ओमोडा एन्ड जेइकोको ‘मनसुन चेक-अप क्याम्प’ देशभर सञ्चालन गर्ने, गाडी सर्भिसिङमा छुट
काठमाडौं । ओमोडा एन्ड जेइकोका नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा ‘मनसुन चेक–अप क्याम्प’ सञ्चालन गर्ने भएको छ । असार २५ देखि २७ गतेसम्म सञ्चालन हुने यो क्याम्पमा ग्राहकले मनसुनको मौसमका लागि गाडी तयार पार्न विभिन्न सेवा र छुटको सुविधा लिन सक्नेछन् । कम्पनीका अनुसार ब्रेक प्याड र सर्भिसिङमा शतप्रतिशत लेबर चार्ज छुट, टप वासमा शतप्रतिशत छुट, सस्पेन्सन पार्ट्स रिप्लेसमेन्टमा ५० प्रतिशत छुट, साथै बडी सप जब र स्पेयर पार्ट्समा १० प्रतिशत छुट उपलब्ध हुनेछ। ग्राहकहरूलाई आफु नजिकै गुणस्तरीय र आधिकारिक सेवा प्राप्त गर्न सहज बनाउँदै, मनसुन चेक-अप क्याम्प, ओमोडा एन्ड जेइकोको देशव्यापी रहेका विभिन्न आधिकारिक सर्भिस सेन्टरमा एकै साथ सञ्चालन हुनेछ । देशभर विभिन्न १२ वटा सर्भिस सेन्टरमा चेक-अप क्याम्प आयोजना हुँदैछ । काठमाडौं उपत्यकाभित्र सीतापाइला (एसपीजी अटोमोबाइल्स) र भक्तपुर (परिवार कार क्लिनिक) तथा उपत्यका बाहिर वीरगंज (दर्शी अटोमोबाइल्स), बुटवल (सिद्धि विनायक मोटर्स), नेपालगञ्ज (देवमंगल इन्जिनियरिङ) र चितवन (युनाइटेड अटो कन्सर्न), धनगढी (नवदुर्गा टेक्नोलोजी), पोखरा (एलिट मोटर्स), इटहरी (पाथीभरा अटो), विर्तामोड (ओपी इन्टरनेसनल), दाङ (एनएल मोटो कर्प), र सुर्खेत (बुटवल भेराइटी) मा मनसुन चेक-अप क्याम्प सञ्चालन हुँदैछ । एसपीजी अटोमोबाइल्सले ग्राहकहरूलाई आफू नजिकैको ओमोडा एन्ड जेइकोको आधिकारिक सेवा केन्द्रमा गई मनसुन चेक-अप क्याम्पमा उपलब्ध विभिन्न छुटहरूको लाभ उठाई आफ्नो सवारी साधन मनसुनका यात्राहरूका लागि तयार पार्न आह्वान गरेकाे छ ।
काठमाडौंमा १०० ठूला विद्युतीय बस थपिँदै, चार्जिङ स्टेसनका लागि जग्गा खोज्दै
काठमाडौं । काठमाडौं उपत्यकामा थप एक सय स्मार्ट विद्युतीय बस सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन र अन्य प्राविधिक पक्षका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल भएको छ । छलफलमा साझा यातायातका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले नेपाल सरकारको सहजीकरणबाट निकट भविष्यमा उपलब्ध हुने विद्युतीय सवारी साधनको सञ्चालन र व्यवस्थापनका विविध आयाम माथि प्रस्तुतीकरण दिए । सो क्रममा विद्युतीय सवारीको दिगो व्यवस्थापन र प्रयोगका सन्दर्भमा साझा यातायातलाई विद्युतीय सवारी सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा व्यवस्थापन मुख्य समस्याको रुपमा रहेको उल्लेख गरिएकाे छ । छलफलका क्रममा नयाँ विद्युतीय बसहरू सञ्चालनका लागि आवश्यक पार्किङ तथा होल्डिङ सेन्टर, चार्जिङ स्टेसन, मर्मत केन्द्र तथा स्पेयर्स पार्टस्लगायतका विषयमा चर्चा भएको प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव विनोद बहादुर कुँवरले जानकारी दिए । साझा यातायातलाई आवश्यक जग्गाको खोजी र आवश्यक सहजीकरणको लागि प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सहसचिव नमराज घिमिरेलाई अन्तर निकाय सहजीकरण र जग्गा यकिन गर्न काम गर्ने गरी तोक्ने निर्णय गरेको छ । उपत्यकाभित्र प्राप्त हुन सक्ने विभिन्न जग्गाका विषयमा व्यापक छलफल गरेको बैठकले त्यस्तो जग्गा प्राप्तिका लागि सम्बन्धित निकायसँग आवश्यक सहजीकरण गर्न सचिव श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । काठमाडौं उपत्यकाको बढ्दो सार्वजनिक यातायातको चापलाई न्यूनीकरण गर्ने तथा विकसित शहरी यातायात प्रणालीसमेत अवलम्बन गर्ने मुख्य ध्येयसहित सरकारले केही महिनाभित्रै काठमाडौं उपत्यकामा थप १०० वटा ठूला यात्रुवाहक बस सञ्चालनको गृहकार्य गरेको हो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक, विकास सल्लाहकार डा युवराज खतिवडा, जनसम्पर्क सल्लाहकार किरण पौडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा, यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेललगायत सहभागी थिए ।
अटो हब थापाथलीमा जगदम्बा मोटर्सकाे अत्याधुनिक शोरुम, थप १५ ठाउँमा खोल्दै
काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले काठमाडौंको अटोमोबाइल हब मानिने थापाथलीमा आफ्नो नयाँ अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमबीच कम्पनीले आफ्नो इलेक्ट्रिक गाडी ‘प्रोटोन ईमास ७’ को नयाँ शोरुम उद्घाटन गरेको हो । कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ता, वरिष्ठ उपाध्यक्ष राजु भेटवाल, चर्चित गायिका तथा अभिनेत्री केकी अधिकारी र गायक तथा संगीतकार बृजेश श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर तथा पानसमा बत्ती बालेर शोरुमको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले थापाथली जस्तो प्रमुख व्यापारिक केन्द्रमा शोरुम स्थापना गर्न पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए । उनले प्रोटोन ईमास-७ मलेसिया र चीनमा आफ्नो सेगमेन्टमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक गाडी रहेको जानकारी दिँदै यसको सफलता विश्वव्यापी रहेको उल्लेख गरे । गुप्ताले भने, ‘हामीले सन् २०२५ भित्र नक्साल र थापाथलीसहित नेपालभर १५ वटा नयाँ शोरुम खोल्ने योजना बनाएका छौँ । केही महिनाभित्रै हाम्रो सञ्जाल देशभर फैलनेछ ।’ कम्पनीका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले नेपालको अटोमोबाइल बजार अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘यो कठिन बजारमा ग्राहकलाई उत्कृष्ट सेवा दिन हामीले ‘कम्पनी आफैंले स्वामित्व लिई सञ्चालन गर्ने’ योजना बनाएका छौं ।’ उनले आगामी महिनाहरूमा भक्तपुर, पोखरा, नारायणघाट र नेपालगञ्जमा पनि थ्रीएस (३ एस) सुविधासहितका शोरुमहरू खोल्ने तयारी भइरहेको जानकारी दिए । कार्यक्रममा चर्चित अभिनेत्री केकी अधिकारीले प्रोटोन ईमास ७ गाडी खरिद गरेकी छन् । उनलाई कार्यकारी निर्देशक गुप्ता र वरिष्ठ उपाध्यक्ष बेटवालले गाडीको हस्तान्तरण गरे । गाडी बुझ्दै अभिनेत्री अधिकारीले गाडीको क्लासिक डिजाइन, आरामदायी भित्री भाग र शंकर ग्रुप जस्तो विश्वसनीय संस्थासँग जोडिएको ब्रान्ड भएकाले आफूले प्रोटोन रोजेको बताइन् । उनले भनिन्, ‘आज तुलसी एकादशीको शुभ दिनमा मैले यो गाडी पाएकी छु । यो गाडीको बनावट र विशेषताहरूले मलाई पहिलो नजरमै आकर्षित गर्यो । मलाई विश्वास छ, यसले मेरो यात्रालाई अझ सहज र सुखद बनाउनेछ । ’ कार्यक्रममा गायक तथा संगीतकार बृजेश श्रेष्ठले आफुले पहिलेदेखि नै प्रोटोन ईमास ७ को गाडी चलाइरहेको अनुभव सुनाए । उनले प्रोटोन ईमास ७ निकै सुरक्षा र यात्राका लागि भरपर्दो भएको दाबी गरे । उनले भने, ‘यो गाडीको फाइभ-स्टार सुरक्षा रेटिङ र लामो यात्राका लागि उपयुक्त हुनु मेरो पहिलो प्राथमिकता हो । मेरो परिवार पनि यो गाडीबाट अत्यन्तै खुसी छ । यसको पफर्मेन्स र आरामले म पूर्ण रूपमा सन्तुष्ट छु । ’ प्रोटोन सन् १९८३ मा मलेसियाको पहिलो राष्ट्रिय कारको रूपमा स्थापना भएको र सन् २०१७ मा चिनियाँ अटोमोबाइल ’जिली’ सँगको साझेदारीपछि प्रविधि र नवीनतामा ठूलो फड्को मारेको उनले बताइन् । ईमास ७ मा १६० किलोवाटको शक्तिशाली मोटर, द्रुत गतिको चार्जिङ क्षमता भएको ब्लेड ब्याट्री र सुरक्षाका लागि ’ सेल-टु-बडी’ जस्ता अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ । यो मलेसियाको ब्राण्ड हो । दक्षिण एशियासहितका राइट ह्याण्ड ड्राइभ भएका देशमा प्रोटोन इमास-७ उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो दुई ब्याट्री अप्सनमा छ भने प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । दुबै भेरियन्टमा फ्रन्ट ह्वील ड्राइभ १६० किलोवाट क्षमताको पावरफुल मोटर दिइएको छ । यसको पीकटर्क भने ३२० न्यूटन मिटर छ । इमास–७ ले शून्यबाट १०० को स्पीड भेट्टाउन ६.९ सेकेन्ड मात्रै लगाउने कम्पनीले दाबीको छ । एसयूभीको टप स्पीड १७५ किलोमिटर प्रतिघन्टा छ । यस्तै, इमास-७ को भेरियन्ट अनुसार ४९.५२ र ६०.२२ किलोवाट आवर क्षमताको ‘एजिस सर्ट ब्लेड ब्याट्री’ दिइएको छ । यी दुई ब्याट्रीको रेन्ज क्रमशः ३४५ र ४१० किलोमिटर रहने डब्लूएलटीपीले प्रमाणित गरेको छ । कम्पनीका अनुसार उक्त ब्याट्रीलाई ९२१ पटक पुरै चार्ज र डिस्चार्ज गर्दा ९०.५ प्रतिशत ब्याट्री हेल्थसहित ४ लाख किलोमिटर सजिलै गुडाउन सकिने कम्पनीले बताएको छ । मलेसियन बजारमा २३ हजारदेखि २७ हजार अमेरिकी डलर मूल्य पर्छ ।