पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट
काठमाडौं । भायानेट कम्युनिकेसन्स नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदार बनेको छ । नेपालमा आयोजना हुने ठूला अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगितामध्ये एक पीएमजीओका लागि आवश्यक इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउनेछ । ई–स्पोर्ट्स प्रतियोगितामा खेलाडीको सीप र निर्णय क्षमतासँगै इन्टरनेटको स्थिरता, निरन्तरता र न्यून विलम्बता पनि महत्वपूर्ण हुन्छ । खेलका क्रममा केही क्षणको कनेक्टिभिटी अवरोधले समेत खेलको नतिजामा प्रभाव पार्न सक्ने भएकाले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भरपर्दो इन्टरनेट आवश्यक मानिन्छ । भायानेटका अनुसार पीएमजीओजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि इन्टरनेट साझेदारका रूपमा छनोट हुनु कम्पनीको नेटवर्क क्षमता र विश्वसनीयताको प्रमाण हो । भायानेटले यसअघि पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) मा पनि आधिकारिक इन्टरनेट साझेदारका रूपमा सेवा प्रदान गरेको थियो । उक्त प्रतियोगितामा कम्पनीले स्थिर र न्यून विलम्बतायुक्त इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराएको जनाएको छ । भायानेटले पीएमजीओसँगको साझेदारीमार्फत अन्तर्राष्ट्रियस्तरका ई–स्पोर्ट्स प्रतियोगिता सञ्चालनका लागि आवश्यक नेटवर्क पूर्वाधार उपलब्ध गराउनुका साथै गेमिङ तथा ई–स्पोर्ट्स क्षेत्रमा आफ्नो संलग्नतालाई थप विस्तार गर्ने जनाएको छ । नेपालमा ठूला अन्तर्राष्ट्रिय गेमिङ प्रतियोगिता आयोजना हुने क्रम बढ्दै जाँदा यस्ता आयोजनाका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माणमा आफ्नो योगदानलाई निरन्तरता दिने कम्पनीको भनाइ छ ।
ग्रीन डेभलपमेन्ट बैंकको डीसीईओमा विकास ढुंगाना नियुक्त
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विकास ढुंगाना नियुक्त भएका छन् । बैंकको भदौ २९ गते बसेको २५६औँ सञ्चालक समितिको बैठकले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदमा पोखरा महानगरपालिका–५, कास्की निवासी ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार ढुंगानालाई नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । ग्रीन डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त पाँच जिल्लामा कार्यक्षेत्र भएको विकास बैंक हो । बैंकको केन्द्रीय कार्यालय पोखराको नयाँबजारमा रहेको छ ।
गरुड क्यासिनोबाट क्वाइनसहित ११ नेपाली पक्राउ
काठमाडौं । गरुड क्यासिनोमा छिरेका ११ जना नेपाली पक्राउ परेका छन् । क्यासिनोभित्र नेपालीलाई प्रवेश गराई जुवा खेलाउने तथा खेलेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका–६ घर भई काठमाडौं कागेश्वरी मनहरा–४ थली बस्ने ३४ वर्षीय बिकी लामा, सोलुखुम्बु माकालुङ गाउँपालिका–३ घर भई काठमाडौं–६ बौद्ध बस्ने ३९ वर्षीय नुवाङ शेर्पा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–६ घर भई गोकर्णेश्वर–९ बस्ने ३९ वर्षीय पाशाङ शेर्पा र सिन्धुली गोलन्जर गाउँपालिका–५ घर भई कागेश्वरी मनहरा–७ बस्ने ३२ वर्षीया ज्योती मगर रहेका छन्। त्यस्तै, दोलखा वैतेश्वर गाउँपालिका–८ घर भई काठमाडौं बानेश्वर बस्ने ३५ वर्षीय नारायण खत्री, काठमाडौं गोकर्णेश्वर–२ का ४४ वर्षीय दिल लामा, काभ्रे रोशी गाउँपालिका–१ घर भई काठमाडौं ठमेल बस्ने ४४ वर्षीय अशोक लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–३ घर भई गोकर्णेश्वर–५ बस्ने ३२ वर्षीय संजय तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई ललितपुर महालक्ष्मी–३ बस्ने ४० वर्षीय आषिश खड्का, ललितपुर महानगरपालिका–६ का ४९ वर्षीय सविनमान श्रेष्ठ र धनकुटा जोरपाटी गाउँपालिका–४ घर भई काठमाडौं पेप्सीकोला बस्ने ३० वर्षीय सुदिप अधिकारी पक्राउ परेका छन्। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१ तौलुङस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानीलकण्ठको संयुक्त टोलीले मंगलबार राति छापा मारेको हो। काठमाडौं जिल्ला प्रहरीका अनुसार सोमबार राति करिब २ बजे क्यासिनोमा चेकजाँच गर्दा नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरी हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरूको साथबाट ९ थान मोबाइल, ५० हजार रुपैयाँ अंकित क्वाइन ८ थान, १० हजार रुपैयाँ अंकित क्वाइन १९ थान, १ हजार रुपैयाँ अंकित क्वाइन ८८ थान र १ सय रुपैयाँ अंकित क्वाइन ५ थान बरामद गरेको छ। त्यसैगरी, प्रहरीले नेपाली नगद १० लाख ८५ हजार ६ सय रुपैयाँ समेत बरामद गरेको जनाएको छ। उनीहरूलाई जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रवक्ता दानबहादुर थापाले बताए ।
इरान युद्धमा अमेरिकाको ३३ अर्ब डलर खर्च, सयौं भवन ध्वस्त
काठमाडौं । इरानी हमलाका कारण मध्यपूर्वस्थित अमेरिकी सैन्य अखडामा रहेका ‘सयौं भवन तथा संरचना’ क्षतिग्रस्त वा ध्वस्त भएको तथा ‘दर्जनौं’ अमेरिकी विमानमा क्षति पुगेको अमेरिकी सरकारको प्रतिवेदनले जनाएको छ । यो विवरण जुनको अन्त्यसम्मको मात्र हो । अमेरिकी रक्षा मन्त्रालयका अनुसार जुन २९ सम्म इरानसँगको युद्धमा अनुमानित ३३.४ अर्ब डलर खर्च भएको छ। रक्षा मन्त्रालयले सोमबार अमेरिकी संसद् (कंग्रेस) मा सार्वजनिक गरेको ‘लीड इन्स्पेक्टर जनरल रिपोर्ट’ले जुनको अन्त्यसम्मको युद्धको अवस्थालाई समेटेको छ । प्रतिवेदनअनुसार इरानी हमलाबाट इराक, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) गरी चार देशमा रहेका अमेरिकी कूटनीतिक नियोगका संरचनामा मात्रै १८४ मिलियन डलर बराबरको भौतिक क्षति पुगेको छ । युद्धका क्रममा अमेरिकी गोला-बारुद तथा हतियारको ठूलो मात्रामा प्रयोग हुँदा रणनीतिक भण्डारमा कमी आएको र हतियार पुनःआपूर्तिका लागि अमेरिकी रक्षा उद्योगको उत्पादन क्षमतामा रहेका अवरोध तथा सीमितता उजागर भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन सार्वजनिक हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा अमेरिकाले आफ्नो इतिहासकै सबैभन्दा धेरै ‘उत्कृष्ट र विशिष्ट हतियार’ उत्पादन गरिरहेको दाबी गरेका थिए । प्रतिवेदनले पाँचौं पुस्ताको एफ–३५ ए लडाकु विमान शत्रुको आक्रमणबाट क्षतिग्रस्त भएको पनि देखाएको छ । एफ–३५ एले युद्धमा क्षति बेहोरेको यो पहिलो घटना भएको जनाइएको छ । जुनको अन्त्यसम्म चारवटा एफ–१५ ई लडाकु विमान र एउटा ए–१० स्थल आक्रमण विमान ध्वस्त भएका थिए । अमेरिकी वायुसेनाका अनुसार एउटा एफ–३५ ए विमानको लागत ९२ मिलियन डलर पर्छ । त्यस्तै, एफ–१५ ईको सन् १९९८ को लागत ३१.१ मिलियन डलर थियो । त्यसैगरी, सातवटा केसी–१३५ इन्धन भर्ने विमान क्षतिग्रस्त वा ध्वस्त भएका छन् । युद्धका क्रममा सातवटा हेलिकप्टर र ३० भन्दा बढी ड्रोन पनि गुमाइएको प्रतिवेदनमा उल्लेख छ ।
सर्वोत्तम पेन्ट्सले १० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २८ गते बसेको ८५औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हालको चुक्ता पुँजी ३४ करोड रुपैयाँ रहेको छ । सोही पुँजीको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश सम्बन्धित निकायबाट स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।
सिटिजन्स सुपर ३० म्युचुअल फण्डले ५.२५ प्रतिशत लाभांश दिने
काठमाडौं । सिटिजन्स सुपर ३० म्युचुअल फण्डले इकाइधनीलाई ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फण्डको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको भदौ २६ गते बसेको १५२औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सो अवधिसम्मको सञ्चित कोषबाट करसहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रयोजनका लागि असोज ८ गते एक दिन सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाइधनी दर्ता किताब बन्द रहनेछ । यसअनुसार असोज ७ गतेसम्म कायम रहेका इकाइधनीले प्रस्तावित नगद लाभांश प्राप्त गर्नेछन् ।
रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश दिने
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २९ गते बसेको ४२२औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । सोही पुँजीको ३० प्रतिशतका दरले ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । प्रस्तावित लाभांशमा लाभांश करसमेत समावेश रहेको छ । सञ्चालक समितिको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन् ।
नेशनल हाइड्रोको स्वतन्त्र सञ्चालकमा शर्मा, कम्पनी सचिवमा दनुवार नियुक्त
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालक नियुक्त गर्नुका साथै कम्पनी सचिवको जिम्मेवारी पनि तोकेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारी अनुसार भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी ऐन, २०६३ बमोजिम डा. पवनकुमार शर्मालाई स्वतन्त्र सञ्चालकमा सर्वसम्मत रूपमा नियुक्त गरेको हो । त्यसैगरी लामो समयदेखि रिक्त रहेको कम्पनी सचिव पदमा कम्पनीका लेखा तथा प्रशासन प्रमुख सुवास दनुवारलाई एक वर्षका लागि जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी दुवै नियुक्ति भदौ २९ गते बसेको सञ्चालक समितिको सर्वसम्मत निर्णयअनुसार गरिएको हो ।