडी कन्भर्ट गर्दा यी सबै अत्याधुनिक प्रणालीहरूलाई कसरी एकीकृत गर्ने भन्ने कुरा निकै जटिल हुन्छ ।’ उनले पुराना र साधारण गाडीहरूलाई ईभीमा बदल्न सकिने भए पनि त्यसको बजार सीमित हुने बताए । लागतको बारेमा बताउँदै गोल्छाले ब्याट्रीको साइज, मोटरको क्षमता र ब्राण्डअनुसार खर्च फरक पर्ने र यो काम सोचे जस्तो सजिलो नभएको बताए । उनले चार पाँग्रे गाडीको मात्र चर्चा हुने गरेकोमा प्रश्न उठाउँदै बाइक अर्थात् दुई पाँग्रेलाई ईभीमा रूपान्तरण गर्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखे । गोल्छाका अनुसार बाइकमा एयरब्याग र जटिल इलेक्ट्रोनिक प्रणालीहरू नहुने भएकाले यसलाई ईभीमा बदल्न गाडीको तुलनामा धेरै सजिलो र व्यावहारिक हुन्छ । ‘सबैले गाडीको मात्र कुरा गर्छन्, बाइकको किन गर्दैनन् ?’ उनले प्रश्न गरे, ‘बाइक कन्भर्ट गर्न सजिलो छ, यसमा धेरै जटिल प्रविधि पनि हुँदैन । त्यसैले बाइकको कन्भर्सनलाई पनि विकल्पको रूपमा हेरिनुपर्छ । ’ तर, साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्याल भने यो प्रक्रिया सजिलो भएको बताउँछन् । उनले पुराना डिजेल इन्जिन भएका बसहरूलाई विद्युतीय (ईभी) मा रूपान्तरण गर्नु नयाँ गाडी किन्नुभन्दा निकै सस्तो र प्रभावकारी हुने बताए । अर्यालले नयाँ विद्युतीय बसको मूल्यको तुलनामा पुराना गाडीलाई कन्भर्ट गर्दा राज्य र व्यवसायी दुवैलाई फाइदा पुग्ने उल्लेख गरे । अर्यालका अनुसार सुरुवाती चरणमा साझाको एउटा बसलाई विद्युतीयमा रूपान्तरण गर्न ब्याट्री र कन्भर्जन किटसहित ६५ लाख रुपैयाँसम्म खर्च भएको थियो । तर, अहिले प्रविधिमा भएको विकास र सरकारले घोषणा गरेको सहुलियतपूर्ण कर नीतिका कारण यो लागत घटेर ४० देखि ५० लाखको हाराहारीमा झर्ने उनको अनुमान छ । सरकारले हालै कन्भर्जन किटमा कर घटाएर १ प्रतिशत मात्र कायम गर्ने निर्णय गरेपछि यसको लागत थप घट्ने देखिएको हो । हाल बजारमा एउटा नयाँ स्तरीय विद्युतीय बस खरिद गर्न डेढ करोडदेखि दुई करोड रुपैयाँसम्म खर्चनुपर्छ । अर्याल भन्छन्, ‘नयाँ गाडी किन्नुभन्दा पुरानालाई कन्भर्ट गर्दा त्यही मूल्यमा तीनवटा बसलाई विद्युतीय बनाउन सकिन्छ । यो लगानीका हिसाबले अत्यन्तै किफायती छ । ’ १४/१५ वर्ष पुराना बसहरू, जसको आयु ९० प्रतिशत सकिइसकेको हुन्छ र कबाडीमा जाने अवस्थामा हुन्छन्, त्यस्ता गाडीलाई कन्भर्ट गर्दा थप १० वर्ष आयु बढ्ने अर्यालले जानकारी दिए । ‘शून्य मूल्यमा पुग्न लागेका र कबाडीमा फालिने तयारीमा रहेका गाडीले विद्युतीय रूपान्तरणपछि पुनर्जीवन पाउँछन्, जसले राष्ट्रिय सम्पत्तिको रक्षा गर्छ,’ उनले भने । इन्धनको मूल्य लगातार बढिरहेको वर्तमान अवस्थामा विद्युतीय गाडी सञ्चालन गर्नुको विकल्प नरहेको उनको तर्क छ । डिजेल गाडीको तुलनामा विद्युतीय गाडीको माइलेज र दक्षता बढी हुने भएकाले सञ्चालन खर्च घट्ने र यसले यातायात व्यवसायीलाई मात्र नभई आम जनतालाई पनि सेवा शुल्कमा राहत पुग्ने अर्यालले बताए । सरकारले अहिले हाइब्रिड र फूल इभीको मोडालिटी तयार पारिरहेको जानकारी दिँदै अर्यालले राष्ट्रिय नीति स्पष्ट हुनुपर्नेमा जोड दिए । उनले भने, ‘विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सरकारले कर नीति, सहुलियत र वित्तीय संस्थाहरूसँगको सहकार्यमा ठोस योजना ल्याउनुपर्छ । ’ साझा यातायातले अहिले पुराना बसलाई पूर्ण रूपमा विद्युतीय (ईभी) बनाउने प्रक्रियालाई प्राथमिकता दिइरहेको र यसले नेपालको सार्वजनिक यातायात क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास सीईओ अर्यालले व्यक्त गरे । साझा यातायातले यसअघि नै १४ वर्षको पुरानो आईसीई गाडीलाई ईभीमा रुपान्तरण गरिसकेको छ । सरकारले यसको मापदण्ड बनाइसकेपछि परीक्षण गरिने साझाले जानकारी दिएको छ ।
यामाहाको ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तिम चरणमा, ५ लाखका विजेता घोषणा
काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एम.ए.डब्लू. राइड्स प्रा. लि. मार्फत भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘यामाहा ब्लु फेस्ट’ अन्तिम दिनमा प्रवेश गरेको छ । यसैक्रममा ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत एक जना बम्पर विजेताको घोषणा गरिएको छ । भ्याली रोड मोटर्स प्रा. लि. मार्फत फाइनान्स तथा एक्सचेन्ज योजना अन्तर्गत मोटरसाइकल खरिद गरेका उमेश थापा मगरले ५ लाख रुपैयाँ नगद बम्पर पुरस्कार जितेका छन् । उक्त घोषणाले कार्यक्रममा थप उत्साह थप्नुका साथै ग्राहकलाई समापनअघि उपलब्ध विशेष अफरहरूको लाभ लिन प्रेरित गरेको कम्पनीले जनाएको छ । कार्यक्रम सुरु भएयता ब्लु फेस्टमा मोटरसाइकल पारखी, परिवार तथा सम्भावित खरिदकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ । आगन्तुकहरूले यामाहाका उन्नत हाई–टेक मोटरसाइकल तथा स्कुटरहरूको अवलोकन गर्दै उत्साहपूर्ण वातावरणको अनुभव गरेका छन् । अन्य विजेतामा नविना शर्माले १ लाख रुपैयाँ, अरविन्द गुप्ताले ५५ हजार रुपैयाँ र आवाश चौधरीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसका साथै अन्य धेरै ग्राहकले पनि विभिन्न आकर्षक उपहार जितेका छन् । समापनको दिन नजिकिँदै गर्दा पनि ब्लु फेस्टले ग्राहकहरूका लागि आकर्षक सुविधा प्रदान गरिरहेको छ । खरिदकर्ताले ५ लाख रुपैयाँसम्म क्यासब्याक, अधिकतम ४० महिनासम्मको सहज ईएमआई सुविधा तथा अन–द–स्पट फाइनान्सिङ सेवा लिन सक्नेछन् । साथै, ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितामा सञ्चालन भइरहेको एक्सचेन्ज कार्निभलले पुराना मोटरसाइकलको प्रतिस्पर्धात्मक तथा पारदर्शी मूल्याङ्कनका कारण विशेष आकर्षण बनेको छ । कार्यक्रममा राइडर तथा कन्टेन्ट क्रिएटरहरूसँग भेटघाट, कोसप्ले प्रदर्शन तथा विभिन्न गिभअवे गतिविधिहरूले मेलालाई अझ जीवन्त बनाएको छ । एम.ए.डब्लू. राइड्सका सीईओ दीपक अग्रवालले ब्लु फेस्टप्रति प्राप्त सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताउँदै अन्तिम दिनमा उपस्थित भई विशेष अफरको लाभ लिन सबैलाई आग्रह गरेका छन् ।
ईभीको लहरमा हाइब्रिडको चर्चा, टोयोटाले सिकायो आधुनिक गाडीको मेकानिजम
काठमाडौं । टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट र नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसियन (नाइमा) को सहकार्यमा आयोजित एकदिने ‘हाइब्रिड मेकानिजम तालिम’ सम्पन्न भएको छ । तालिम सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई प्रविधि र प्रयोगात्मक अभ्यासले गाडीको मेकानिजम बुझ्न निकै सहज बनाएको सहभागीहरू बताउँछन् । नेपालमा ईभीको चर्चा चुलिइरहेका बेला हाइब्रिड प्रविधिको सान्दर्भिकता अझ बढेको प्रशिक्षक प्रवेश पौडेल बताउँछन् । उनका अनसार नेपालजस्तो तराई, पहाड र हिमाल भएको देशमा जहाँ अझै चार्जिङ पूर्वाधारको कमी छ, त्यहाँ इन्धन र बिजुली दुवैबाट चल्ने हाइब्रिड गाडीहरू निकै प्रभावकारी हुन्छन् । कार्यक्रममा बोल्दै नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले तालिमले सहभागीहरूलाई आधुनिक सवारी प्रविधि बुझ्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले भर्खरै इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पस र सिटिइभिटीसँग पनि सहकार्य अगाडि बढाएका छौं । हाइब्रिड ब्याट्री सिस्टम वा अन्य प्राविधिक विषयमा विशेषज्ञता हासिल गर्न चाहनेहरूलाई नाइमाले सधैं सहयोग गर्नेछ ।’ यसैगरी, बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका अटोमोबाइल विभागका प्रशिक्षक कुमार बहादुर मिजारले विद्यार्थीहरूका लागि सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नभएको र बजारको माग अनुसार प्रयोगात्मक अभ्यासमा जोड दिनुपर्ने बताए । मिजारका अनुसार हालको पाठ्यक्रममा हाइब्रिड र आधुनिक सवारी प्रविधि समावेश भए तापनि पर्याप्त उपकरण र व्यवस्थित ल्याबको अभावमा विद्यार्थीहरूले केवल सैद्धान्तिक ज्ञानमा मात्र चित्त बुझाउनु परेको छ । ‘हाम्रा विद्यार्थीहरूले अहिलेसम्म केवल किताबमा पढेर मात्र सिकिरहेका थिए,’ उनले भने, ‘अहिले आएर थोरै भए पनि प्रयोगात्मक र ल्याबको कुरा आउनु सकारात्मक छ ।’ कलेजसँग भएको सीमित स्रोत र साधनका कारण अत्याधुनिक प्रविधिसँग विद्यार्थीलाई साक्षात्कार गराउन चुनौतीपूर्ण रहेको उनले स्वीकार गरे । विद्युतीय सवारी साधनलाई सरकारले प्राथमिकता दिए पनि नेपालको भौगोलिक अवस्था र पूर्वाधारका कारण हाइब्रिड गाडीको भविष्य उज्ज्वल रहेको मिजारको तर्क छ । नेपालका सडक र भौगोलिक बनावट अनिश्चित रहेको अवस्थामा हाइब्रिड प्रविधि भरपर्दो विकल्प हुन सक्ने उनले बताए । उनले भने, ‘दुर्गम क्षेत्रमा जाँदा चार्जिङ स्टेसनको अभाव हुन सक्छ, यस्तोमा इन्धन र बिजुली दुवैबाट चल्ने हाइब्रिड गाडीले यात्रा सहज बनाउँछ। यो प्रविधि सुरुमा केही खर्चिलो देखिए पनि नेपाली बजारका लागि यो विलासी र व्यावहारिक दुवै छ ।’ पाठ्यक्रममा हाइब्रिड प्रविधि समावेश भए पनि पर्याप्त ल्याब र उपकरणको अभावमा विद्यार्थीहरूले केवल सैद्धान्तिक ज्ञान मात्र पाइरहेको अवस्थामा यो तालिम निकै फलदायी भएको उनले बताए । बालाजु स्कुल अफ इन्जिनियरिङका विद्यार्थीहरू र प्रशिक्षिका सम्झना ज्याख्वका अनुसार ईभीमा मात्र मानिसको रुचि भइरहेका बेला हाइब्रिडको वर्किङ प्रिन्सिपल बुझ्न पाउनु विद्यार्थीहरूका लागि नयाँ अनुभव हो । प्रशिक्षिका ज्याख्वले हाइब्रिड गाडीबारे रहेका भ्रमहरू चिर्न यो सेसन सफल भएको बताइन् । उनले आगामी दिनमा विद्यार्थीहरूका लागि थप प्रयोगात्मक र इन्टर्नसिपका अवसरहरू हुनुपर्नेमा जोड दिइन् । ज्याख्वले अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे विद्यार्थीहरूमा निकै उत्साह देखिए पनि प्रयोगात्मक अभ्यासको कमी रहेको बताइन् । उनले पाठ्यक्रममा नभएका तर बजारमा चल्तीमा रहेका प्रविधिबारे विद्यार्थीहरूलाई थप जानकारी आवश्यक रहेको उल्लेख गरिन् । ज्याख्वका अनुसार धेरैमा हाइब्रिड सवारी साधन भनेको पूर्ण इलेक्ट्रिक मात्र हो वा स्विच गर्न मिल्ने प्रविधि मात्र हो भन्ने भ्रम रहेको थियो । ‘विद्यार्थीहरूको पाठ्यक्रममा नभए पनि यो सेसनले हाइब्रिड र प्लग-इन हाइब्रिडको कार्यप्रणाली बुझ्न ठूलो मद्दत पुर्याएको छ,’ उनले भनिन् ,‘हाल बजारमा इलेक्ट्रिक भेहिकल (ईभी) को लहर चलेकाले विद्यार्थीहरू पनि ईभी र प्लग(इन प्रविधि सिक्न बढी इच्छुक देखिएका छन् ।’ नेपालको इन्जिनियरिङ शिक्षा अझै पनि बढी सैद्धान्तिक रहेकोमा चिन्ता व्यक्त गर्दै ज्याख्वले नाइमा जस्ता संस्थाहरूले प्रयोगात्मक तालिममा लगानी गर्नुपर्ने सुझाव दिइन् । उनले भनिन्,’हामीले ट्रेनिङमा थ्यौरी बढी पायौँ । विद्यार्थीहरूलाई सवारी साधनमै लगेर प्रत्यक्ष अभ्यास गराउनु अझ प्रभावकारी हुन्छ। थोरै-थोरै समूह बनाएर भए पनि प्रत्येक विद्यार्थीले आफैँले काम गरेर सिक्ने र इन्टर्नसिपको अवसर पाउने वातावरण बनाउनुपर्छ ।’ यस्तै, तालिममा सहभागी विद्यार्थीहरू हिमचन्द्र लिम्बु र रमेश यादवले हाइब्रिड र ईभी प्रविधिको भिन्नता, सुरक्षा सावधानी र कार्यप्रणालीबारे महत्वपूर्ण कुराहरू सिकेको बताए । उनीहरूका अनुसार नेपालको भौगोलिक अवस्था र चार्जिङ पूर्वाधारको सीमितताका बीच ग्रामीण क्षेत्रका लागि हाइब्रिड र सहरी क्षेत्रका लागि ईभी दुवैको सम्भावना उत्तिकै बलियो छ । सडकमा चौबीसै घण्टा खटिने ट्राफिक प्रहरीहरूका लागि नयाँ प्रविधिका गाडीहरू कहिलेकाहीँ चुनौती बनिदिन्छन् । सडकमा गाडी बिग्रिँदा वा दुर्घटना हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञानको अभावमा उनीहरूले समस्या भोग्नुपथ्र्यो । तर, यो तालिमपछि उनीहरूको आत्मविश्वास बढेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका हवल्दार सुदर्शन अर्याल र सहायक निरीक्षक कुमार बलले नयाँ प्रविधिका गाडीहरू सडकमा बिग्रिँदा वा दुर्घटना हुँदा कसरी सुरक्षित रूपमा व्यवस्थापन गर्ने भन्ने ज्ञानको अभाव रहेकोमा अब आत्मविश्वास बढेको बताए । ‘हामीलाई बर्दीमा देखेपछि सर्वसाधारणले सबै कुरा जान्दछ भन्ने सोच्छन् । यस्ता तालिमले हामीलाई आधुनिक गाडीहरू सुरक्षित स्थानसम्म पुर्याउन र ट्राफिक जाम खुलाउन प्राविधिक रूपमा सक्षम बनाएको छ,’ अर्यालले भने । कार्यक्रममा वैद्य अर्गनाइजेशन अफ इन्ड्रष्टिज अफ ट्रेडिङ हाउसेसका निर्देशक सूर्यांश वैद्यले यस्ता तालिमले पेशागत विकास र नवप्रवर्तनमा टेवा पुर्याउने बताए । हाइब्रिड सवारीलाई उन्नत प्रविधिका रूपमा उल्लेख गर्दै यससम्बन्धी सीप विकास आवश्यक रहेको उनको भनाइ थियो । सहभागीहरूलाई हाइब्रिड सवारीसाधनको कार्यप्रणाली, सुरक्षा मापदण्ड तथा मर्मतसम्भारसम्बन्धी सैद्धान्तिक तथा प्रायोगिक तालिम प्रदान गरिएको थियो । कार्यक्रममा बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू, ट्राफिक चालक तथा अन्य प्राविधिक गरी २५ भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो । नाइमाले आगामी दिनमा पनि यस्ता सीपमूलक र प्रविधिमा आधारित तालिमहरूलाई निरन्तरता दिने र सरकारी तथा निजी क्षेत्रसँग समन्वय गरी अटोमोबाइल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।