विकासन्युज

कालिका लघुवित्तको डीसीईओमा दिवस ढकाल नियुक्त

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दिवस ढकाललाई नियुक्त गरेको छ । संस्थाको सञ्चालक समितिको भदौ २७ गते बसेको २७३औँ बैठकले रिक्त रहेको नायब प्रमुख कार्यकारी अधिकृत पद (डीसीईओ) मा ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो  । ढकाललाई आगामी असोज १ गतेदेखि लागू हुने गरी स्थायी सेवामा नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको संस्थाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई जानकारी गराएको छ । ढकाल आँधिखोला गाउँपालिका–६, स्याङ्जाका निवासी हुन् । कालिका लघुवित्त पोखरामा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो ।

जीडब्ल्यूएमका ओरा ५ र ट्यांक ३०० लाई अन्तर्राष्ट्रिय अटोमोटिभ अवार्ड

काठमाडौं । डिजाइन, नवप्रवर्तन र अटोमोटिभ इन्जिनियरिङमा पहिचान बनाउँदै आएको जीडब्ल्यूएमका दुई मोडल ओरा ५ र ट्यांक ३०० ले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवाड्र्स (टीएडीए) मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । टीएडीए २०२६ अन्तर्गत ओरा ५ ले पारिवारिक कार विधामा ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ अर्थात् उत्कृष्ट आन्तरिक डिजाइन अवार्ड प्राप्त गरेको छ ।  यस्तै, ट्यांक ३०० ले प्रिमियम कार विधामा ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ अर्थात् उत्कृष्ट प्राविधिक नवप्रवर्तन अवार्ड जितेको छ । यी दुई सम्मानले जीडब्ल्यूएमका फरक–फरक मोडलमा रहेको डिजाइन र प्रविधिगत क्षमतालाई उजागर गरेको कम्पनीले जनाएको छ ।  ओरा ५ ले आधुनिक र परिष्कृत विद्युतीय सवारीको डिजाइन प्रस्तुत गर्छ भने ट्यांक ३०० ले उन्नत प्रविधि, कठिन भूभागमा चल्न सक्ने क्षमता र बलियो इन्जिनियरिङको संयोजनलाई प्रतिनिधित्व गर्छ । पारिवारिक कार विधामा उत्कृष्ट आन्तरिक डिजाइन अवार्ड प्राप्त गरेको ओरा ५ को भित्री भाग आराम, प्रविधि र दैनिक प्रयोगलाई केन्द्रमा राखेर डिजाइन गरिएको छ । आधुनिक डिजाइनसँग प्रविधिमैत्री ककपिट, सहज कनेक्टिभिटी र यात्राको आरामलाई प्राथमिकता दिइएको यसको केबिनले नयाँ पुस्ताका विद्युतीय सवारीका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ । अन्तर्राष्ट्रिय सम्मानले ओरा ५ को डिजाइन अवधारणालाई थप स्थापित गरेको कम्पनीको भनाइ छ ।  यसमा आकर्षक स्वरूपसँगै व्यवहारिकता र प्रविधिलाई पनि समान महत्व दिइएको छ । प्रिमियम कार विधामा उत्कृष्ट प्राविधिक नवप्रवर्तन अवार्ड प्राप्त गरेको ट्यांक ३०० ले जीडब्ल्यूएमको प्रिमियम एसयूभी तथा कठिन भूभागमा चल्ने सवारीका लागि विकास गरिएको प्रविधिगत क्षमतालाई प्रस्तुत गर्छ । जीडब्ल्यूएमको ट्यांक ब्रान्डअन्तर्गत विकसित ट्यांक ३०० मा प्रिमियम एसयूभीका विशेषता, उन्नत अफ–रोड प्रविधि र बलियो इन्जिनियरिङलाई एकसाथ समेटिएको छ ।  टीएडीए २०२६ को सम्मानले यसको प्रविधिगत नवप्रवर्तन र इन्जिनियरिङ क्षमतालाई थप अन्तर्राष्ट्रिय पहिचान दिएको कम्पनीले जनाएको छ । ओरा ५ र ट्यांक ३०० ले प्राप्त गरेका यी दुई फरक सम्मानले जीडब्ल्यूएमको विश्वव्यापी उत्पादन विविधतालाई समेत देखाउँछन् ।  एकातर्फ ओरा ५ ले आधुनिक विद्युतीय सवारीको डिजाइन र स्मार्ट मोबिलिटीलाई प्रतिनिधित्व गर्छ भने अर्कोतर्फ ट्यांक ३०० ले प्रिमियम एसयूभीको प्रविधि र कठिन भूभागमा चल्ने क्षमतालाई प्रस्तुत गर्छ । नेपालमा समेत जीडब्ल्यूएमको उत्पादन विस्तार भइरहेको अवस्थामा यी अन्तर्राष्ट्रिय सम्मानले ब्रान्डको विश्वव्यापी डिजाइन र प्रविधिगत क्षमताबारे नेपाली बजारमा थप परिचय गराउने अपेक्षा गरिएको छ । नेपाली बजारमा विद्युतीय तथा प्रिमियम एसयूभी खण्डमा नयाँ मोडल विस्तार गर्दै आएको जीडब्ल्यूएमले विश्वस्तरीय अटोमोटिभ प्रविधि र डिजाइन नेपाली ग्राहकसम्म पुर्याउने दिशामा आफ्नो उपस्थिति बढाउँदै गएको जनाएको छ । नेपालमा जीडब्ल्यूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले नेपाली ग्राहकका बदलिँदा आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै विभिन्न खण्डमा जीडब्ल्यूएमका मोडल विस्तार गरिरहेको छ । सहरी यात्राका लागि विद्युतीय सवारीदेखि कठिन भूभागका लागि सक्षम एसयूभीसम्म जीडब्ल्यूएमले डिजाइन, प्रविधि र ड्राइभिङ अनुभवका विभिन्न पक्षलाई समेट्दै आफ्नो विश्वव्यापी अटोमोटिभ उत्पादन दायरा विस्तार गरिरहेको छ ।

६ हिमालबाट करिब २२ करोड रोयल्टी संकलन, मनास्लुमा आरोहीको आकर्षण

काठमाडौं । यस वर्षको शरद ऋतुमा विभिन्न ६ वटा हिमाल आरोहणका लागि ६३ देशका ४६ वटा टोलीका ५१३ जना आरोहीहरूले अनुमति पाएका छन् । पर्यटन विभागको तथ्यांकअनुसार हिमाल आरोहण अनुमतिबापत सरकारले कुल २१ करोड ७९ लाख ५२ हजार ८३ रुपैयाँ (१४ लाख ३४ हजार १९३ अमेरिकी डलर) रोयल्टी सङ्कलन गरेको छ ।  यस याममा आरोहीहरूको पहिलो रोजाइ मनास्लु हिमाल बनेको छ । कुल ५१३ आरोहीमध्ये ४६६ जना मनास्लु आरोहणका लागि ३९ वटा टोलीमा प्रस्थान गर्दैछन् । जसमा ३४२ जना पुरुष र १२४ जना महिला रहेका छन् । मनास्लुबाट मात्रै २१ करोड २४ लाख ४८ हजार ७५० रुपैयाँ रोयल्टी संकलन भएको छ । मनास्लुपछि धौलागिरी आरोहणका लागि १९ जनाले अनुमति लिएका छन् । उक्त हिमालबाट सरकारले ४३ लाख ३० हजार ९५० रुपैयाँ रोयल्टी संकलन गरेको छ । मकालु हिमाल आरोहणका लागि ३ जनाले अनुमति लिएका छन् । जसबाट सरकारले ६ लाख ८८ हजार ५० रुपैयाँ रोयल्टी संकलन गरेको छ । दंगा हिमाल आरोहणका लागि १६ जनाले अनुमति लिएका छन् । उक्त हिमालबाट सरकारलाई १ लाख ७६ हजार ५२८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । त्यस्तै, थ्रोङ पिक हिमालबाट ७ जना आरोहीले अनुमति लिएका छन् । उक्त हिमालबाट १ लाख ८६ हजार ४४५ रुपैयाँ रोयल्टी संकलन भएको छ ।  गंगापूर्ण वेस्ट हिमालबाट १ लाख २१ हजार ३६०  रुपैयाँ रोयल्टी संकलन भएको छ । उक्त हिमाल आरोहणका लागि २ जनाले अनुमति लिएका छन् । कुन देशबाट कति आरोही ?  हिमाल आरोहणका लागि सबैभन्दा धेरै चिनियाँ आरोहीहरू रहेका छन् । चीनबाट मात्रै ११५ जना आरोहीले अनुमति लिएका छन् । जसमा ८२ जना पुरुष र ३३ जना महिला रहेका छन् ।  चीनपछि रुसबाट हिमाल आरोहणका लागि ५३ जनाले अनुमति लिएका छन् । जसमा ३४ जना पुरुष र १९ जना महिला रहेका छन् । त्यस्तै, संयुक्त राज्य अमेरिकाबाट ३७ जना आरोहीले अनुमति लिएका छन् । तीमध्ये २८ जना पुरुष र ६ जना महिला छन् ।  फ्रान्सबाट २७ जना आरोहीले हिमाल आरोहणको लागि अनुमति लिएकोमा २३ जना पुरुष र ४ जना महिला रहेका छन् । त्यस्तै, जर्मनी र जापनबाट १६/१६ जनाले हिमाल आरोहणको लागि अनुमति लिएका छन् । अस्ट्रेलिया, क्यानडा, पोल्याण्ड र नेपालबाट १५/१५ जनाले हिमाल आरोहणको लागि अनुमति लिएका छन् । त्यस्तै, भारतबाट १४ जना, स्पेन र स्विट्जरल्याण्डबाट १०/१० र युक्रेनबाट ९ जनाले आरोहण अनुमति लिएका छन् । 

मौद्रिक नीति समिति गठनबारे थप छलफल गर्न रास्वपा सांसद अधिकारीको आग्रह

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल राष्ट्र बैंकमा छुट्टै मौद्रिक नीति समिति गठन गर्ने विषयमा थप छलफल गर्न आग्रह गरेकी छन् । बुधवार बसेको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसद अधिकारीले मौद्रिक नीति निर्माणलाई थप प्रभावकारी र पारदर्शी बनाउन छुट्टै समिति आवश्यक रहेको बताएकी हुन् । उनले समितिले विधेयकमाथि एक महिनाभन्दा बढी समय निरन्तर दफावार छलफल गरेको उल्लेख गर्दै सदस्यहरूले आफ्ना धारणा, अध्ययन, अनुसन्धान र अनुभवका आधारमा सुझाव दिएको बताइन् ।  राष्ट्र बैंकलाई समयसापेक्ष, प्रभावकारी र थप स्वायत्त बनाउनुपर्ने विषयमा समितिका सदस्यहरूबीच साझा चासो रहेको उनको भनाइ छ ।  अधिकारीले राष्ट्र बैंकको सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक रहने व्यवस्था समेटिएकोमा खुसी व्यक्त गरिन् ।  तर आफूले विशेष रूपमा उठाउँदै आएको मौद्रिक नीति समिति गठन गर्ने प्रस्ताव विधेयकमा समावेश नभएको भन्दै उनले त्यस विषयमा पुनः छलफल गर्न आग्रह गरिन् । उनका अनुसार राष्ट्र बैंकको सञ्चालक समितिले समग्र संस्थागत शासन हेर्ने, छुट्टै मौद्रिक नीति समितिले मौद्रिक नीति निर्माण गर्ने र व्यवस्थापन टोलीले समग्र व्यवस्थापन हेर्नेगरी जिम्मेवारी विभाजन गर्न सकिने अवधारणाअनुसार उक्त प्रस्ताव अघि सारिएको हो ।  सांसद अधिकारीले भनिन्, ‘राष्ट्र बैंकलाई अझै प्रभावकारी रूपमा मौद्रिक नीति बनाउन एउटा छुट्टै समिति बनोस् भन्ने सोचका साथ यो विषय राखिएको थियो । मौद्रिक नीति समिति भन्ने विषयमा अझै हामी छलफल गरेर यसमा टुङ्ग्याउनुपर्छ भन्ने मलाई लाग्छ ।’ अधिकारीले विभिन्न देशमा मौद्रिक नीति समिति अभ्यासमा रहेको उल्लेख गर्दै यस्तो संरचनाले मौद्रिक नीति निर्माणमा पारदर्शिता र विशेषज्ञता बढाउन सक्ने बताइन् ।  मौद्रिक नीति समितिका बैठकका माइन्युट सार्वजनिक गर्ने व्यवस्था गर्न सकिए पारदर्शिता अझ बढ्ने उनको भनाइ छ ।  यस्तो अभ्यास केही देशमा रहेको र भारतमा समेत बैठकसम्बन्धी विवरण सार्वजनिक गर्ने गरिएको उनले उल्लेख गरिन् ।  प्रस्तावित संरचनामा गभर्नर संयोजक, दुई जना डेपुटी गभर्नर तथा तीन जना विज्ञ रहने गरी समिति गठन गर्न सकिने अधिकारीले बताइन् ।

१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, यातायात व्यवसायीलाई नियमित सेवा सञ्चालन गर्न आग्रह

काठमाडौं । बाढी र पहिरोका कारण विगत १८ दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको देशकै प्रमुख राजमार्ग सडक विभागको लगातारको प्रयासपछि सञ्चालनमा आएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले एक सूचना जारी गर्दै असोज १ गते बिहान ६ः०० बजेदेखि दुवैतर्फ सबै प्रकारका सवारी साधनहरू नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो ।  गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बिनाशकारी बाढीले त्रिशुली नदी किनारका सडक कटान गरेको थियो । त्यसलगत्तै भदौ १४ गते कृष्णभिर, परेवा भिर लगायतका धेरै स्थानमा बाढी र पहिरोले बाटो बन्द हुँदा पूर्व मेचीदेखि पश्चिम महाकाली तथा छिमेकी राष्ट्र भारतसम्म जाने सवारी साधनहरूको आवतजावत ठप्प भएको थियो ।  लामो समयसम्म मुख्य राजमार्ग बन्द रहँदा यातायात व्यवसायीहरूले करोडौंको घाटा व्यहोर्नुका साथै आम यात्रु वर्गले ठुलो सास्ती खेप्नुपरेको थियो ।  महासंघले कृष्णभिरको पहिरो पन्छाई सडक नियमित गराउन र वैकल्पिक बाटोको व्यवस्था मिलाउन सम्बद्ध निकायमा पटक-पटक पहल गरे पनि लामा सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको थियो ।  सडक विभागले रातदिन खटिएर १८ दिनको कठिन प्रयासपछि दुवैतर्फको बाटो खुलाउन सफलता प्राप्त गरेको छ । राजमार्ग पुनः सञ्चालनमा आएसँगै महासंघले जारी सूचनामा सडक खुलाउन अहोरात्र खटिने सडक विभाग, सामाजिक संघ-संस्था तथा स्थानीय निकायहरूलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, महासंघले सम्पूर्ण सदस्य संघ, समिति, कम्पनी तथा प्रालिहरूलाई भोलि बिहानैदेखि नियमित सेवा सञ्चालन गर्न समेत आग्रह गरेको छ । 

नबिल एसएसई फेलोसिपको सातौं समूहका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन खुला गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको दुवै कार्यक्रमका लागि आवेदन आह्वान गरेको हो । इच्छुकले आगामी असोज २६ गते अर्थात् १२ अक्टोबर २०२६ सम्म आवेदन दिन सक्नेछन् । १८ वर्ष उमेर पुगेका नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ । कार्यक्रममा छनोट हुने सहभागीले कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्नेछ । बैंकका अनुसार महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका उद्यमीलाई विशेष रूपमा आवेदन दिन प्रोत्साहन गरिएको छ । कार्यक्रममार्फत दिगो उद्यम, रोजगारी सिर्जना तथा सामुदायिक विकासमा योगदान पुर्‍याउने उद्यमीको क्षमता विकास गर्ने लक्ष्य राखिएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नबिल एसएसईमार्फत उद्यमीलाई आवश्यक ज्ञान, सीप, सञ्जाल र उद्यमशीलता प्रणालीसँग जोड्ने काम भइरहेको बताए । उनका अनुसार कार्यक्रमको उद्देश्य प्रतिबद्ध उद्यमीको पहिचान गरी उनीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै दिगो उद्यम निर्माण र समावेशी आर्थिक विकासमा योगदान पुर्‍याउनु हो । बैंकका अनुसार नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म १ हजार ५८० जनाले तालिम लिइसकेका छन् । तालिमपछि ३१८ वटा उद्यम स्थापना भएका छन् भने १९ हजार ३०३ जनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकको दाबी छ । फेलोसिप कार्यक्रमका ६ समूहबाट हालसम्म ११३ जना प्रशिक्षित भएका छन् । तीमध्ये ९३ वटा फेलोको नेतृत्वमा उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ । त्यस्तै, सर्टिफिकेट कोर्सबाट १ हजार ४६७ जना लाभान्वित भएका छन् भने २२५ वटा उद्यम स्थापना भएका छन् । सन् २०२१ मा सुरु भएको नबिल एसएसई फेलोसिपले आकांक्षी तथा विद्यमान उद्यमीलाई व्यवसाय विकासका लागि आवश्यक ज्ञान, सीप, स्रोत, सञ्जाल तथा वित्तीय पहुँचको अवसर प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने फेलोसिप कार्यक्रम ६ महिनाको उद्यम विकास कार्यक्रम हो । यसले सहभागीलाई आफ्नो उद्यम विकास, सुदृढीकरण तथा विस्तारका लागि आवश्यक क्षमता विकासमा सहयोग गर्ने बैंकले जनाएको छ । त्यस्तै, नबिल एसएसई सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो । यसमा विद्यार्थी, आकांक्षी उद्यमी, प्रारम्भिक चरणका संस्थापक तथा सञ्चालनमा रहेका सूक्ष्म र साना उद्यमी सहभागी हुन सक्नेछन् । यस वर्ष सर्टिफिकेट कोर्स देशभरका १० शैक्षिक साझेदार संस्थामार्फत सञ्चालन हुनेछ । कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेश प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इंग्लिश बोर्डिङ स्कुल, बागमती प्रदेशमा क्याम्पियन कलेज र बुढानीलकण्ठ स्कुलबाट कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी, लुम्बिनी प्रदेशमा दिव्यज्योति बहुमुखी क्याम्पस, क्षितिज इन्टरनेशनल कलेज र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज तथा सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिमाञ्चल एकेडेमीमार्फत कार्यक्रम सञ्चालन हुने बैंकले जनाएको छ । कार्यक्रम र आवेदन प्रक्रियासम्बन्धी थप जानकारी नबिल बैंक, नबिल एसएसईका आधिकारिक सञ्चारमाध्यम तथा सम्बन्धित शैक्षिक साझेदार संस्थाबाट लिन सकिनेछ ।

नेपाललाई राहत र पुनर्निर्माणमा सहयोग गर्न अमेरिका तयार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद दिएका छन् । प्रधानमन्त्री शाहले पछिल्लो विपद्बाट नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताएका छन् । उनले जलवायु परिवर्तनका कारण यस्ता विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव कम गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयास आवश्यक रहेको बताए । भेटका क्रममा नेपालको पर्यटन क्षेत्रको सम्भावना र विकासबारे पनि छलफल भएको थियो । प्रधानमन्त्री शाहले पर्यटन क्षेत्रको विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने बताउँदै नेपालमा अमेरिकी लगानीलाई स्वागत गर्ने बताएका छन् । कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन् । उनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिका तयार रहेको जानकारी दिइन् ।