काठमाडौं । गरुड क्यासिनोमा छिरेका ११ जना नेपाली पक्राउ परेका छन् । क्यासिनोभित्र नेपालीलाई प्रवेश गराई जुवा खेलाउने तथा खेलेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका–६ घर भई काठमाडौं कागेश्वरी मनहरा–४ थली बस्ने ३४ वर्षीय बिकी लामा, सोलुखुम्बु माकालुङ गाउँपालिका–३ घर भई काठमाडौं–६ बौद्ध बस्ने ३९ वर्षीय नुवाङ शेर्पा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–६ घर भई गोकर्णेश्वर–९ बस्ने ३९ वर्षीय पाशाङ शेर्पा र सिन्धुली गोलन्जर गाउँपालिका–५ घर भई कागेश्वरी मनहरा–७ बस्ने ३२ वर्षीया ज्योती मगर रहेका छन्।
त्यस्तै, दोलखा वैतेश्वर गाउँपालिका–८ घर भई काठमाडौं बानेश्वर बस्ने ३५ वर्षीय नारायण खत्री, काठमाडौं गोकर्णेश्वर–२ का ४४ वर्षीय दिल लामा, काभ्रे रोशी गाउँपालिका–१ घर भई काठमाडौं ठमेल बस्ने ४४ वर्षीय अशोक लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–३ घर भई गोकर्णेश्वर–५ बस्ने ३२ वर्षीय संजय तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई ललितपुर महालक्ष्मी–३ बस्ने ४० वर्षीय आषिश खड्का, ललितपुर महानगरपालिका–६ का ४९ वर्षीय सविनमान श्रेष्ठ र धनकुटा जोरपाटी गाउँपालिका–४ घर भई काठमाडौं पेप्सीकोला बस्ने ३० वर्षीय सुदिप अधिकारी पक्राउ परेका छन्।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१ तौलुङस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानीलकण्ठको संयुक्त टोलीले मंगलबार राति छापा मारेको हो।
काठमाडौं जिल्ला प्रहरीका अनुसार सोमबार राति करिब २ बजे क्यासिनोमा चेकजाँच गर्दा नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरी हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरूको साथबाट ९ थान मोबाइल, ५० हजार रुपैयाँ अंकित क्वाइन ८ थान, १० हजार रुपैयाँ अंकित क्वाइन १९ थान, १ हजार रुपैयाँ अंकित क्वाइन ८८ थान र १ सय रुपैयाँ अंकित क्वाइन ५ थान बरामद गरेको छ।
त्यसैगरी, प्रहरीले नेपाली नगद १० लाख ८५ हजार ६ सय रुपैयाँ समेत बरामद गरेको जनाएको छ। उनीहरूलाई जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रवक्ता दानबहादुर थापाले बताए ।