काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन खुला गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको दुवै कार्यक्रमका लागि आवेदन आह्वान गरेको हो । इच्छुकले आगामी असोज २६ गते अर्थात् १२ अक्टोबर २०२६ सम्म आवेदन दिन सक्नेछन् ।
१८ वर्ष उमेर पुगेका नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ । कार्यक्रममा छनोट हुने सहभागीले कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्नेछ ।
बैंकका अनुसार महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका उद्यमीलाई विशेष रूपमा आवेदन दिन प्रोत्साहन गरिएको छ । कार्यक्रममार्फत दिगो उद्यम, रोजगारी सिर्जना तथा सामुदायिक विकासमा योगदान पुर्याउने उद्यमीको क्षमता विकास गर्ने लक्ष्य राखिएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नबिल एसएसईमार्फत उद्यमीलाई आवश्यक ज्ञान, सीप, सञ्जाल र उद्यमशीलता प्रणालीसँग जोड्ने काम भइरहेको बताए ।
उनका अनुसार कार्यक्रमको उद्देश्य प्रतिबद्ध उद्यमीको पहिचान गरी उनीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै दिगो उद्यम निर्माण र समावेशी आर्थिक विकासमा योगदान पुर्याउनु हो ।
बैंकका अनुसार नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म १ हजार ५८० जनाले तालिम लिइसकेका छन् । तालिमपछि ३१८ वटा उद्यम स्थापना भएका छन् भने १९ हजार ३०३ जनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकको दाबी छ ।
फेलोसिप कार्यक्रमका ६ समूहबाट हालसम्म ११३ जना प्रशिक्षित भएका छन् । तीमध्ये ९३ वटा फेलोको नेतृत्वमा उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ । त्यस्तै, सर्टिफिकेट कोर्सबाट १ हजार ४६७ जना लाभान्वित भएका छन् भने २२५ वटा उद्यम स्थापना भएका छन् ।
सन् २०२१ मा सुरु भएको नबिल एसएसई फेलोसिपले आकांक्षी तथा विद्यमान उद्यमीलाई व्यवसाय विकासका लागि आवश्यक ज्ञान, सीप, स्रोत, सञ्जाल तथा वित्तीय पहुँचको अवसर प्रदान गर्दै आएको छ ।
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने फेलोसिप कार्यक्रम ६ महिनाको उद्यम विकास कार्यक्रम हो । यसले सहभागीलाई आफ्नो उद्यम विकास, सुदृढीकरण तथा विस्तारका लागि आवश्यक क्षमता विकासमा सहयोग गर्ने बैंकले जनाएको छ ।
त्यस्तै, नबिल एसएसई सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो । यसमा विद्यार्थी, आकांक्षी उद्यमी, प्रारम्भिक चरणका संस्थापक तथा सञ्चालनमा रहेका सूक्ष्म र साना उद्यमी सहभागी हुन सक्नेछन् ।
यस वर्ष सर्टिफिकेट कोर्स देशभरका १० शैक्षिक साझेदार संस्थामार्फत सञ्चालन हुनेछ । कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेश प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इंग्लिश बोर्डिङ स्कुल, बागमती प्रदेशमा क्याम्पियन कलेज र बुढानीलकण्ठ स्कुलबाट कार्यक्रम सञ्चालन हुनेछ ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा दिव्यज्योति बहुमुखी क्याम्पस, क्षितिज इन्टरनेशनल कलेज र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज तथा सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिमाञ्चल एकेडेमीमार्फत कार्यक्रम सञ्चालन हुने बैंकले जनाएको छ ।
कार्यक्रम र आवेदन प्रक्रियासम्बन्धी थप जानकारी नबिल बैंक, नबिल एसएसईका आधिकारिक सञ्चारमाध्यम तथा सम्बन्धित शैक्षिक साझेदार संस्थाबाट लिन सकिनेछ ।