बटु लामिछाने उद्योग वाणिज्य महासंघको ऊर्जा समिति सभापतिमा मनोनीत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ । महासंघको २०८३ जेठ ८ गते बसेको दोस्रो कार्यकारिणी समिति बैठकले विधानको दफा ३७ बमोजिम लामिछानेलाई समितिको सभापतिमा मनोनयन गरेको हो । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघको छवि तथा प्रतिष्ठालाई अझ बढी सशक्त रूपमा अघि बढाउन नवीकरणीय एवं ऊर्जा समितिले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरेका छन् । ऊर्जा क्षेत्र नेपालको आर्थिक विकास र औद्योगिकीकरणको महत्वपूर्ण आधार बन्दै गइरहेका बेला लामिछानेले समितिको नेतृत्व सम्हाल्नु अर्थपूर्ण रूपमा हेरिएको छ । समितिको सभापतिको जिम्मेवारीमा रहेर ऊर्जा तथा नवीकरणीय ऊर्जासम्बन्धी गतिविधि, नीति तथा कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन भूमिका निर्वाह गर्ने अपेक्षा महासंघले गरेको छ । महासंघले समितिबाट भएका गतिविधि तथा कार्यभारको त्रैमासिक रूपमा पुनरावलोकन गरी मूल्यांकन गर्ने व्यवस्था रहेको समेत पत्रमार्फत जानकारी गराएको छ । लामिछाने आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न उद्योग सञ्चालन गरिरहेको बिजी ग्रुप नेपालका कार्यकारी अध्यक्ष हुन् । ऊर्जा तथा औद्योगिक क्षेत्रमा लामो समयदेखि सक्रिय लामिछानेको अनुभवले महासंघअन्तर्गतको नवीकरणीय एवं ऊर्जा समितिको नेतृत्वमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज श्रद्धा र भक्तिपूर्वक ऋषिपञ्चमी पर्व मनाउँदैछन् । ऋषिपञ्चमीका अवसरमा देशभरका विभिन्न धार्मिक तथा तीर्थस्थलमा पूजा–आराधना गर्ने भक्तजनको भीड लागेको छ । काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि सप्तऋषिसहित अरुन्धतीको पूजा–आराधना गर्ने भक्तजनको उल्लेख्य भीड रहेको छ । विशेषगरी महिलाहरूले ऋषिपञ्चमीका दिन स्नान गरी सप्तऋषि र अरुन्धतीको विधिपूर्वक पूजा गर्ने तथा व्रत बस्ने धार्मिक परम्परा रहँदै आएको छ । यस दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सप्तऋषिको पूजा गरिन्छ । ऋषिपञ्चमीलाई तीज पर्वको अन्तिम दिनका रूपमा समेत लिइन्छ । धार्मिक आस्थाका साथ मनाइने यस पर्वले नेपाली समाजमा परम्परा, संस्कार र सांस्कृतिक निरन्तरताको महत्व बोकेको छ ।
७४ जना ऋणीले तिरेनन् सिद्धार्थ बैंकको क्रेडिट कार्ड कर्जा
काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमार्फत कर्जा लिएर साँवा तथा ब्याज नतिर्ने ७४ जना ऋणीको नाम सार्वजनिक गरेको छ । बैंकले पटक-पटक लिखित तथा मौखिक रूपमा बक्यौता रकम भुक्तानी गर्न ताकेता गर्दा समेत रकम चुक्ता नगरेपछि ऋणीहरूको नाम सार्वजनिक गर्नुपरेको जनाएको छ । बैंकले सम्बन्धित ऋणीलाई ३५ दिनभित्र सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य देय रकम चुक्ता गर्न अन्तिम अवसर दिएको छ । तोकिएको अवधिभित्र बक्यौता रकम भुक्तानी नगरेमा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने बैंकले चेतावनी दिएको छ । त्यस्तै, बक्यौता कायम रहेका ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया समेत अघि बढाइने बैंकले जनाएको छ । बैंकले सम्बन्धित ऋणीलाई तोकिएको समयभित्र बक्यौता रकम चुक्ता गरी थप कानुनी प्रक्रिया र अन्य कारबाहीबाट जोगिन आग्रह गरेको छ ।
जेनजी शहीद परिवार र घाइतेलाई १५ लाखसम्म सहुलियतपूर्ण कर्जा
काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित कार्यविधिमा जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेले स्वरोजगार हुन सञ्चालन गर्ने विभिन्न उद्योग तथा व्यवसायका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ । यस्तो कर्जा कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग तथा नयाँ उद्यम सञ्चालनका लागि लिन सकिनेछ । त्यस्तै, नेपाल सरकारले समय-समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारमूलक व्यवसायका लागि समेत कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ । कार्यविधिअनुसार कर्जा सुविधा लिन जेनजी आन्दोलनको शहीद परिवार वा घाइते भएको कुरा नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ । कार्यविधिमा ‘जेनजी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको पति, पत्नी, छोरा, छोरी, बाबु वा आमालाई जनाउने स्पष्ट पारिएको छ ।
४०० ट्रक तथा कन्टेनर हराए, २ वटा समिति गठन
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको टोलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरी भोटेकोसी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति तथा हराएका ट्रक, कन्टेनर, चालक र मजदुरको अवस्थाबारे जानकारी गराएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ, महासचिव बद्रीप्रसाद चौलागाईं, नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटालगायतको टोलीले सोमबार पूर्वाधार विकास मन्त्रालयमा मन्त्री लम्सालसँग भेट गरेको हो । भेटका क्रममा ढुवानी व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष विश्वनाथ खनाल, वरिष्ठ उपाध्यक्ष तथा नेपाल सडक बोर्डका नवनियुक्त सदस्य अरुण श्रेष्ठलगायतको पनि उपस्थिति थियो । भदौ १० गते रसुवाको टिमुरेमा आएको भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी गराउँदै महासंघले बाढीपछि विभिन्न निकायसँग समन्वय गरी हराएका सवारीसाधन तथा चालक र मजदुरको विवरण संकलन गरिएको जनाएको छ । भेटमा महासंघले बाढीबाट यातायात व्यवसायी तथा मजदुरमा परेको मानवीय र भौतिक क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको थियो । हराएका सवारीसाधनको खोजी, क्षतिको विवरण संकलन तथा प्रभावित व्यवसायीलाई राहत उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो । यातायात क्षेत्रमा बाढीबाट भएको क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधार तथा अन्य विषयमा रायसहितको प्रतिवेदन तयार गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ । त्यस्तै, यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन तथा कानुनमा आवश्यक परिमार्जन गरी समस्या समाधानका लागि सिफारिस गर्न पूर्वाधार विकास मन्त्रालयका सहसचिवको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ । उक्त समितिले ४५ दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्नेछ । भेटका क्रममा महासंघले भोटेकोसी बाढीपीडितका लागि महासंघ तथा सदस्य संस्थाहरूबाट संकलित १० लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा हस्तान्तरण गर्ने जानकारीसमेत गराएको छ । महासंघले उक्त रकम हस्तान्तरणका लागि समय उपलब्ध गराइदिन मन्त्रीसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष बानियाँले बाढीबाट ट्रक तथा कन्टेनर व्यवसायीले ठूलो क्षति व्यहोरेको भन्दै हराएका सवारीसाधन तथा चालक र मजदुरको अवस्थाबारे यथार्थ विवरण सार्वजनिक गर्न र प्रभावित व्यवसायीलाई राज्यका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने बताए । महासंघका महासचिव चौलागाईंले बाढीपछि महासंघले विभिन्न निकायसँग समन्वय गरी हराएका ट्रक, कन्टेनर तथा चालक र मजदुरको विवरण संकलन गरिरहेको बताए । उनले यातायात क्षेत्रको क्षतिको उचित मूल्याङ्कन गरी राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए । नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष सापकोटाले पनि बाढीबाट कन्टेनर तथा ढुवानी व्यवसायमा परेको क्षतिबारे मन्त्री लम्साललाई जानकारी गराउँदै प्रभावित व्यवसायीको समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरे । मन्त्री लम्सालले महासंघ र सदस्य संस्थाहरूले बाढीपीडितका लागि गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यातायात क्षेत्रमा भएको क्षतिको यथार्थ विवरणका आधारमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई ब्रोकरको स्वागत, ‘महत्वपूर्ण नीतिगत पहल’
काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन् । ढकालले कार्ययोजनालाई नेपालको पुँजी बजारमा संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण तथा दीर्घकालीन विकासका लागि महत्वपूर्ण नीतिगत पहलका रूपमा लिएको बताएका छन् । कार्ययोजनामा प्राथमिक सेयर निष्कासन (आईपीओ)मा मूल्य निर्धारण (प्राइस डिस्कोभरी) प्रणाली लागू गर्ने, धितो कर्जा (मार्जिन लेण्डिङ) मा आधारित कारोबार तथा छोटो बिक्री (सर्ट सेलिङ) कारोबार कार्यान्वयन गर्ने, संस्थागत ऋणपत्र बजार (कर्पाेरेट बण्ड मार्केट) को विकास गर्ने र गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा लगानीको अवसर प्रदान गर्ने व्यवस्था समेटिएको उनले उल्लेख गरेका छन् । त्यस्तै, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार तथा नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र धितोपत्र दलाल व्यवसायको आधुनिकीकरण गर्ने व्यवस्था पनि कार्ययोजनामा समेटिएको भन्दै ढकालले यसले नेपालको पुँजी बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखिएको धितोपत्रबाट प्राप्त पुँजीगत लाभमा ३.७५ प्रतिशत तथा ३६५ दिन वा सोभन्दा कम अवधिको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने प्रस्ताव पनि सकारात्मक रहेको उनले बताएका छन् । उनका अनुसार यस्तो व्यवस्थाले दीर्घकालीन लगानी संस्कृतिलाई प्रोत्साहन गर्नुका साथै बजारमा स्थायित्व कायम गर्न, लगानीकर्ताको विश्वास बढाउन र पुँजी बजारको दिगो विकासमा योगदान पुर्याउनेछ । सरकारले घोषणा गरेका सुधारहरू समयमै प्रभावकारी रूपमा कार्यान्वयन भए पुँजी बजारप्रति लगानीकर्ताको विश्वास थप मजबुत हुने, बजारमा तरलता वृद्धि हुने तथा आर्थिक विकासमा पुँजी बजारको भूमिका अझ प्रभावकारी बन्ने ढकालको भनाइ छ । ढकालले पुँजी बजार सुधारप्रति सरकारले देखाएको प्रतिबद्धताका लागि अर्थमन्त्री, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेका छन् । साथै, कार्ययोजनाको सफल कार्यान्वयनका लागि स्टक ब्रोकर एशोसिएसन अफ नेपाल सरकार तथा नियामक निकायसँग आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको उनले बताएका छन् ।
प्रतिनिधिसभाको बैठक १ बजे बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज मंगलबार अपरान्ह १ बजे बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसैबीच, प्रतिनिधिसभा बैठकसँगै आज विभिन्न संसदीय विषयगत समितिका बैठक पनि बस्दै छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठक बस्ने तय भएको छ ।
सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत
काठमाडौं । सरकारले धितोपत्र बजारमा हुने दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न विद्यमान कर व्यवस्थामा सुधार गर्ने प्रस्ताव अघि सारेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ मा धितोपत्र कारोबारबाट प्राप्त लाभमा लाग्ने पुँजीगत लाभकरको दर तथा लाभ-नोक्सानी समायोजन प्रणालीमा सुधार गर्ने प्रस्ताव गरिएको हो । प्रस्तावित व्यवस्थाअनुसार सूचीकृत निकायको हितको निःसर्गबाट प्राप्त लाभमा बासिन्दा प्राकृतिक व्यक्तिले ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखेको हितबाट प्राप्त लाभमा ३.७५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरिनेछ । त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा राखिएको हितबाट प्राप्त लाभमा ५ प्रतिशत कर लाग्ने व्यवस्था प्रस्ताव गरिएको छ । हालको व्यवस्थामा रहेको कर प्रणालीलाई दीर्घकालीन लगानीलाई थप प्रोत्साहन गर्ने गरी परिमार्जन गर्न यस्तो प्रस्ताव गरिएको हो । लामो समयसम्म सेयर स्वामित्वमा राख्ने लगानीकर्तालाई छोटो अवधिका लगानीकर्ताभन्दा कम दरमा कर लाग्ने व्यवस्था प्रस्तावले गरेको छ । त्यसैगरी, सूचीकृत धितोपत्रको बिक्रीबाट भएको नोक्सानीलाई सोही आय वर्षमा भएको सूचीकृत धितोपत्रको बिक्रीबाट प्राप्त लाभसँग समायोजन गर्न पाउने व्यवस्था ल्याउने प्रस्ताव गरिएको छ । प्रस्तावअनुसार कर तिरेका बासिन्दा प्राकृतिक व्यक्ति वा बासिन्दा निकायले कुनै आय वर्षमा सूचीकृत धितोपत्रको बिक्रीबाट नोक्सानी बेहोरेमा सोही आय वर्षमा सूचीकृत धितोपत्रको बिक्रीबाट भएको लाभसँग उक्त नोक्सानी समायोजन गर्न पाउने व्यवस्था सम्बन्धमा अध्ययन गरिनेछ । सरकारले लाभ-नोक्सानी गणना गर्ने विधिमा समेत सुधार गरी कारोबार तथा राफसाफ प्रणालीबाटै नाफा र घाटा समायोजन गर्ने व्यवस्था मिलाउने प्रस्ताव गरेको छ । यसरी नाफा र घाटा समायोजन गरेपछि खुद लाभ भएमा मात्र तोकिएको दरमा पुँजीगत लाभकर लगाउने र त्यस्तो करलाई अन्तिम करका रूपमा लिने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।